PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​गृहमन्त्रीले सोधे - मिडियाले नकारात्मक कुरा मात्रै गरे, कहाँ उजुरी गर्ने ?



​गृहमन्त्रीले सोधे - मिडियाले नकारात्मक कुरा मात्रै गरे, कहाँ उजुरी गर्ने ?

वामदेव गौतम -
हाम्रो देशको मिडियाले पछिल्लो पटकसम्म पनि हाम्रो विपद् ब्यवस्थापन सम्बन्धी सरकार र गैरसरकारी निकायका संस्थाहरुले गरेको कामको राम्रो रिपोर्ट दिँदै दिएनन्। तपाइँहरु कसैले पनि फलानो पत्रिकाले यो लेखको छ, फलानो समाचारमा यो त्यसबेला आएको छ भन्न सक्नुहुन्न। किनभने तिनीहरुले कहिल्यै कुनै पनि ठाउँमा पनि राम्रोसँग यहाँ यस्तो भयो भनेर भनेनन्।
 
बगिरहेका मानिसहरुलाई आफ्नो ज्यान जोखिममा हालेर पौडी खेलेर मान्छेलाई बचाएका छन्। त्यस्तै अवस्थामा एकजना पुलिस बगेर मरेको छ। यस्तो स्थिति छ त्यो उल्लेख छैन कहीँ पनि।
 
मैले भनेको पनि बाहिर गएन। मैले सुशासन समितिमा आएर भनेँ मिडियाले सकारात्मक कुरा ल्याएन, नकरात्मक, आलोचनात्मक कुरा मात्र अगाडि सार्‍यो। हो, त्यो मिडियाको आफ्नो विषय होला। त्यसो गरेपछि सरकारले छिटो ध्यान दिन्छ भन्ने पनि होला।
 
तर सोच्नुपर्छ, बुझ्नपर्छ नि। आखिर मिडिया पनि हाम्रो हो, नेपाली नै हो नि। मर्नेहरु चाँहि मिडियाका अर्कै हुन् र। सरकारले गर्ने काम चाँहि मिडिया भन्दा अर्कै हो र।
 
चौथो अङ्ग भन्ने राज्यको चौथो अङ्ग भन्ने। के राज्यको चौथो अङ्गले राज्यले गरेको सकारात्मक कामको सत्य कहिल्यै बताउँदै नबताउने ? यसो गर्न त हुन्न। तैपनि गर्‍यो। हामी त्यसको शिकार भएका छौँ। त्यसको कहाँ गएर उजुरी हाल्नु हामीले? उजुरी हाल्दा पनि कसले सुन्नु।
 
उनीहरुलाई केही गर्न पनि भएन। किनकी केही गर्ने बित्तिकै त्यो भन्दा ठूलो केही हुनै सक्दैन। त्यस्तो भएको छ त्यसैले सकरात्मक काम नदिदाँ खेरी सँधैभरी नकरात्मक कुरा मात्रै आइरहने, यो भएन त्यो भएन त्यो गरेन भन्ने।
 
बाग्मतीमा आएको बाढी भदौ १४, १५ गते जस्तो लाग्छ। त्यहाँ पनि ठूलो पानी पर्‍यो। सप्तरी जिल्लाको धरमपुर भन्ने ठाउँको चार पाँच र छ वडामा टापु जस्तो भएर पानी बग्न थाल्यो। बीचमा चार सयदेखि पाँच सय मानिसहरु खेती गर्न गएका उनीहरु घेराबन्दीमा परे।
 
त्यो पानी यथावत् रहेको भए मात्रै पनि त्यहाँ बाढीले कटान गरेर त्यो पानीमा बग्न सक्ने खतरा थियो। त्यो पानी बढेको भए सोझै सबै बग्ने स्थिति थियो। त्यहाँ न हेलिकप्टर जान सक्छ त्यस्तो बेला वातावरणको कारणले। न त्यहाँ डुङगाहरु नै जान सके।
 
पर्सिपल्टसम्म त एउटा डुङ्गा डुब्यो त्यही ठाउँमा। त्यही डुबेको ठाउँमा तपाँइहरुलाई कत्तिको याद छ तीन जना कि कति जना मान्छे मात्रै मरे। त्यहाँ ५० जना भन्दा धेरै मान्छे थिए।
 
त्यहाँ नेपाल प्रहरी सशस्त्र प्रहरी जसले उद्धारका निम्ति तालिम प्राप्त गरेको थिए ज्यान जोखिममा हालेर तिनीहरुलाई बचाए। कुनै पनि मिडियाले त्यो कुरा लेखेन। हेर यो यसरी गरे भनेर।
 
त्यो डुङ्गाबाट जब पानी घट्न थाल्यो त्यसपछि डुङ्गालाई ल्याएर रस्सीले बाँधेर बग्न नै दिने गरेर मानिसहरुलाई भोलिपल्ट उज्यालो हुनु भन्दा पहिले नै सबैलाई उद्धार गरियो। चार सय मानिसहरुलाई उद्धार गरेको त्यो घटना चाँही कहिँ कतै पनि बताएनन्। त्यसको कुनै प्रसङ्गै छैन। यस्तो किसिमको भएको छ।
 
त्यसैगरी कमला नदी तीन ठाउँबाट फुट्यो। पछि अर्को तर्फबाट फुट्यो र सिराहा जलमग्न भयो । त्यो जलमग्न भएको अवस्थामा त्यहाँ रहेका जनतालाई उद्धार गर्ने प्रहरी सशस्त्र प्रहरीहरु नै थिए। जसले ज्यान जोखिममा पारेर कुनैपनि मानिसलाई मर्न दिएनन्।
 
 
सुनकोसीको जुरेमा पनि त्यहि किसिमले खतरा मोलेर हामीले काम गर्‍यौँ। अन्तराष्ट्रिय सहयोग बोलाउनु पर्‍यो भनेर भनियो। इण्डियाबाट त्यहाँका प्रधानमन्त्री आउँदा खबर पाएर आफू आएकै दिन पठाइदिनुभयो त्यो टोली भोलीपल्ट गएर निरीक्षण गर्‍यो। हामीले जे प्रयत्न गरेका छौँ त्यही प्रयत्न काफी छ भनेर थप केही गर्न पर्दैन भन्यौँ।
 
फेरि यहाँ आलोचना भयो विदेशी सहयोग लिएन भनेरर अनि हामीले चीनबाट टोली आएर अध्ययन गरेर नेपाली टोलीले जे गरिराखेको छ हामीले पनि गर्ने त्यही हो हामीले पनि केही गर्न सक्दैनौ भनेर फर्केर गयो।
 
हामीले क्रमशः पानी बगाउने प्रक्रिया सुरु गर्‍यौँ र अन्तिममा पानी निस्कने स्थिति भयो। अहिले पनि सबै पानी निस्केको छैन तर अब तल्लो तटीय क्षेत्रमा खतरा आउँछ भन्ने छैन अब। यसको कसैले प्रशंसा गर्दैन।
 
 
त्यहाँ भएन यत्रो समयसम्म केही गर्न नसक्ने यो सरकार नालायक सरकार भनेर भनियो। अनि लायक सरकार त भयो नि अब। हामीले नै गरेको बाटोबाट पानी निकास भयो। तर लायक सरकार त कसैले पनि भनेन।
 
अब सुदुरपश्चिम तर्फ हामी जाँऔ। सबैभन्दा पहिले जेठ २४ गते बाजुरा जिल्लाको कोल्टी पछिल्लोपटक घोषणा गरिएको नगरपालिकामा निकै थोरै पानी परेको थियो तर पहिरो यसरी गयो त्यहाँ बसेको बजार क्षतविक्षत गर्‍यो। मानिसहरु पनि मरे जनधनको पनि क्षति भयो। त्यसलाई निरीक्षण गरेर के गर्न पर्छ भनेर मैले बाजुरा जिल्लामा भएका जो उपलब्ध माननीयलाई खबर गरेँ र लिएर गएँ त्यहाँ देखाउने र हेरर आएर सरकारलाई प्रतिवेदन दिएर काम गरियो। त्यसपछि प्रचार के भयो भने मानिस मरिरहेका छन्, गृहमन्त्री हेलिकप्टरमा बसेर बाई बाई गरिराखेका छन् भन्ने प्रचार सुरु भयो। त्यसकारण म त सतर्क भएँ जान हुन्न भन्नेभयो।
 
त्यसपछि मैले के गरेँ भने प्रमुख पार्टीका नेता राखेर निरिक्षणका लागि पठाउनु पर्‍यो भनेर। एमालेका माधव नेपाल, काँग्रेसका सिचाँइ मन्त्री, एमाओवादीका गिरिराजमणी पोखरेललाई पठाइयो।
 
त्यसपछि मध्यपश्चिमान्चल पनि त्यसैगरी पठाउन तयार पारियो। तर त्यहाँ जान सक्ने अवस्था भएन। २८ गते देखि आएको बाढी पहिरोले गाडी जान नसक्ने हेलिकप्टर जान नसक्ने अवस्था भयो।
 
यहाँहरुलाई थाहा छ होला त्यो दिन दिउँसो चार बजेसम्म हाम्रो अन्तराष्ट्रिय विमानस्थलमा प्लेन समेत उडेन। त्यस्तो किसिमको अवस्था भएको थियो। हेलिकप्टर हामीले २९ गते तीन बजे मात्र उड्न सक्यो। त्यसैदिन हेलिकप्टर गएर दाङ, सुर्खेत, बाजुरा, बाँके निरिक्षण गर्‍यो। बाँके जिल्लाको दुई तीन ठाउँमा राहत पुर्‍यायो। बर्दियामा पनि राहत पुर्‍यायो तर सुर्खेतको सम्बन्धित ठाउँको सदरमुकाममा राहत पुगेपनि सबै ठाउँमा पुग्न सकेन।
 
माननीय पूर्णबहादुर खड्का पूर्व गृहमन्त्रीले तपाइँको नेतृत्वमा निरीक्षण गर्न जानुपर्छ भन्नुभयो। म गइसकेपछि त फेरि हेलिकप्टरबाट बाई बाई गरेको आउँछ भनेँ। तर यहाँ त जनताको उद्धार गर्नुपर्ने छ, डराउन हुँदैन जाउँ भन्नुभयो।
 
यसरी ब्यवस्था गर्दा पनि हामीले यहाँबाट हेलिकप्टर लिएर गएनौ। यहाँबाट हामीले प्लेन चढेर नेपालगन्ज गयौँ र राहत र उद्धारमा प्रयोग भएको हेलिकप्टर चढेर गयौँ र निरिक्षण गरेर आयौँ। पछि आपूर्ती मन्त्रीले गाडीबाट गएर एक साता हेरेर रिपोर्ट तयार गरेर दिनुभयो।
 
-गृहमन्त्री वामदेव गौतमले ब्यवस्थापिका संसदको राज्यब्यवस्था समितिमा बुधबार दिएको मन्तब्यको अंश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell