
- सत्यराज जोशी -
तैपनि तिनै सभ्यताका मनुस्मृति, याज्ञवल्क्य संहिता आदि कुनैमा पनि हिन्दु सम्बन्धी व्याख्या नहुनुले यसको उत्पति आफैमा रहस्यमयी छ। मनुस्मृतिमा पनि स्वधर्म अर्थात सनातन धर्मलाई नै ‘धर्म एव हतो हन्ति, धर्मो रक्षति रक्षितः’ अर्थात, स्वधर्मको नाश गरेमा यसले आफैलाई नै हानी गर्दछ, त्यसैले पनि आफ्नो रक्षाको लागि स्वधर्मको रक्षा गर्नुपर्छ भनी उल्लेख गरिएको पाइन्छ। नकि कुनै एक तथाकथित धर्म सबैले अङ्गिकार गर्नुपर्ने कुरामा जोड दिन्छ।
त्यसैगरी धर्मलाई व्यक्तिगत स्वतन्त्रताको रुपमा व्याख्या गर्दै याज्ञवल्क्य संहितामा भनिएको छ–'श्रुति: स्मृतिः सदाचारः स्वस्य च प्रियमात्मनः, सम्यक्सङ्कल्पजः कामो धर्ममुलदिमं स्मृतम्।’ अर्थात् धर्म त्यो हो, जुन कुरा आफूलाई प्रिय लाग्ने र आफूले गर्न संकल्प गरिएका असल कुरा जुन नितान्त व्यक्तिगत हुन् भनी उल्लेख छ।
यसैगरी गीताका अनुसार धर्म साधन तथा साध्य दुवै हो। कर्मयोगका माध्यमबाट इन्द्रीयलाई वसमा पार्दै जीवनलाई जागृत एवम् चलायमान गर्नु र वैराग्य एवम् मोहबाट उन्मुत्ति पार्नुनै धर्मको परम उद्देश्य हो भनी उल्लेख गरिएको पाइन्छ।
गीताकै तेस्रो अध्याय श्लोक ३५ मा उल्लेख गरिए अनुसार–श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितान्। स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।। अर्थात्, अरुको धर्म जतिसुकै राम्रो भएता पनि आफ्नै स्वधर्मको पालना गर्नु पर्दछ र परधर्म सदैव भयावह हुन्छ भनी उल्लेख गरिएको पाइन्छ।
हिन्दुवादी सकस
शान्तिका लागी बलि अर्थात् हिंसा खोज्ने तथाकथित ‘हिन्दू धर्म कुनै पनि हालतमा हाम्रो सनातन धर्म होइन। हिन्दू धर्मको रुढिवादी एवं संकीर्ण विचारबाट प्रभावित भएर नै वर्तमानसम्म हाम्रो समाजमा मानव बलि दिनेदेखि बोक्सीको आरोपमा मानव जीवांसा नाश गर्ने जुन दुश्कार्य भइरहेको छ, त्यो सरासर हाम्रो सनातन धर्मको खिलाफ छ। सायद यही हिन्दुवादी संकीर्ण धर्मको अफिमरुपी विष रोक्न नै बुद्धले सनातन धर्मलाई शान्तिमार्गी मार्गबाट नै मानव कल्याण संभव छ भनी सनातन धर्मलार्ई नयाँ आयाम दिन बौद्ध धर्मको प्रतिपादन गरेको हुनुपर्दछ, जुन हाम्रो सनातन धर्मकै आधुनिक एवं वैज्ञानिक प्रयोग थियो भन्न सकिन्छ।
यसैगरी हिन्दु शब्दको उत्पतिको समयक्रम हेर्ने हो भने यसको प्रयोग बुद्धको समकालीन युगमा भएको थियो भन्ने प्रमाणहरु विभिन्न विद्वानका आलेख एवं स्वयं बुद्धको स्वधर्मप्रतिको आशक्तिले पनि देखाउँछ। अतः हिन्दू शब्द आफैमा एक रहस्यमयी शब्द भएको तथा यसले वैदिक सनातन धर्मको केही कुरालाई तत्कालीन शक्तिस्वार्थको प्राप्तिका लागि मार्क्सवादी विचार अफिम बनाउन खोजेकाले नै आज हिन्दू धर्म विश्वव्यापीरुपमा सकस बन्दैछ र केही स्वार्थी व्यक्तिहरुले धर्मको ललिपप देखाई सनातन धर्मको गलत अर्थ लगाई निहित शक्ति प्राप्तिका खातिर यसको दुरुपयोग गरेको देखिन्छ।
अन्तमा, नेपाल एकमात्र त्यस्तो देश हो जहाँ प्राचीन कालदेखि नै वैदिक धर्मइतर समुदाय मुस्लिमले ‘हिन्दू राष्ट्र’कायम गर्न माग गरेको पाइन्छ। र, त्यसका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको दावी गर्ने मुस्लिम समुदायले आखिर नेपाललाई किन हिन्दू राष्ट्र बनाउनु पर्ने माग उठाए त? प्रश्न जति जटिल छ उत्तर त्यति नै सहज छ। किनकी हाम्रो धर्म साम्प्रदायिक नभई सनातन हो। त्यसैले यदि समानुपातिक लोकतन्त्रका प्रणेता जे.एस मिलवादी सिद्धान्तलाई मान्ने हो भने 'बहुसंख्यक वर्गलाई शासनको अधिकार छ भने अल्पसंङ्ख्यकलाई उनीहरुको आवाजको कदर होस् भन्ने समान अधिकार' भन्ने विचारलाई आत्मसात गर्दै आगामी संविधानमा नेपाललाई विवादित हिन्दु राष्ट्रको सट्र्टा सनातन वैदिक राष्ट्र’राख्ने कि ?