PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

घैँटे प्रकरणमा गगनको जवाफ: म घैँटेका लागि हैन आफ्नो आस्थाका लागि आयोग गएको हुँ



घैँटे प्रकरणमा गगनको जवाफ: म घैँटेका लागि हैन आफ्नो आस्थाका लागि आयोग गएको हुँ

  • गगन थापा-
कुमार घैँटे प्रकरणमा मेरो धारणा लेखेर तयार गर्दै गर्दा कैलालीमा एउटा अकल्पनिय घटना भएको छ जसले स्तब्ध बनाएको छ। यो क्रुर घटनाको जति निन्दा गरेपनि कम हुन्छ। करुणाले भरिएको नेपाली समाजमा क्रुरताको यस्तो विषवृक्षको विजारोपण गर्नेहरु जुनसुकै राजनीतिको आवरणमा आएपनि सजायबाट मुक्ति पाउनु हुँदैन। जनताको सुरक्षाको लागि अफ्नो जीवन उत्सर्ग गर्ने वीर प्रहरीहरुलाई सलाम।

यस्तो बेलामा सबैतर्फबाट संयमता चाहिएको छ। म सबैलाई संयमत र सद्भाव कायम राख्न अनुरोध गर्दछु।

गएको शुक्रबार काठमाडौंमा प्रहरीको 'इन्काउन्टर' मा कुमार श्रेष्ठ 'घैटे' मारिएको विषय अहिले चर्चामा छ। यस सम्बन्धमा मेरो नाम पनि जोडिएर केही समाचारहरू सनसनीपुर्ण रुपमा आएपश्चात् मलाइ थुप्रै शुभचिन्तकहरुले आक्रोसित भएर प्रतिकृया पठाउनुभएको छ। ती प्रतिकृयाहरूमा उठाएका मुलभुत प्रश्नहरूका सन्दर्भमा मेरो विचार यहाँ राख्न चाहन्छु।

पहिलो प्रश्न, तपाइँ पनि अपराधीको पक्षमा बोल्ने?

अपराधको राजनीतिक संरक्षणले अन्ततः अपराधको राजनीतिकरण हुन्छ र राजनीतिको अपराधीकरण कुनै पनि हालतमा हुन दिनु हुँदैन र अपराधीलाई अपराधकै आँखाबाट हेर्नुपर्छ राजनीतिक आँखाबाट होइन भन्ने कुरामा म प्रष्ट छु। मेरो कृयाकलाप कहिल्यै पनि कुनै पनि अपराधीलाई राजनीतिक संरक्षण दिनेमा थिएन, छैन र हुँदैन।
 
मेरो राजनीतिक जीवनको हरेक मोडमा जब जब त्यस्तो अवस्था आउँछ म सधै एउटा मान्यताको पक्षमा दृढ भएर उभिएको छु- अपराध र अपराधीको न कुनै जात हुन्छ न धर्म, न कुनै दल न विचार न मुल्य। मेरो दलमा आवद्ध होस् वा अरु कुनै दलमा, सँधै अपराधको राजनीतिक संरक्षणको खिलाफमा बोल्दै, उभिँदै आएको छु।

जसरी सामाजिक कुरिति र छुवाछुतमा संलग्नलाइ पार्टी सदस्यता नदिने प्रावधान राखेजस्तै अपराधमा संलग्नलाइ पनि पार्टी सदस्यता दिनु हुँदैन भन्ने मान्यता समेत राखेको थिएँ।

हो, म एउटा राजनीतिक कार्यकर्ता हुँ, हिजो लागु औषधमा लागेका, विभिन्न अपराधमा कानूनी सजाय भोगेका थुप्रै व्यक्तिहरू आफ्नो विगतबाट प्रायश्चित गर्दै समाजमा पुनर्स्थापनाको लागि तिनै गैह्रकानूनी काम र अपराधको विरुद्धमा केही गर्न चाहन्छु भन्दै गर्दा त्यसका निम्ति प्रोत्साहन गरेको छु। त्यो पनि लुकेर होइन, सिंगो समाजलाई साक्षी राखेर। तर विडम्बना  ती विषयहरू समाचार बन्दैनन्। न म कहिले कुनै अपराधीलाई पार्टीमा भित्राउनु पर्छ भन्नेमा लागेको छु, न अपराधमा संलग्नलाई पार्टीले जोगाउन पर्छ भन्नेमा नै लागेको छु।

पार्टीभित्रका अनेकन अवसर गुम्छन् भन्ने थाहा हुँदा हुँदै पनि पार्टी भित्र र बाहिर मैले त्यस्ता गलत प्रवृत्तिका विरुद्ध उभिएको छु र उभिने छु। तर चरी र घैँटे जन्माउन र हुर्काउनुमा हाम्रो राजनीति र यसमा संलग्नहरूको कुनै न कुनै रुपमा दोष भएकोले म पनि आफूलाई यसकै हिस्सा ठान्छु र नैतिक रुपमा आफूलाई पनि जिम्मेवार ठान्दछु।

म एक राजनीतिकर्मी भएकोले मेरो हरेक कृयाकलाप खुला र पारदर्शी हुनुपर्छ। मेरोबाहिर एउटा र भित्र अर्को जीवनको पाटो छैन। आज एउटा घटनाबाट मेरो राजनीतिक आस्था, मेरो जीवनशैली, मेरा मुल्य मान्यता र मेरो विश्वास माथि गम्भिर प्रश्न उठाउने प्रयास गरिएको छ। अहिले भनेका वा भनिएका, उठाइएका र सार्वजनिक भएका यी धारणाहरू गलत छन् भन्ने कुरा समयक्रममा मेरो व्यवहारले नै प्रमाणित गर्दै जानेछ नै। तर आज चुनौतिका साथ भन्छु- मेरो कुनै पनि अपराधमा संलग्न व्यक्तिसँग कुनै पनि कालखण्डमा अनैतिक र अस्वभाविक सम्बन्ध रहेको, कुनैपनि अपराधमा संलग्नलाइ मैले राजनीतिक संरक्षण दिएको, कुनै खालको गैह्रकानूनी काममा मेरो संलग्नता रहेको छ भन्ने कसैले प्रमाणित गर्छ भने त्यही क्षण म यो राजनीतिक\सामाजिक जीवन नै छाड्न तयार छु।

मेरो कुरा प्रष्ट छ, घैटेहरूजस्तोबाट समाजलाइ मुक्त राख्नुपर्छ । घैटे र चरी बन्न र बनाउने कुरामा संलग्नता हुने,प्रोत्साहन गर्ने जोसुकै होस उ पनिकानूनको कठघरामा उभिनै पर्छ । यदि कुनै राजनीतिज्ञको उसँग संलग्नता छ र कुनै गैरकानूनी काममा संलग्न छ भने त्यो सहित प्रत्येक कुराको छानबीन हुनुपर्छ, मेरो पनि हुनुपर्छ। सबै कुरा आम नागरिकको बीचमा आउनुपर्छ। अब यो विषय उठिसकेको छ प्रत्येक कुरा टुङ्गोमा पुगोस्।

दोस्रो प्रश्न, के नेपाल प्रहरीले आफ्नो काम गर्न पाउदैन? 'इन्काउन्टर' गर्न पाउँदैन? गुण्डागर्दी कसरी नियन्त्रण गर्ने त? प्रहरीले घैटे, चरी जस्तोमान्छेलाई मार्दा तपाइँलाई के को आपत्ति?

नेपाल प्रहरीले काम गर्न गराउन पाउँछ। त्यो उसको दायित्व हो। नेपाल प्रहरी राज्यको बल प्रयोग गर्न पाउने वैद्यानिक निकाय हो। प्रहरीले त्यसैले हतियार बोकेर हिड्न पाउँछ र आवश्यकता अनुसार प्रयोग गर्न पनि पाउँछ। आफ्नो जीवनरक्षाको लागि हतियार प्रयोग गर्छ र भिडन्तमा प्रहरीको हातबाट कहिलेकाहिँ कसैको ज्यान जान पनि सक्छ। यदि यो घटनामा पनि त्यस्तै भएको हो भने यसलाई स्वभाविक घटनाको रुपमा नै लिनुपर्छ। त्यसैले यो घटनामा प्रहरीको नेतृत्व र गृहमन्त्रीले हामीलाई जे बताउनुभएको छ यदि त्यस्तै भएको हो भने ठिक छ। तर त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद भिमसेनदास प्रधान र स्थानीय जनताले जे भनिरहनुभएको छ त्यस्तो हो भने त्यो अत्यन्त गम्भिर विषय हो।

हो, म त्यही चासोले सत्य तथ्य बुझ्न अरु कोहीसँग होइन उनै भिमसेनदास प्रधानसँग राष्ट्रिय मानव अधिकार आयोग (NHRC) गएको थिएँ। यो घटनाको पृष्ठभूमिमा आयोग पनि जोडिएको, आयोगमा सुरक्षा मागेर निवेदन दिएको केही दिनमा घटना घटेको भन्ने कुरा सार्वजनिक भएको अवस्थामा न्याय माग्न होइन सत्य तथ्य बुझ्न आयोग गएको हुँ।

समाचार पढ्नुहोस्: ​ घैंटेको विषय लिएर गगन थापा पुगे मानव अधिकार आयोग


१ बर्ष अगाडि दिनेश अधिकारी 'चरी' मारिँदा होस वा युद्धको बेलामा दोरम्बामा विद्रोही मारिँदा होस्, शान्तिप्रकृया पछि शक्तिखोरमा लगेर रामहरी श्रेष्ठको हत्या हुँदा होस् वा हिरासतमा शिव पौडेलको हत्या हुँदा, डेकेन्द्र थापाको मुद्दामा होस् वा नन्दप्रसाद अधिकारी लगायतद्वन्द्व पीडितको न्यायको लडाइँमा, कानून विपरित भएका घटनामा प्रत्येक पटक मेरो चासो रहँदै आएको छ र सार्वजनिक गर्दै पनि आएको छु। कानूनलाई दुरुपयोग गरेर कोही पनि नागरिक अन्यायमा पर्नु हुँदैन भन्नेमा म हिजो पनि सचेत थिएँ र आज पनि छु।

चरीको हत्या पश्चात् केही सांसद साथीहरूले संसद अवरुद्ध गर्दा मैले सार्वजनिक रुपमा भनेको थिएँ- नेपालमा मृत्युदण्डको व्यवस्था छैन र संविधानभन्दा माथि पनि कोही छैन। कानूनले जे गर्न र जे नगर्न निश्चित गरेको छ सरकारका निकायहरू पनि त्यसै अनुसार चल्नुपर्छ र नागरिक पनि त्यसैअनुसार चल्नुपर्छ। यो बेलामा को व्यक्ति कस्तो थियो भन्ने आधारमा कुनै पनि घटनाको ‘जज’ गर्नु हुदैन। तर कसले किन कसरी हत्या गर्‍यो निष्कर्ष निकाल्ने अधिकार भने हामीलाई छैन। घटनाको निश्पक्ष छानबीन हुनुपर्छ र वास्तविकता जनताले थाहा पाउनुपर्छ।'
 
अहिले घटना घटेको सामाखुसी काठमाडौंको ६ नं क्षेत्रमा पर्छ, त्यो क्षेत्रको सांसदले सार्वजनिक क्षेत्रमा र संसदमा एउटा कुरा उठाउनु भएको छ- 'त्यो इन्काउन्टर होइन, गैह्रन्यायिक हत्या हो। मृतक कुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग (NHRC) मा जीवन रक्षाको लागि निवेदन दिएका थिए। आयोगले प्रहरीलाई सोध्यो ‘के तपाइँहरू उसलाई खोजिराख्नु भएको छ? श्रावण २७ गते प्रहरीले उत्तर पठायो 'कुमार श्रेष्ठलाई हामीले खोजिराखेका छैनौं।' 

२७ गते हामीले खोजेका छैनौँ भनेर आयोगलाई जवाफ पठाउने प्रहरीले भाद्र ७ गते प्रहरीले भने, ‘हामीले काठमाडौंको मस्ट वान्टेड सुचीमा रहेको गुण्डा नाइकेलाई इन्काउन्टरमा मार्‍यौं।' मलाई भिमसेन सरले गर्नुभएको अरु कुनै तर्कसँग सरोकार थिएन र छैन तर उहाँको यो तर्कले भने मलाई गम्भीर बनायो। छिमेक भारतमा गैह्रन्यायिक हत्या श्रृङ्खलाको केही अध्ययन गर्ने मौका पाएकोले स्वभाविक रुपमा मेरो मनमा पनि यही प्रश्न उव्जियो- कतै हामी गैह्रन्यायिक हत्याको डरलाग्दो अराजकतातर्फ त जादैछैनौं? यो कुराको सत्य तथ्य बुझ्ने निकाय आयोग मात्र थियो । 

आयोगसँग सत्यतथ्य नबुझिकन म कुनै धारणा बनाउन चहान्न थिएँ र त्यसकोलागि आयोगका अध्यक्षसँग प्रत्यक्ष भेटेर मात्र बुझ्न सकिन्छ भनेर आयोगले जानकारी गराएपछी भिमसेन सरसँग म आफै गएको हुँ। म कुनै निवेदन बोकेर न्याय माग्न गएको हैन। आयोगको अध्यक्षसँग सत्य तथ्य बुझ्न गएको हो। हामीसँगको भेटमा आयोगका अध्यक्षले माथि भिमसेन सरले भनेको जस्तै कुरा हामीलाई बताउनुभयो। यसको वास्तविकता जनताले थाहा पाउने कि नपाउने?

यस सन्दर्भमा मेरो कुरा प्रष्ट राख्न चाहन्छु। चरी र घैँटेहरू जन्मन नै दिनुहुन्न र जन्मिहाले भने हुर्काउनुहुन्न र यो समाजलाई चरी, घैँटेहरूबाट मुक्त गर्नुपर्छ भन्नेमा दुइमत छैन। राज्य, बर्दीधारी मात्र होइन कुनै पनि अपराधिकसमुह वा व्यक्तिको भयबाट नागरिक त्रसित हुने वातावरणको अन्त्य हुनैपर्छ। उसले कानून बमोजिम सजाय पाउनुपर्छ। कानून नभए बनाउनुपर्छ।

राजनीतिक हस्तक्षेपले गर्दा अपराधीले कुनै उन्मुक्ति पाइरहन्छन् भने कुनै राजनीतिक व्यक्ति वा संगठनले त्यस्तो गर्न नपाउने गरि कानून बनाउनु पर्छ। तर राज्य (मन्त्री\प्रहरी)ले हामी आफैसँग भएको कानूनको प्रयोगबाट अपराध र अपराधी नियन्त्रण हुँदैन भन्ने निष्कर्ष निकालेको हो भने यो एकदमै खतरनाक संकेत हो। कानूनसम्मत प्रकृयाबाट न्याय प्राप्त हुँदैन भन्ने निष्कर्षमा सरकार नै पुगेको हो भने आम नागरिकले यो राज्यव्यवस्था र न्याय प्रणालीमा किन विश्वास गर्ने?

तर पनि तपाइँ ठान्नुहुन्छ कि चरी र घैँटेहरुबाट समाजलाई मुक्त गराउन भन्दै गरिएको त्यो इन्काउन्टर वास्तविक नभएर फेक नै थियो भने पनि जायज हुन्छ। अनि प्रहरीलाई पनि न्यायिक प्रकृयामा गएर हुँदैन इन्काउन्टर नै विकल्प हो भन्ने लाग्छ र तपाइँ पनि हत्या गैरन्यायिक भएपनि ठिक हो नै भन्नु हुन्छ भने विनम्रतापूर्वक म तपाइँसँग आफ्नो असहमति राख्छु।

'अपराधिक कृयाकलापमा संलग्न व्यक्तिलाई दल र नेताहरूले संरक्षण गर्छन्, उनीहरूका कर्तुत ढाकछोप गर्छन् र कारबाही गर्न दिँदैनन्, राजनीतिक संरक्षणमा उनीहरू छुट्छन् र जनतालाई दुःख दिन्छन्। त्यसैले कारबाहीमा पुग्न प्रहरी वाध्य हुन्छ' भन्ने नाममा हामी कानून विपरितका कार्य गर्न प्रहरीलाई प्रोत्साहन गर्ने? कि त्यस्ता राजनीतिज्ञ र त्यस्तो प्रवृत्तिलाई रोक्न संयन्त्र बनाउने? कानून बनाउने त्यसको प्रयोग गर्ने कि कानून सानुन जे सुकै होस् हामीलाई परिणाम चाहियो भन्ने ? मेरो विचारमा हाम्रो यस्तो दोहोरो मापदण्ड सरासर गलत हो।
गलत मात्र होइन, एउटा संक्रमणमा रहेको लोकतन्त्रको लागि डरलाग्दो रोग हो।

समाजमा घैँटे, चरीजस्ता अपराधी छन् र यीनको हत्या गर्दा आममान्छे खुशी हुन्छन् भन्ने कुरालाई आधार भनाएर नियोजित ढङ्गले हत्या भएको हो भने त यो झन डरलाग्दो विषय हो। समाजमा गुण्डागर्दी, भ्रष्टाचारी, बलत्कारीप्रति ठुलो घृणा छ, त्यो स्वभाविक हो। आम मानिसहरू चाहन्छन्- यीनिहरूलाई कडा भन्दा कडा सजाय होस्। (संविधान सुझावको वेलामा समेतफाँसीको माग थियो ।) ख्याती श्रेष्ठको हत्या हुँदा पनि यस्तै कुरा उठेको थियो। तर समाजको यही मनोविज्ञान वुझेर प्रहरी संगठनभित्र लोकप्रियताका ला गिगैह्रन्यायिक हत्याको शुरुवात भएको हो भने कुनै पनि सभ्य समाजले यसलाई स्वीकार्न सक्दैन र गर्नु हुँदैन।

तेस्रो प्रश्न, तपाइँ यस्तो गलत विषयको पक्षमा बोल्ने ?

मलाइ विश्वास छ, म गलत विषयको पक्षमा उभिएको छैन। म घैटेको पक्षमा उभिएको होइन न त मलाई उभिनु नै छ। म एउटा इस्युको पक्षमा उभिएको छु। मेरो आस्थाको आधारभुत मान्यतामा दरोसँग उभिन सकिनँ भने मेरो अरु कुराको कुनै अर्थ रहदैन?  म मेरो ब्रम्हले सत्य देखेको पक्षमा सँधै उभिएको छु, एक्लै भए पनि बोलेको छु, जुन दिन त्यो गर्न छोड्छु त्यो दिन म नै रहँदिन र नरहन तयार छु।
 
मेरो मुद्दा प्रष्ट छ, गुण्डागर्दी र संगठित अपराधलाई निर्मुल गर्न राज्यको प्रहरी लगायत हर निकायले गर्ने प्रत्येक काममा सँगसँगै हिँड्ने छु। त्यही क्रममा नेपाल प्रहरीले भनेको जस्तो त्यो इन्काउन्टरमा भएको घटना थियो भने प्रहरीको पक्षमा उभिनेछु तर त्यो गैह्रन्यायिक हत्या हो तर पनि हत्या गुण्डाको भएकोले ठिक नै मान्नुपर्छ भन्ने कुरा हो भने त्यसमा चै मेरो सहमति छैन।

पुलिस इन्काउन्टरको रुपमा प्रख्यात गैह्र न्यायिक हत्या भनेको कुनै न्यायिक प्रकृया वा निर्देशन बिना राज्य वा यसका एजेन्टद्वारा मुडभेडका नाममा गरिने हत्या हो। गैह्रन्यायिक हत्या प्राय अपराधिक चरित्र भएका मानिएका व्यक्तिहरुप्रति लक्षित हुने गर्दछ। हाम्रो जस्तो सामाजिक परिवेश तथा संस्कारमा जहाँ न्यायिक प्रकृया प्रति जनताको विश्वास कम छ र प्रकृया भन्दा परिणामलाई महत्व दिइन्छ त्यहाँ यस्ता कार्यलाई सराहना गरिन्छ। न्यायिक प्रकृयाप्रतिको जनताको गुनासोको आडमा राज्यका निकायबाट हुने यस्ता कार्यलाई आम जनताले भारतमा पनि शुरुका दिनमा राम्रै लोकप्रियता हासिल गरेको हो। तर त्यसपछिको दिनमा अवस्था त्यस्तै रहेन।

राजनीतिक मान्छेहरूले प्रहरीको त्यही हतियारलाई आफ्नो विरोधीलाई सक्ने हतियारको रुपमा दुरुपयोग गर्न थाले। पछिल्लो समय गैह्र न्यायिक हत्या अराजक हुँदै संस्थागत र संस्कारको रुपमा देखा पर्न थालेपछि पहिला समर्थन गर्ने जनताबाटै यसको चर्को विरोध हुनथाल्यो। यसै सन्दर्भमा उच्च न्यायलयले सन २०१४ मा बढ्दो गैह्र न्यायिक हत्याको परिवेशमा प्रहरी प्रशासनलाई एक वाध्यकारी निर्देशिका नै जारी गरेको छ। उक्त निर्णयले हरेक नागरिकलाई सम्मानपुर्वक बाँच्न पाउनुपर्ने अधिकार र न्याय सम्बन्धि हकको महत्वलाई पुनर्स्थापित गरेको छ। कानूनी प्रकृया बिनाको भिजिलान्ते न्यायलाई समर्थन र प्रोत्साहन गर्नु कमजोर सामाजिक चेतना मात्र हो। आधुनिक सभ्य समाजमा यस्तो भिजिलान्ते न्यायले स्थान र प्रोत्साहन पाउनु हुँदैन भन्ने म ठान्दछु। अलोकप्रिय हुने डरले यस्ता गैह्र न्यायिक हत्यामा मौन रहनु जनताप्रतिको विश्वासघात हो।

जहाँसम्म राजनीतिक क्यारियरको कुरा छ, राजनीति करियर होइन जहाँ प्रत्येक पटक हिसाब किताब गरेर कुनै विषयको पक्ष वा विपक्षमा बोलिन्छ। कुनै कार्यक्रममा सहभागी हुँदा अञ्जानमा कोहीसँग कसैले खिचेको फोटो राखेर मेरो सम्बन्धको काल्पनिक कथा लेख्नेसँग मलाई कुनै प्रष्टिकरण दिनु छैन। बिहानदेखि साँझसम्म मेरो शिर्षक राखेर समाचार बेच्नेसँग पनि मलाई भन्नु केही छैन। म मलाइ माया गर्ने र मलाइ आशा र भरोसाले हेरिराख्नु भएका लाखौं मान्यवर र साथीहरूलाई भन्न चाहन्छु, मेरो मतदातालाई भन्न चाहन्छु- मेरो नैतिक धरातल कमजोर छैन, अञ्जानमा केही गल्ती भए होलान्, तर जानेर कुनै गलत काम वा प्रवृत्तिको पक्षमा लागेको छैन र लाग्दिन पनि।

त्यसैले म विनम्रतापुर्वक अनुरोध गर्दछु, मलाइ आफ्नो कुरा राम्रोसँग सम्प्रेषित गर्न नसक्दा तपाइँको भावनामा चोट पुगेको छ भने म क्षमा चाहन्छु। तर प्रष्टसँग दोहोर्‍याउन चाहन्छु, म एउटा लोकतन्त्रवादी हुँ, म राजनैतिक दलहरुको शुद्धता र राजनितिको पवित्रताको पक्षमा जति दृढताका साथ उभिन्छु, संस्थागत गुण्डागर्दीबाट समाजलाई मुक्त गराउन जति दृढताको साथमा उभिन्छु। जनताको लोकप्रिय मतको दुरुपयोग गरेर गरिने राज्यको गैह्र न्यायिक हत्या हो भने म त्यसको विपक्षमा पनि त्यतिनै दृढताका साथ उभिन्छु, मारिने जोसुकै किन नहोस्।

अन्त्यमा,
मलाइ थाहा छ, आजको माहोल यस्तो छ मैले जति कुरा भने पनि बहुसंख्यक मानिसहरू आज मेरो कुरासँग सहमत हुनु हुन्न तर फेरि पनि मेरो विश्वास यही नै हो- तपाई मसँग असहमत हुन सक्नु हुन्छ तर तपाइँको असहमत हुन पाउने कुराको लागि म जीवनभर लडिरहन्छु।

गगन थापाको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell