PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​धर्म निरपेक्षताको गोप्य रहस्य एक दिन पर्दाफास हुनेछ



​धर्म निरपेक्षताको गोप्य रहस्य एक दिन पर्दाफास हुनेछ

  • नीरव पुडासैनी-
वाहुनवादको तर्कमा अर्थ नदेख्ने थरले वाहुन तर कर्मले वाहुन हुन नसकेको म जस्ता मोर्डनहरुको कान एकाएक झस्किएको छ, हिजोआज। कुनैबेला थेम्स नदीमा पाञ्चायन देवताहरु बगाएर इसाइ भएका नेपालीहरुको अनुहार झल्झली मेरो आँखासामु आइरहेको छ।

तीमध्येका एकलाई मैले सोधेको थिएँ, किन यसो गरेको? पितापुर्खाले मानेका देउता बगाएर अरु धर्म मान्नु के उचित हुन्छ? प्रश्न भुइँमा खस्न नपाउँदै उत्तर आयो, ‘त्यसो भए के नाङ्गै हिड्नु? पहिला हाम्रा पुर्खा नाङ्गै हिँड्थे।’ हिजोआज यही मुद्दाहरुको सेरोफेरोमा रहेर म जस्ता युवाहरु चियाको चुस्कीसँगै गफिएको देख्दा लाग्छ यसले कुनै ठूलो घटनाको प्रतिक्षा गरिरहेको छ।
 
निसन्देह मेरो बुझाइ पनि यही हो। हो राज्य निरपेक्ष हुन्छ, तर सापेक्षचाहिँ के हुन्छ त? राज्य यदि धर्मनिरपेक्ष हुने हो भने राज्यले प्रदान गर्ने शिक्षा पनि धर्मनिरपेक्ष हुन्छ होला। फ्रान्सेली शैक्षिक प्रणालीमा जस्तै के यहाँ पनि धार्मिक विद्यालयहरु प्रतिबन्धित गर्ने हो त। के त्यसो भए मदरसा, गुम्बा र वेद गुरुकुलहरु बन्द गरिन्छ? के राज्यले धार्मिक गुठीहरु सञ्चालन गर्दैन, के हज पठाउन बन्द गरिन्छ? के लुम्बिनी विकास योजना बन्द गरिन्छ? त्यसो भए किन अधकल्चो धार्मिक निरपेक्षता लाद्न खोजिदै छ? 

स्पष्ट छ यो लादिएको मुद्दा हो, जहाँबाट र जसले यी मुद्दाहरु लादे तिनिहरु वा भनौं तिनका आफ्नै मुलूक यस मुद्दामा अनुउत्तरित छन्। हो चाहे त्यो फिनल्याडको कुरा होस् वा नर्वे र बेलायतको त्यहाँ धर्मसंग जोडिएका मुद्दाहरु धेरै अनुउत्तरित छन्। त्यसै कारण बङ्गलादेश, फिनल्याड, जर्मनी, नर्वे, स्वीजरल्याण्ड, बेलायत लगायतका देशहरु धर्मसँग सम्बन्धित कुराहरुमा मौन छन्। तिनीहरु धर्म निरपेक्षतमा द्धैध कुरा गर्छन्। आफ्नो मुलुकमा धर्मलाई ताज बनाउनेहरु अर्काको धर्ममा खुलेआम ताण्डव गर्न उन्मुख भइिरहेका छन्। 

सन् १९५० मा अमेरिकाले धार्मिक पुनर्जागरण ग¥यो र त्यसैको फलस्वरुप सदाको लागि एउटा वाक्यांश स्थापित गरायो । ‘इन गड हुइ ट्रस्ट’ र ‘वान नेशन अन्डर गड’। तसर्थ अमेरिकी निरपेक्षबाद वास्तविक धर्म निरपेक्षवाद भन्दा भिन्न छ। तर अमेरिकी सभ्यताभन्दा धेरै पुरानो हाम्रो सभ्यता र धर्मलाई पुनर्जागरणको आवश्यकता ठानिएन। त्यसको साटो हाम्रो धर्म र सभ्यतालाई निस्तेज पार्ने कोशिस गरियो। 
हाम्रोमा ८० प्रतिशत भन्दा बढी जनताले हामी हिन्दु हौं र हामीलाई हिन्दु राष्ट्र चाहिन्छ भनिरहँदा पनि यस मुद्दामा हाम्रा नेताहरु बहस गर्न चाहदैनन्। तर यसरी लादिएको बिचार होस् वा वस्तु एक दिन आफ्नो अस्तित्वको खोजीमा विस्फोट हुनेछ र त्यसको छिटा प्रत्येक नेताहरुको अनुहारमा लाग्नेछ। 

नेपाली नेताहरुले सिको मात्र गर्ने हो भने पूर्व अष्टे«लियन प्रधानमन्त्री जुलियाको तर्क सुनेर गर्नु राम्रो। केही समयअघि उनले आफ्नो देशको धर्म र संस्कार छ भन्ने शैलीमा निकै तार्किक हिसावले अभिब्यक्ति दिएकी थिइन्। उनले भनेकी थिइन् ‘यदि बाहिरकाहरुलाई अष्टे«लियन धर्म, रितिरिवाज भाषाको कारण अप्ठेरो परेको छ भने अरु देश खोजे हुन्छ। किनभने अष्टे«लियाका जनता आफ्नो धर्म सभ्यता र संस्कारको पूजा गर्छन् र यी कुराहरु उनीहरुको अभिन्न अङ्ग हो। हाम्रो झण्डा, भाषा र धर्मको बिरोध गर्छौ भने तिमीहरुलाई अष्ट्रेलियन स्वतन्त्रताको उपयोग गर्ने पूर्ण अधिकार छ र त्यो स्वतन्त्रता हो हाम्रो भूमि छोड्ने। 

हामी मौलिक छौ, हाम्रो सभ्यता, सस्ंकार धर्म अन्य भन्दा फरक छ। हामी आतिथ्यमा विश्वास गर्छौं,  तर अतिवाद कदापी मान्दैनौं। हामी हाम्रो संस्कार धर्मले सिकाए अनुरुप गर्छौ। हामी ती सबै वस्तुहरुप्रति कृतज्ञ हुन्छौं, जसबाट हाम्रो जीवन चलेको छ। प्रकृति, अभिभावक, गुरु, वायु, जल तथा समस्त चराचर जगतप्रति। 

हामी प्रकृतिको पूजा गर्छौं, तसर्थ हामी वायु, अग्नि,जल, वनस्पति सबैको पूजा गर्छौं। हामी कसरी अरुको अहित, कूभलो गर्न सक्छौं, यो सब मित्था हो। हो रुढिवादी र अन्धविश्वासलाई धार्मिक खोल ओढाएर हाम्रा केही जनहरुले अमानवीय कार्य गरिरहेका छन्। तर भ्रम नपरोस्, यो हाम्रो धर्मको उपज होइन। यही आधारलाई तर्कको चुलीमा राखेर धर्म निरपेक्षता ल्याउनु जायज हुँदैन। अमुक धर्मको अभिष्ट सिद्घ गर्न ८४ प्रतिशत हिन्दुहरुले आफ्नो मौलिकताको पहिचान गुमाउनपर्ने यो कस्तो न्याय? 

अन्त्यमा केही समय धर्म निरपेक्ष रहेर पछि धर्म सापेक्ष भएका मदागास्कर र बङ्गालादेश जस्तै हामी पनि पुनः आफ्नो अस्तित्वमा आउने छौं किनभने नर्वे लगायतका युरोपेलीहरुको दबाब धेरै समय टिक्नेवाला छैन। उनीहरु आफै लुथरन सम्प्रदायका धार्मिक खोलमा जकडिएका छन् भनेर बुझ्न सोझा नेपालीहरुलाई धेरै समय लाग्दैन। तसर्थ पश्चिमाहरुले लाद्न खोजेको धर्म निरपेक्षताको गोप्य रहस्यको एकदिन पर्दाफास हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell