- गोकर्ण भट्ट-
भाषाको कुरा गर्ने हो भने पहाडी ७ जिल्लाको भाषा फरक छन्। बैतडी, डडेल्धुरा र दार्चुलाको बोली भाषामा समानता रहेको देखिन्छ सामान्यत उच्चारण र स्वरवर्णको प्रयोगको भिन्नता छोड्ने हो भने। तर डोटी, अछाम अनि बाजुराको भाषा आफैमा मौलिक छ। इतिहास मान्ने हो भने कर्णालीको जुम्ला, हुम्ला, बाजुरा, अछाम, डोटी हुंदै पश्चिम कुमाउंसम्म यो भाषाको प्रसार भएको हो वा गढवाल, कुमाउं हुँदै बैतडी, डडेल्धुरा भएर पूर्वतिर प्रसार भएको हो? खस भाषालाई नेपाली भाषाको माऊ भाषा मान्ने हो भने खसान क्षेत्रबाट नै कुमाउं गढवालसम्म नेपाली भासिकाहरुको विकास भएको मान्नु पर्ला। कर्णालीका जिल्लाहरुको स्थानीय भाषामा केही समानता देखिन्छ र त्यो सेती अञ्चलका जिल्लाहरुमा पनि केही मात्रामा मिल्दो जुल्दो छ। तर महाकाली अञ्चल अन्तर्गतका जिल्लाहरुको भाषा कुमाउंको पिथौरागढसँग मिल्न जान्छ। गढवाली भाषा भने मौलिकरुपमा नै पृथक छ। भाषिक दृष्टिले हेर्दा बैतडी, डडेल्धरा आदिको भाषामा नेपाली क्रियाहरुको प्रभाव हटाएर विशुद्ध मौलिक बोलिने हो र कुमाउं प्रदेश अन्तर्गतका पिथोरागढ लगायतका जिल्लाहरुको लवजबाट हिन्दी प्रभाव हटाउने हो भने यो एउटै भाषा हो भन्ने पुष्टि हुन्छ। जस्तो कि भन्ना छौं (भन्नु नेपाली लवज) महाकाली वारी बोलिन्छ भने कि कौन्छौ (कहना, हिन्दी लवज) पारी भारतीय क्षेत्रमा बोलिन्छ। वास्तविक खसान क्षेत्रबाट पूर्व र पश्चिम भाषाको प्रसार भएको मान्ने आधारहरु भने प्रशस्तै नभएका होइनन् तर यदि यो बाइसे र चौबिसे राज्यकालमा प्रसार भएको मान्ने हो भने त्यो भन्दा अघि बुद्धकालिन या त्यसपछि आधुनिक नेपाली कालमा विभिन्न राज्यहरु (किंरात, लिच्छिवी इत्यादी) हरुको भाषा के थियो र यदि सम्पर्क भाषा एउटै थिएन भने एउटा छोटो कालखण्डमा खस प्रदेशको भाषा कसरी सिक्किमदेखि गढवालसम्म बिस्तार हुन पुग्यो भन्ने कुरा खोजीको विषय हुन सक्छ।
नेपालमा आन्तरिक प्रवासन खासगरी कुमाउंबाट जुन रुपमा तीब्रगतिमा भएको देखिन्छ त्यसको ऐतिहासिक तथ्यहरुको खोजी हुन सकेको देखिँदैन। कुमाउंको इतिहासका बारेमा इतिहासकारहरुले थुप्रै खोज गरेका छन्। यता नेपाल राज्यको उत्पत्ति र राजवंशहरुको बारेमा पनि अनुसन्धान भएको छ। तर यो राजवंश अन्तर्गत विभिन्न कालखण्डमा कसरी मानिसहरुको प्रसार पश्चिमबाट पूर्वतिर भयो, ती के ऐतिहासिक घटना थिए र के कस्ता संघर्षहरु त्यतिखेरका जनताले गरेका थिए भन्ने बारेमा खोजी हुनु जरुरी छ। जस्तो कि अहिले कर्णाली पारिको भुगोलकमा निश्चित जातिहरुको विशिष्टता देखिन्छ। पन्त, जोशी, विष्ट, भट्ट, चन्द, पनेरु, भण्डारी, बोहोरा, कुंवर, आदि जातिहरु कर्णाली वारी त्यति अस्तित्वमा देखिंदैनन। कर्णाली वारी आइसकेपछि केही सिमित क्षेत्रमा जस्तो नुवाकोट, गोर्खा र धादिङमा भट्टहरु देखिन्छन् भने पदका आधारमा भण्डारी, बोहोरा आदि कतै कतै देखिन्छन्। यो सूचि लामो हुनसक्ला। तर कर्णाली वारी आइसकेपछि अधिकांश जातिहरु जुन स्थानबाट थातथलो छोडेर आएको हुन, त्यही अनुसार उनीहरुको थर रहन गएको छ। भन्नाले हिजाका भट्ट, पन्त या अन्य कर्णाली पारीका जातिहरुको थर कर्णाली पारी बसेको स्थान या मूल कुमाउंको स्थानका आधारमा रहन गएको छ। देवकोटा जुम्लाको देउकोटबाट, पौडेल कुमाउं क्षेत्रको पौडी बाट, डोटेल डोटीबाट जस्तै पछाडि रेल, कोटा, लिया, आल, इली, एली, आदि जोडिएका सबै जातिहरु स्थान विशेषबाट रहेका छन्। यी स्थानहरु केही कर्णाली, सुदूरपश्चिम त केही कुमाउं गढवाल क्षेत्रमा रहेका छन्। तर ओझा, ओली, पन्त जस्ता केही थरहरु भने बिना परिवर्तन पनि चलनमा कायमै देखिन्छन्। यदि खस (अहिले खसको स्वतन्त्र अस्तित्व देखिंदैन), जनजाति र बिहारलगायतका क्षेत्रबाट नेपाल बसाई सरेका जनसंख्या छोड्ने हो भने बांकी पूर्व मेचिदेखि पश्चिम कालीसम्मको जनसंख्याको उद्गम कुमाउं, गढवाल हो भन्ने आधारहरु प्रशस्त देखिन्छन्। र, गोर्खा साम्राज्यसँगै यताबाट समेत जनसंखया पश्चिमक्षेत्रमा प्रसार नभएको भने होइन। जस्तो बैतडीमा नै एकातिर स्थानीय कुमाईं बोहरा छन् भने लमजुङबाट एकीकरणको बेला पुगेका बोहराहरु पनि रहेका छन्। तर यो प्रसार राज्यको एकीकरण अघि नै भएको थियो वा गोर्खा साम्राज्यको एकीकरणमा यसले के कति तीब्रता पायो, त्यो भने अझै खोजीकै विषय हो। त्यसो त भारतमा मुगलहरुको शासन बिस्तारको क्रममा कश्मिर, गुजरातलगायतका स्थानबाट ब्राम्हण, क्षेत्रीलायत जातिहरु कुमाउं हुँदै नेपाल पसेको पनि भन्ने गरिन्छ।खोजी हुन नसकेको र हुनुपर्ने कुरा यो प्रवासनको लामो श्रृंखलामा उनीहरुको भाषा परिस्कृत हुँदै परिवर्तन भएर जाने पक्ष एकातिर छ भने अर्कोतर्फ सांस्कृतिकरुपमा भाषासंगै अन्य रितिरिवाज र चालचलनहरु क्सरी परिवर्तन हुँदै गए या तिनीहरुमा के समानता छ भन्ने हो। धार्मिक कर्मकाण्डका हिसाबले बनारस या भारतका अन्य सीमित क्षेत्रहरु नै उत्तर भारत र नेपालको मूल श्रोत रहेको हुँदा बिहा, ब्रतबन्ध, पुजा आजाका सन्दर्भममा कर्मकाण्डी विभिन्नता त्यति नदेखिएला। स्थान, परिस्थिति र अवस्थितिका आधारमा मूल हिन्दू कर्मकाण्डमा केही परिवर्तन देखिन सक्ला। तर काठमाडौं उपत्यकामा शाहवंशीय राजधानी स्थापना पछि गोरखा साम्राज्यको निर्माण हुँदा नेवारी संस्कृतिले हिन्दू कर्मकाण्डमा असर कति पारेको छ, त्यो थाहा छैन तर नेवारी विशिष्ट संस्कृति खासगरी पुजाआजा, चाडपर्व आदिका सवालमा भने नेवारी संस्कृति राज्यसत्ताको संस्कृति बन्न पुगेको कुरालाई नकार्न मिल्दैन। कतिपयले राज्य एकीकरणको बेला स्थानीय संस्कृतिहरुमा राज्यसत्ताले अवलम्बन गरेको हिन्दू संस्कृति जबर्जस्ती थोपरेको भन्ने गरेका छन्। यसका पछाडि सत्यता पनि छ। यो एउटा पाटो हो, तर स्वयंम् हिन्दु राजा, जुन बाहिरबाट नेवार खाल्डोमा आएका थिए, र तिनीद्धारा शासित राज्यसत्तामा नेवारी संस्कृतिको प्रभावलाई कुन अर्थमा लिने।
सामान्यतः सस्कृतिको हकमा कुरा गर्दा संस्कृतिले राजकीय वैधता पाएको खण्डमा अल्पमतको संस्कृति पनि बहुमतको संस्कृतिका रुपमा स्थापित गरिन्छ। यो संसारभरिका संस्कृतिहरुको इतिहास पनि हो। चालचलन, भाषा, रहनसहन, खानपीनमा राज्यसत्ताको संस्कृति लादिनु कुनै नौलो कुरा थिएन पनि। तर यसको उल्टो शासित गरिएका जनताको संस्कृति यति बलशालीरुपमा शासक वर्गको संस्कृतिको अंग बनेको इतिहास हामीकहाँ छ। यसलाई कुन अर्थमा लिने।
किरात, लिच्छिवी, मल्लपछि नेपालमा परम्परावादी हिन्दुहरुको शासन सुरु भयो। त्यो अघि अंशुबर्माले हिन्दु वर्णाश्रम भित्र्याए भनिन्छ। यसका साथै उनले हिन्दू वर्णाश्रमलाई नेपाली परिवेश अनुसार चार जात छत्तिस वर्णको आधारमा विभाजन समेत गरेका थिए। तर मूलरुपमा गोर्खा राज्य भनेको बाहिरबाट उपत्यका छिरेको शक्ति थियो। त्यसैले नेवारी संस्कृतिका उपत्यकामा लिच्छिवी मल्लहरुले स्थापित गरेका सांस्कृतिक प्रतिमानहरु शाहहरुले पनि स्वीकार गरेको हो कि भन्न सकिन्छ।
गोरखा साम्राज्यको पश्चिममा बिस्तार हुने क्रमसँगै सुदूरपश्चिम र कुमाउं गढवालमा समेत राजधानी काठमाडौंको शाही हिन्दु नेवारी संस्कृतिका परम्पराहरु रैतीहरुले मान्न सुरु गरेको पुष्टि हुन्छ। अहिले सुदूरपश्चिमाञ्चल विकास क्षेत्र र कुमाउंमा मनाईने स्थानीय पर्वहरु त्यस क्षेत्रका बासिन्दाका लागि मौलिक मानिएपनि ती पर्वहरुको चरित्र, मनाइने तौर तरिका हेर्दा यी चलनहरु गोर्खा राज्यको बिस्तारको क्रममा गोर्खाहरुले त्यहाँ हारेका या सम्झौता गरेका राजाहरुलाई मनाउन दबाब दिएको या स्थानीयहरुले विजेतालाई खुसी पार्न यी पर्वहरु सुरु गरेको देखिन्छ। कुमाउंको इतिहास भन्ने पुस्तकमा समेत यस्ता कतिपय चाड तथा पर्व, जात्राहरु गेर्खा राजाहरुले चलाएको उल्लेख छ। उदाहरणको लागि अछाम, डडेल्धुरा बैतडी, पिथौरागढ, कुमाउं आदि क्षेत्रमा काठमाडौंमा इन्द्रजात्रा मनाइने दिन गौरापर्वको समाप्तीको आठौं दिनसम्म (पञ्चमीदेखि द्वादसीसम्म) विभिन्न मन्दिरहरुमा जात्रा हुने र त्यहाँ इन्द्रजात्राको जस्तै लाखे नाच, मुकुण्डो नाच, खुकुरी नाच आदि हुने गर्दछ। कतिपय मन्दिरमा यस्ता जात्राहरु दिउँसो र राती हुने गर्दछन्। बैतडीको निंगलासैनी भगवतीको मन्दिरमा भाद्र महिनाको चर्तुदशी र पूर्णिमामा हुने यो जात्रामा चर्तुदशीको राती मन्दिरको भित्रबाट भण्डार बाहिर निकाल्ने चलन ठ्याक्कै राजाहरुका सवारी चलाएको जस्तो देखिन्छ। सबैभन्दा अगाडि मूर्ति र त्यसपछाडि क्रमैसंग चामर, नाद लगायतका सामग्री हातमा बोकेर हल्लाउँदै परिक्रमा गर्ने दृश्य कुनै राजालाई पालकीमा राखेर सवारी गरेजस्तै लाग्छ।
गोरखा साम्राज्य विस्तारको क्रममा स्थानीयस्तरमा जनताले नरुचाएको क्षेत्र सम्भवतः कुमाउं नै हुनुपर्छ। गोर्खाहरुलाई आततायी शासकका रुपमा कुमाउ र कालीवारी डोटी प्रदेशका जनताले लिने गरेको इतिहासकारहरुले उल्लेख गरेका छन्। स्थानीय लोकगीतहरुमा पिथौरागढका भागी चन्दले बैतडी, डडेल्धुराका जनता र राजाहरुसँग मिलेर अठौती मल्ललाई मारेको गाथा अहिले पनि गाइने गरिन्छ। यसमा स्थानीयवासीले विभिन्न देवताहरुले भागीचन्दलाई सहयोग गरेको र देवताहरुले नै उसलाई मारेको पनि भन्ने गर्दछन्। तर यो तथ्यको प्रमाणिकता अठौती मल्लको शिलालेख अहिले पनि बैतडीको गुरुखोला गाविसस्थित महादेव मन्दिर रहेको मशानघाटमा रहेको छ भने अठौती मल्ल मारिएका स्थानमा अहिले मणिलेक देवताको पुजा हुने गर्दछ। कुमाउंको इतिहासमा पनि मल्ल राजाहरुको प्रतिरोध गरेको वर्णन गरिन्छ। कुमाउंनी इतिहासमा गोर्खाहरुले स्थानीय जनताहरुलाई निकै सताएकोले उनीहरुका लागि अंग्रेजहरुको आगमन गोर्खा उत्पीडनबाट मुक्तिको आश थियो उल्लेख छ। महेशचन्द्र रेग्मीले समेत गोर्खा राज्यको कुमाउंमा बिस्तारको प्रसंगमा यसको पुष्टि गरेका छन्।
यी खोजीका कैयन् पाटाहरु रहेका छन्। पृथ्वीनारायण शाह र उनको राज्य एकीकरणको बहसलाई खाली राजनीतिक कोणबाट मात्र हेर्नु उनीमाथिको अन्याय हुन जान्छ। राज्यको एकीकरणले भूगोल मात्रै जौडिदैन बरु यसको सबैभन्दा ठूलो असर स्थानीय संस्कृतिहरुमाथि पर्दछ। समुदायका रितिरिवाज, चालचलन, व्यवहार, ज्ञान आदि पक्षहरु तत्कालिन समयका उपज हुने गर्दछन्। समाज स्थायी भयो भने यी चालचलन रीतिरिवाज समृद्ध हुन्छन् र समाज चलायमान हुंदै गयो भने नयां र पुरानोको मिश्रणले स्थायी प्रकारको संस्कृतिको विकास हुँदैन।
सुदूरपश्चिमाञ्चल क्षेत्रका पहाडी जिल्लाको कुरा गर्दा कतिपयले आफ्नै विशिष्ट र मौलिक संस्कृति रहेको मान्छन्। तर तथ्यहरु हेर्दा, भूगोलका दृष्टिले र केही सांस्कृतिक पक्षहरुलाई छोड्ने हो भने यी जिल्लाहरुको कुनै समान र विशिष्ट सांस्कृतिक पक्ष छैन भने पनि हुन्छ। भाषा फरक छ, चालचलन फरक छन्। खानपीन फरक छ, हाल आएर प्रवासीने क्रम या जीविकोपार्जनको अवस्था फरक छ। तर बाहिरबाट हेर्दा सुदूरपश्चिम एक देखिन्छ। जुन कदापी पनि होइन। बाहिरबाट मानिसहरुले देउकी प्रथा सुदूरपश्चिममा छ भन्छन् तर यो त्यहाँका सबै जिल्लाहरुमा न थियो न छ नै। बरु केही खास खास बैतडीका मन्दिरहरुमा यो कुनै बेला अस्तित्वमा थियो। त्यसैगरी छाउपडीसँग सुदूरपश्चिम नङ र मासुजस्तै जोडिन्छ तर मानिसहरु के बिर्सिन्छन् भने छाउपडी गोठहरु पनि सबै जिल्लामा न थिए, न छन् नै। केही खास खास समुदाय र क्षेत्रमा मात्रै यी अस्तित्वमा छन्। दलितहरुमाथिको दमनको कुरा त्यसैगरी जोन्डिन्छ तर सुदुरपश्चिमका कतिपय यस्ता मन्दिरहरु छन्, जहाँ दलितहरुको समान हिस्सा मात्रै हैन, मन्दिरमा नै उनीहरुका लागि कोठा स्थापना गरिएको हुन्छ। भन्न खोजिएको के हो भने, सुदूरपश्चिमलाई नेवारी या लिम्बु या थारु संस्कृति या समाजको जस्तो एकात्मक अर्थमा हेर्न सकिँदैन। यो भूगोलका आधारमा एउटा समुदाय हो, केही हदसम्म भाषा र एकआध चाडपर्व पनि। वृहत अर्थमा हेर्दा यो कैयन् उपसंस्कृतिहरु रहेको भौगौलिक क्षेत्र मात्रै हो। यही कुरा नबुझ्दा एउटा कुनै कुराले सिंगो समुदायहरुको मनोविज्ञानमा असर पर्ने काम भएको हुन्छ।
सुदूरपश्चिम सांस्कृतिक प्रतिमानका आधारमा एकात्मक छैन बरु यो राज्यसत्ताहरुसँग उसले गर्नुपरेको संषर्षका कारण एउटा पृथक पहिचान र अपनत्व बोकेको क्षेत्र हुन पुगेको हो। अझ भन्नुपर्दा, राज्यको अस्तित्व लोप भएपछि नयाँ राज्यले समुदायमा आफ्नोपना या स्वामित्व भाव दिन नसक्नुको असफलताबाट सिर्जित रक्षात्मक भौगौलिक मनोविज्ञानका कारण यो एउटा फरक पहिचान भएको मान्न सकिन्छ। माथि उल्लेख गरिएजस्तै गोरखा राज्यको अधिनमा रहँदा र निकैपछिसम्म पनि राज्यले यो मेरो पनि राज्य हो भनेर नागरिकलाई राज्यप्रति उत्तरदायी हुनसक्ने किसिमले व्यवहार गर्न नसक्दा जुन मनोविज्ञानको निर्माण हुन्छ, त्यो अर्थमा सुदूरपश्चिम फरक डायस्फोरा बोकेको समाज हो तर अन्य सांस्कृतिक प्रतिमानहरु भने त्यसभित्रका समुदाय र समाजपिच्छे फरक छन, तिनलाई एकल सांस्कृतिक पहिचानका रुपमा लिन सकिँदैन।
माथि नै उल्लेख गरियो, सुदूरपश्चिम जहिले पनि एउटा ‘रेलवे प्लेटफर्म’ जस्तै बन्यो। उता कुमाउं छ, यता सिंगो नेपाल छ। मुगलहरुको डरबाट कश्मिर र कुमाउं गढवालबाट मानिसहरु सुदूरपश्चिम आए होलान, केही पुस्ता बसे। त्यसपछि केही समय स्थायित्व हुन्छ कि भन्दा खान लाउन पुगेन अनि लागे पूर्वतिर। बचेकाहरुले त्यहींका खोरिया खन्दै बस्ती बसाले। तर पछि गएर खसान क्षेत्रबाट, अनि गोर्खाहरुको आक्रमण सुरु हुँदा फेरि एक हुल जनसंख्या पलायन भयो होला कि पारी भारततिर कि मध्य या पूर्व पहाडतिर। त्यसपछि फेरी अंग्रेज युद्ध, नयाँ मुलुक र अहिले आएर संघीयता। यी घटनाहरुले सुदूरपश्चिमको समाज नेवारी समाज या अन्य जातीय समाजहरुजस्तो स्थायी भएर बस्न सकेन। जसको प्रभाव त्यसक्षेत्रको सिंगो अविकासमा पर्न गएको निष्कर्शमा पुग्न सकिन्छ।
सामान्यतः अर्को ठाउँमा शक्ति र सत्तासहित बसोबास गर्न गएपछि त्यहाँ आफ्नो संस्कृति समेत स्थापित हुन्छ भने शरणार्थीको अवस्थामा शरण लिने स्थानको संस्कृति स्वीकार्नु पर्ने हुन्छ। नत्र त यदि आधाभन्दा बडी नेपाल कुमाउं र सुदूरपश्चिमबाट पूर्वतिर प्रसार भएको हो भने पुरै नेपालको संस्कृति नै कुमाई र डोटेली हुनुपर्ने होइन र? तर सुदूरपश्चिमका पहाडी जिल्लाका जनताहरुले जहिले पनि रक्षात्मक अवस्थामा नै बाँच्नु पर्यो। यसले गर्दा उनीहरुमा राज्यको अनुभूति हुन सकेन। राष्टको त कुरै छोडौं। राज्य र राष्टको अनुभूति बेगर एउटा समुदाय या भुगोलको सांस्कृतिक विकास कसरी हुन सक्ला। अस्थिरता बोकेको यस्तो क्षेत्रमा मात्र स्तुतीवादी या भाग्यवादी मनाविज्ञानको निर्माण हुन्छ जुन सामाजिक पछौटेपनाको ठूलो कारण हो। यसको उदाहरण राजधानीमा गौरापर्व हुँदा देखिने गरिन्छ। गौरा पर्वमा देउडा, गीत, नृत्य भन्दा ठूलो आकर्षण राजनीतिक नेताहरु हुने गर्दछन्। राजनीतिक नेता प्रवेश गर्ने बित्तिकै त्यहाँ एउटा बेग्लै माहौल बन्ने गर्दछ। सम्झना आउँछ उपन्यास या चलचित्रमा प्रस्तुत गरिने कुनै शाही महलमा राजाहरुको प्रवेशको दृश्य। अझ हरेक सुदूरपश्चिमेलीले राजधानीमा आफूलाई पूर्वीयाहरुले हेपेको या बराबरी व्यवहार नगर्ने, पक्षपात गर्ने गुनासो गर्ने सुनिन्छि। यो लघु मनोविज्ञानको मूल जरो के हो त? के यो बारम्बार साम्राज्यवादी ताकतहरुको लखेटाईका कारण आफ्नो स्थानीय राज्य या राष्टको विलोपबाट सिर्जना भएको मनोविज्ञानको परिणाम होइन र?
समग्रमा भन्नुपर्दा, डोटेली क्षेत्र (सुदुरपश्चिम) लाई एउटा स्थानीय विशिष्टता बोकेको स्थानीय राष्ट्रियताका आधारमा विकास गर्ने गरी अध्ययन गर्न सकिएमा मात्र त्यसक्षेत्रको ऐतिहासिक अविकासलाई अन्त्य गर्न सकिन्छ। भाषा, संस्कृति, शिक्षा, मनोविज्ञान आदि सबैलाई परिवर्तन गर्न सक्ने भनेको समुदाय र शक्तिको अन्तर्सम्बन्ध के रहेको छ भन्नेले पुष्टि गर्दछ। इतिहास बितेर गयो। तर वर्तमानले इतिहासलाई खोतल्नु पर्छ। सुदूरपश्चिमको एकात्मक पहिचान दिन सकिँदैन। त्यसैले यसका खण्डखण्डहरुको अध्ययन गरेर यसका एकात्मक पाटाहरुको संरक्षण गर्नु जरुरी छ।
