PahiloPost

Dec 4, 2024 | १९ मंसिर २०८१

ईसा पनि हिन्दू थिए : चर्चित पुस्तकमा प्रपन्नाचार्यको यस्तो थियो दावी



ईसा पनि हिन्दू थिए : चर्चित पुस्तकमा प्रपन्नाचार्यको यस्तो थियो दावी

(डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा आज बिहान साढे तीन बजे निधन भएको छ। लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित उनको मृगस्थलीस्थित आश्रममा नै निधन भएको हो। वनारस संस्कृत विश्वविद्यालयबाट वेदशास्त्रमा आचार्य र विद्यावारिधि गरेका उनको एक दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन्। उनको चर्चित कृति 'वेदमा के छ?' मा रहेको 'के ईसा पनि हिन्दू नै थिए?' शीर्षकको लेख यहाँ साभार गरेका छौँ)

फिलिस्तिनबाट जुन धर्मले बाटो लिएर भारतखण्ड पस्यो र जुन वेटिकनबाट समस्त विश्वको ८० करोड इसाई धर्मावलम्बीहरुलाई शासित गर्छ, त्यो धर्म प्रवर्तक ईसा मसिह पनि आर्यपुत्र नै रहेछन् भन्ने कतिपय तलतिरका प्रमाणहरुबाट बुझ्नुहुनेछ पाठक,वाचकवृन्दहरुले। यो कुरा हामीले जबर्जस्ती सिद्ध गर्न खोजेको होइन अपितु ईसाका सम्बन्धमा शोधखोज गर्ने ती कतिपय पौरस्त्य र पाश्चात्य विद्वानहरुका अनगिन्ती प्रमाणहरुले सिद्ध गरेको कुरा हामीले यहाँ राखेका छौँ।
 
माथि देखाइएका धर्महरु सबै आर्य हिन्दू धर्मबाट फुटेर गएका हाङ्गाबिङ्गा मात्रै हुन्। ती धर्महरुमा वैदिक हिन्दु धर्मदेखि अलि पछि फुटेको हाँगो पार्सियन धर्म हो। त्यसपछि अरु धर्मको जन्म भएको हो। यसै प्रकारले भारतीय हिन्दू गणना अनुसार ईसाको जन्म विक्रमको पहिलो शताब्दीमा मानिएको हो। ईसाभन्दा पहिले मूसाले चलाएको यहूदी धर्म मानिन्थ्यो। त्यसलाई आज पनि ओल्ड टेस्टामेन्ट अर्थात् पुरानो धर्मशास्त्र भन्छन् र ईसाबाट चलेको धर्मशास्त्रलाई न्यु टेस्टामेन्ट अर्थात् नयाँ धर्मशास्त्र भन्छदछन् तर ईसा मसिहहरुको बारेमा उनको १८ वर्षको जीवनीका सम्बन्धमा इसाई पादरीहरुसँग सोद्धा बोल्न सक्दैनन् कोनि किन हो।
 
यसमा सबैभन्दा पहिले आफ्नो जीवनको अधिकांश भाग महात्मा इसाको १८ वर्षको जीवन कहाँ बित्यो?  त्यस सम्बन्धमा खोज गर्ने रुसी विद्वान डा निकोलस नोटोविचको शोधप्रबन्धलाई अगाडि सार्न सजिलोसँग सकिन्छ। महात्मा ईसा पहिले एमडी साधु थिए। आजभन्दा दुई हजार वर्ष पहिले युरोपको कुनै एक प्रान्तमा एमडी नाम गरेको ठाउँमा एस्सेन पन्थका मान्छे रहन्थे। त्यहाँबाट हिँडेर भारतमा आइपुगी आफ्नो जीवनको १८ वर्ष भारतखण्डको जम्बुद्विपमा बिताए। डा नोटोविचले ४० वर्षसम्म खोज गर्दै तिब्बतको हिमोस बौद्ध लामाहरुको गुम्बा मन्दिरमा पुगी पत्ता लगाए। त्यहाँका लामाहरुले ताडपत्र, भोजपत्र आदिमा लेखिएको ईसाको जीवनचरित्रको सामग्री दिए। यतिमात्र हैन अपितु स्वयं ईसाले लेखेको प्रकरण पनि त्यहीँ छ अरे। जसमा भारत भ्रमण गरेको १८ वर्षको यात्रावर्णन आफै ईसाले गरेको छ।
 
हिमोस गुम्बामा यो बौद्ध मन्दिरको १४ प्रकरणको २४४ श्लोकमा भएको वर्णन अनुसार ईसा सिन्धुप्रदेशबाट आर्यावर्त पुगीकन केही दिन बौद्ध भएर जगन्नाथपुरी पुगे। अनि ब्राह्मणहरुसँग सनातन वैदिक धर्मको दीक्षा लिएर वेदशास्त्रहरुको अध्ययन ईसाले गरेका थिए। राजगिरी, काशी आदि तीर्थ भ्रमण पनि साधु महात्माहरुको सँगमा गरे। अनि बौद्ध विहारमा छ वर्षसम्म बसेर बौद्ध दीक्षा लिइसकेपछि नेपालको बाटो भएर तिब्बत गए। बौद्ध धर्मसँग मेल खाने अद्भूत समताले गर्दा स्मिथ, विन्टरनीज, इलियट तथा अनेक अरु पनि विद्वानहरुले यो तथ्यलाई स्वीकार गरेका छन्।
 
यसका सम्बन्धमा साधु रामसुखदासको महात्मा ईसा और उनके भारतमेँ दीक्षा नामक पुस्तक पनि मनन गर्न योग्य छ। यो किताब काशीबाट प्रकाशित भएको छ। महेन्द्र कुल श्रेष्ठको क्या इसाका धर्म पहिले भारतमेँ चला? अमृत प्र २५ डिसेम्बर १९७८ को लेखमाला पनि अत्यन्त मनन गर्न योग्य छ। यो लेखमा यस रुपमा लेखकले दर्शाएका छन् कि ईसा फिलिस्तानमा सूलीमा मरेको होइन अपितु बहाना पारेर भारत पठाएको सिद्ध गरे।
 
डा जकालियटको इन्डिया इन बाइबलले त केही छोडेको छैन। सबै थोक वेद शास्त्र पुराण गीता महाभारत रामायण आदिबाट ईसाको न्यु टेस्टामेन्ट बनेको हो भनेर सिद्ध गर्नुभएको छ। डा जकालियटको एक विशेषता अरु पनि छ। त्यो यो कि अङ्ग्रेजी प्रायः प्रत्येक शब्द संस्कृत शब्द र धातुहरुबाट बनेको मान्नुहुन्छ। त्यसै भएको हुनाले त्यतिखेरका प्रसिद्ध विद्वान मैक्समूलरले यो लेखकले भारतीय ब्राह्मणहरुको जुठो खाएको छ भनी नहुँदो आक्षेप पनि लगाए। तर मैक्समूलरको आक्षेप रिसको पोको भूइँमा उतार्न मात्रै हो।
 
यस्तै रितिले डा नोटोविचको द अननोन लाइफ अफ जिसस ईसाको अज्ञात जीवन भन्ने शोधप्रबन्धका बारेमा पनि मैक्समूलरले नोटोविचलाई तिब्बतका लामाहरुले ठगे भनी नाइन्टिन्थ सेन्चुरीमा लेखे। तर त्यतिखेर डा नोटोविच लन्डनमा थिए। टाइम्स पत्रिकामा विश्वका समस्त पादरीहरुको खुबै खबर लिए। अनि मैक्समूलरको पनि स‍ंयुक्ति खण्डन गर्दा फेरि कुनैले पनि कलम चलाएनन्।
 
त्यस्तै प्रकारले डा जकालियटको भारतमा बाइबिल ग्रन्थको पनि मैक्समूलरले आलोचना गर्ने प्रयत्न गरे तर सफल भएनन्। अनि यो ग्रन्थ मूल रोम भाषामा लेखिएको हो। यसको अङ्ग्रेजी अनुवाद लन्डनबाट प्रकाशित छ। तर अङ्ग्रेजी अनुवाद प्रामाणिक छैन। अनुवादकहरुले  मिलेर लेखकको अभिप्राय र प्रामाणिक खोजहरुलाई उडाई आफ्नो तर्फबाट मिलाएर प्रकाशित गरेका छन्। त्यसो हुँदा पञ्जाबको होसियारपुर निवासी विद्वान मनस्वी लेखक श्री सन्तराम बीएले मूल रोम भाषामा लेखेको एक प्रति वीर सावरकरबाट प्राप्त गरेर हिन्दी अनुवाद गरी भारतमेँ बाइबल नाम राखी प्रामाणिक अनुवाद गरे। कलमीलाई रोम अङ्ग्रेजी र हिन्दी तीनैलाई आँखा मिलाउने सौभाग्य मिल्यो। पी एन ओकको क्रिश्चियनिटी इज कृष्णनीति ग्रन्थ पनि पढ्न योग्य छ। सप्रमाण उहाँले सिद्ध गर्नुभएको छ कि उनीहरुको मान्य धर्मग्रन्थ तौरेत अञ्जील बाइबल आदिमा पाइने र उनीहरुको मूसाई रोमन क्याथोलिक प्रोटेस्टेन्ट थियासफी आदि सम्प्रदायहरुमा पाइने धेरै जस्तो के खर्लप्प भने पनि हुन्छ हिन्दू आर्यहरुबाटै गएको सप्रणाम सिद्ध गर्नुभएको छ। पन्डित रघुनन्दन शर्मा साहित्यभूषणले पनि वैदिक सम्पतिको २६३ पृष्ठमा भारतमा आएर ईसाले काशी र विहार आदिमा विद्याध्ययन गरेर तिब्बत जाने कुरा लेखिएको छ।
 
बङ्गविच्छेद आन्दोलनकारी श्री बाबा सावरकरले ख्रिस्ट परिचय ग्रन्थमा यो सिद्ध गर्नुभयो कि हजरत ईसाको जन्म भारतको हिन्दू परिवारमा भएको हो। बाबा सावरकरको युक्तिलाई हटाउन कुनै पादरीले सकेनन् र अन्तमा उपेक्षाभावमा रहन थाले। मेजर विल्फोर्डको पनि यस सम्बन्धमा गतिलो शोधखोज छ। डा बुकानिनले पनि आफ्नो विचार ईसाको सम्बन्धमा प्रस्तुत गरेको देखिन्छ। फिलस्मिथको ध्यान पनि ईसाको १८ वर्षको जीवन कहाँ बित्यो होला भन्ने चर्चामा जाँदा उसै ठाउँमा पुग्यो। फ्रान्सिसी यात्री क्वेक्वनियरले पनि ईसाको १८ वर्षको शोधखोज गरेर राम्ररी टुङ्गो लगाएको छ। भारतमा पादरी भएर बस्ने पादरी गोपालाचार्यले पनि राम्ररी निधीखुदी गरी सावरकरसँग मेल गर्न पुगेका छन्। हिन्दू परिवारमा ईसाले जन्म लिने सम्बन्धमा यस प्रकारले धेरै आधुनिक पाश्चात्य पौरस्त्य विद्वानहरुको एकै मतो देखिन्छ।
 
यहाँ उनीहरुका वाक्य प्रमाण उद्धृत गर्दा ग्रन्थ स्वतन्त्र हुन जाने हुनाले कतिपय शोधग्रन्थहरुको नाम निर्देशमात्रै गरिएको छ। ईसा हिन्दु हो भन्नुमा कतिपय प्रमाण यी पनि छन्- फ्लोरेन्समा ईसाकी आमा मेरियमको मूर्ति राखिएको छ। मेक्समिलन गिर्जाघरमा पनि त्यही मूर्ति राखिएको छ। मूर्ति निश्चित नै मेरियमकै हो। तर ती ईसाकी आमा मेरियमको मूर्ति दुवै गिर्जाघरमा हिन्दू रानी, महारानी जस्ति साडी गुन्युँ लगाएको छ। अनि मस्तकमा हिन्दुहरुले लाउने कुमकुमको टीका लगाएको छ।
 
त्यस्तै प्रकारले ईसाको पनि ठाउँ ठाउँमा चित्र तथा मूर्तिहरु राखिएका छन्। म्युनिकको चित्रघरमा टाँगिएको चित्रमा ईसा सन्यासी महात्माको वेशमा छ। अनि मस्तकमा तिलक पनि लगाएको छ। फ्लोरेन्सको मूर्तिमा ईसाले यज्ञोपवित जनै धारण गरेको छ।
 
यस सम्बन्धमा गङ्गाशङ्कर एमएको भक्ति भी विदेशियोँ के देन भक्ति अङ्क कल्याण गोरखपुरबाट प्रकाशित र डा नोटोविच र माथि लेखिएका सबै विद्वानहरुका ग्रन्थ मननयोग्य छन्। ईसाको एउटा चित्र रोमको पोप धर्मगुरुको भ्याटिकन राजमहलमा पनि छ। त्यस चित्रमा ईसाको मस्तकमा टुप्पी र धोती लगाएको साधु वेशमा छ।
 
अब कतिपयले भन्छन् कि ईसा भारत आउँदै आएनन्। अनि उनलाई फिलिस्तिनमा नै सूली चढाएर मारिदिए। त्यसमा पनि हामीले मनपरी लेख्ने काम गर्दैनौँ। विद्वानहरुले जहाँ जहाँ शोधखोज रिसर्च गरेर प्रकाशित गरे तिनै प्रमाणहरुलाई जस्तको तस्तै राख्ने प्रयत्न गर्दैछौँ। यसमा माथिका विद्वानहरुले त भारतमा आएका हुन् भन्ने कुरा सिद्ध गरेकै छन्। तर मौलामा मुहमद अलीले कुरानको अङ्ग्रेजी अनुवादको भूमिकामा लेखेको छ कि सूलीमा चढाइकन बचाएर भारतमा आएपछि काश्मिरमा योगसमाधिमा शरीर छुटेको हो। फिलिस्तिनलाई छाडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले जिसस इन इन्डिया अर्थात् ईसा भारतमेँ भन्ने पुस्तकमा प्रष्ट गरेको छ।
 
एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मिरमा आज पनि ईसाको समाधि विद्यमान छ। काश्मिरको साधारण जनजीवनमा पनि थाहा छ कि यो ईसाको समाधि हो। यतिमात्रै होइन उनको धर्म पनि युरोपमा प्रचार हुनुभन्दा पहिले दक्षिण भारतमा प्रचार भएको हो। यो कुरा त ईसाईहरुलाई पनि मान्य नै छ। महात्मा ईसा दुई फेर भारतमा आएको प्रमाण पाइन्छ। यो कुरालाई प्रसिद्ध चित्रकार निकोलस रोरिकले पनि १९२९ मा प्रकाशित आर्ट अफ रसिया भन्ने पुस्तकमा पनि काश्मीर लद्दाख भारत आदि इसाले घुमेको चर्चा गरेको छ।
 
कति भाषा वैज्ञानिकहरुले काश्मिरी गुज्जर र हिब्रु भाषाको साम्यबाट पनि ईसा काश्मिरमा बसी समाधि अवस्थामा प्राण छाडेको सिद्ध हुन्छ भनेका छन्। हिब्रु हिन्दू आर्यहरुको पुरानै हाँगा हो। ईसाई पादरीहरुलाई ईसाको पढाइ लेखाइ शिक्षा दीक्षासम्बन्धी १८ वर्षसम्मको उत्तर नपाएर लाटिएर बस्नु या उपेक्षा गर्नु साह्रै गाह्रो कुरा छ। त्यति वर्षसम्म ईसा कहाँ थिए? त्यसका सम्बन्धमा एक अरु झोँकी रिसर्च गर्ने विद्वानको कुरालाई पनि मनन् गर्नुहोस्। डाक्टर स्पेन्सरले १९२९ मा मिस्ट्रिकल लाइफ अफ जिसस नामक पुस्तक प्रकाशित गरे। त्यो पुस्‍तकमा उनले लेखे कि ईसा फिलिस्तिनमा सूलीमा मरेनन्। ईसा त आफ्नो आयु ६०-७० वर्ष पूरा गरेर स्वर्गवासी भए। उसै पुस्तकको पृ २८९ मा लेखे कि ईसा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्यासी भएर काशी जगन्नाथ विहार नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्दै थिए। यसै प्रकारले मृत्युको बारेमा पनि मुसलमानहरुको धार्मिक ग्रन्थ कुरानमा सुरतेँ निशा पारा भन्ने प्रकरणमा ६-१५७ मा सूलीमा ईसा मरेनन् र अरु ठाउँमा भागेर गए भन्ने कुरा लेखिएको पाइन्छ।
 
जे होस् विश्वका ८० करोड ईसाईहरुकव धर्माचार्यमाथि लेखिएका प्रमाणहरुबाट उनी हिन्दू नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत आएको पनि उनै प्रमाणहरुले सिद्ध छ। अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए? यस प्रश्नको उत्तर ईसाई पादरीहरुसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ।
 
अवश्य नै नेपालको लुम्बिनी अञ्चल कपिलवस्तुमा जन्मेका बुद्धको धार्मिक उपदेश पाउने बुद्धका शिष्यहरुसँग शिक्षा पाउन विहारमा आए होलार नेपालको सन्देश गर्ने चाँजो देखिन्न। त्यतिखेर विश्वविख्यात बौद्ध धर्मको केन्द्र अनि विश्वविद्यालय पनि विहारमा थिए। अनि त्यतिखेर इरान, अरब, मिश्र ग्रीक जापान आदिबाट विद्या आर्जनका लागि विहार विश्वविद्यालयमा छात्रहरु आउँथे। त्यसो हुँदा ईसाले पनि भारतमा नआउने कुनै कारण देखिँदैन। निश्चितै आए होला र त बौद्ध धर्मको प्रस्ट छाप पाइन्छ।
 
जे होस् कुम्भकर्ण गौरीशङ्कर माउन्ट एभरेस्टको दर्शन तिब्बत जाँदा अवश्य नै गरे होला। नेपालको बाटो जाँदा लुम्बिनी कपिलवस्तु आदि हुँदै तिब्बतको छेउमा पर्ने नेपालको शिरमुकुट कुम्भकर्णसँग ईसाको साक्षात्कार हुनु स्वभाविकै हो। बौद्ध धर्मसँग प्रभावित ईसाले कोशीमा गीता पढेर सारनाथ कपिलवस्तु लुम्बिनी आदि बुद्धतीर्थहरुमा जानु केही आश्चर्यको कुरा होइन। हुनसक्छ कि माथि लेखिएका विद्वानहरुका परिश्रम र शोधखोजहरुलाई झुटो पार्ने कोशिश पनि गर्न सक्छन्। डा नोटोविचको थिसिसलाई समेत पोलेर फ्याँक्ने सुझाव मात्रै होइन कहिले पनि ननिकाल्ने आदेश शक्ति पनि पादरीहरुमा छ। त्यसो हुँदा जे भए पनि ईसा हिन्दू नै ठहरिन्छन् किनकि माथिको सबै प्रमाणहरु झुटो हुन सक्दैन।
 

ह्रृणदेशस्य मध्ये वै गिरिस्थं पुरुषं शुभम्।
ददर्श बलवान राजा गौराङ्गं श्वेतवस्त्रकम्।।२।।
को भवानिति तं प्राह सहोवाच मुदान्वित।
ईसापुत्रञ्च मां विद्धि कुमारीगर्भसम्भवम्।२३।।
(भवि. पु. प्रसर्ग सं ३ अ.२)
 
यो पौराणिक प्रमाण पनि भारतमा मात्रै होइन शक राजाका देशमा पनि ईसाले घुमेको ठहरिन्छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell