![सात प्रदेश स्वीकार्दैनौँ, यसैमा गए प्रक्रियामा सहभागी पनि हुन्नौँ : गच्छदार](https://pahilopost.com/assets/upload/contentthumb/gachhadar1.jpg)
काठमाडौँ : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलले प्रस्ताव गरेको सात प्रदेशको सीमाङ्कनलाई नस्वीकार्ने बताएका छन्।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले दलहरु यसैलाई लिएर प्रक्रियामा अघि बढे त्यसमा सहभागी नहुने र सदन र सडकबाट संघर्ष गर्ने चेतावनी दिए।
चार दलका शीर्ष नेतासहितको विशेष समितिबाट आफू बाहिरिएको तर राजीनामा नदिएको उनले स्पष्ट पारे। 'मेरो भूमिका आवश्यक पर्यो भने जुनसुकै बेला सहयोग गर्न तयार छु', उनले बताए।
'८ प्रदेश नै समाधान हो'
गच्छदारले ८ प्रदेश नै सबै समस्याको समाधान भएको पूर्ववत् अडान दोहोर्याए। तर आफ्नो प्रस्तावमा नेताहरु गम्भीर नरहेको आरोप उनले लगाए। 'सुदूरपश्चिममा पूर्व प्रधानमन्त्री, पश्चिमाञ्चलमा रामचन्द्र पौडेल लगायत नेताहरु आ-आफ्नै क्षेत्रमा बढी ध्यान दिनेतर्फ लागे', उनले भने, '८ प्रदेशले समस्या समाधान गर्छ किन नगर्ने भन्दा कोही पनि नेताले ध्यान दिएनन्।'![](assets/upload/images/gachhadar(1)(1).jpg)
आजको विशेष समितिको बैठकमा आफूहरुलाई निषेध गर्ने गरी सात प्रदेशको प्रस्ताव आएको आरोप गच्छदारको थियो। 'विशेष समितिको बैठकमा कांग्रेस, एमाले र एमाओवादी पार्टीबाट पहिचान र सामर्थ्यको परिभाषित आधारलाई निषेध गर्दै छ प्रदेशको प्रस्ताव प्रस्तुत भयो। हाम्रो पार्टी यो देखेर स्तब्ध भयो', गच्छदारको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
'सात प्रदेश अहिलेको संकटको निदान हुन सक्दैन', विज्ञप्तिमा भनिएको छ, 'अब हाम्रो पार्टीले सडक र सदनको दुवै मोर्चालाई संघर्षको माध्यम बनाएर सशक्त र प्रभावकारी ढंगले अघि बढाउनेछ।
![](assets/upload/images/gachhadar2.jpg)
![](assets/upload/images/gachhadar3.jpg)