- सुभक महतो -
केही साताअघि रिपोर्टिङका लागि हामी लिपुलेक पुगेका थियौं। दार्चुला सदरमुकाम खलंगा बजार। खलंगा छेवैबाट बग्ने महाकाली नदी, जसले दुई देश नेपाल र भारतको सीमाना छुट्याएको छ। खलंगाबाट महाकाली नदीको किनारै किनारको बाटो हिँड्नुपर्छ लिपुलेक जानका लागि। तर, बाटो अत्यन्तै जीर्ण र जोखिमपूर्ण छ। अझ भनौं बर्खाको बेला यो बाटो हुँदै आफ्नै भूमि लिपुलेक पुग्ने सम्भावना लगभग छैन। र, त्यसको विकल्प हो भारतीय भूमिको बाटो । त्यसैले हामी पनि खलंगाबाट पुल हुँदै भारतको बाटो लाग्यौँ।
आफ्नै भूमि जान पनि अर्को विकल्प नभएकाले हामी दार्चुलाबाट भारतीय भूमि धार्चुला आइपुग्यौं। त्यो पनि, आफ्नो परिचय लुकाएर। कारण, हामी रिपोर्टिङका लागि लिपुलेक जाँदैछौं भन्ने थाहा भए भारतीय सुरक्षाकर्मीले जान दिनेवाला छैनन्। त्यसैले मानसरोवर यात्राको अनुमति पत्र लिएर धार्चुलाबाट जिप चढ्यौं र गर्वधार पुग्यौं। यहाँबाट सुरु भयो महाकाली नदी किनारै किनारको पैदल यात्रा। पारी नेपाली गाउँहरु पनि देखिन्छर। तर, नेपाली बाटोको दुर्गति सम्झँदै डरैडरमा यही बाटो हिँड्नु बाध्यता थियो हाम्रो।
महाकालीको किनारै किनार दिनभरि हिंडेपछि साँझ आठ बजे हामी बुँदी पुग्यौं र बुँदीमै बितायौं एक रात। हुन त यो भाग नेपालकै हो, यहाँका मानिसहरु पनि आफूलाई नेपाली नै भन्न रुचाउँछन्, र उनीहरु नेपाली भाषा नै बोल्छन्। तर के गर्नु, भूमि भारतीय पक्षको कब्जामा छ, नेपाल पक्षको कुनै उपस्थिति नै छैन। लिपु पुग्न अझै कति हिंडनुपर्छ, हामीलाई यकिन छैन। यद्यपि, उहीँसम्म पुगेर यथार्थ नियाल्ने अठोटका साथ दोस्रो दिन सबेरै हामी बुँदीबाट अघि बढ्यौं ।
महाकाली नदीको किनारमा हरेक ३ देखि ५ किलो मिटरको दुरीमा भारतीय सुरक्षाकर्मी बंकर बनाएर बसिरहेका छन्। हामीसँग भएको अनुमतिपत्र हरेक ठाउँमा भारतीय सेनालाई देखाउँदै र तीन पुस्ते ठेगाना टिपाउँदै अघि बढिरह्यौँ हामी। ठाउँ-ठाउँमा भारतीय सुरक्षाकर्मी र सिसीक्यामेराले बाटो हिँड्ने सबैलाई निगरानी गरिरहेका छन्। कसैले थोरै मात्र शंकास्पद् गतिविधि तथा क्यामेराले फोटो तथा दृश्य खिचेको थाहा पाए भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर सोधपुछ गरिहाल्छन्। तैपनि उनीहरुको आँखा छलेर थोरै थोरै दृश्य कैद गर्यौं हामीले।
यति डरैडरमा यसरी यात्रा गरिरहँदा र नेपालतर्फ सदरमुकाम खलंगाभन्दा माथि राज्यको कुनै उपस्थिति नदेख्दा आफ्नो देश सम्झेर दया लाग्दो रहेछ।
बुँदीबाट हामी छ्यालेक हुँदै गर्ब्याङ पुग्यौं। यहाँबाट एकातिर नेपालको ब्यास गाविसको छाङ्गरु बस्ती देखियो, र अर्कोतिर भारतले जबर्जस्ती कब्जामा लिएको कालापानी देखियो। नेपाली भूमिको आठ दश किलोमिटरसम्म भारतीय पक्षको कब्जामा देख्दा ननिको लाग्दो रहेछ। हुनत हामीले यात्राको क्रममा कयौं समय नेपाली भूमिमै थियौं तर भारतीय कब्जामा रहेको नेपाली भूमिमा असुरक्षित महसुस भैरहेको थियो। यात्राकै क्रममा जब हाम्रो बाटो महाकाली नदीको पुल हुँदै पुन नेपालतिरै मोडियो, त्यसपछि निकै सुरक्षित महसुस भयो।
सीतापुल दुई देशको सिमाना हो, तर यहाँ पनि रवाफ भारतीय सुरक्षाकर्मीकै छ। फोटो तथा दृश्य खिच्न यहाँ पनि रोक लगाएको छ भारतीय पक्षले। तैपनि हामीले उनीहरुको आँखा छलेरै मोबाइलमा कैद गर्यौं केही दृश्य। केही समय सीतापुलमा बिताएपछि छाङगरु हुँदै अघि बढ्यौं हामी।
र, पुग्यौँ तिंकर खोला। यही खोलाको किनारबाट माथितिर जानुपर्छ लिपु लेक पुग्न, तर यात्रा सहज छैन, ४ हजार मिटरभन्दा भाथिको उचाइतिर अघि बढ्दै गर्दा अप्ठेरो बाटो मात्रै होइन, ठाउँठाउँमा हिमपहिरोको सामना गर्नुपर्छ।
अर्कोदिन राति अबेर हामी तिंकर पुग्यौं जुन व्यास गाविसको अन्तिम गाउँ हो। दोश्रो रात तिंकरमा बिताएपछि तेस्रो दिन बिहानै फेरि केही स्थानीयको साथमा तिंकरबाट लिपुलेकतर्फ अघि बढ्यौं हामी। त्यसभन्दा माथि अत्यन्तै चिसो र हिउँ पर्ने ठाउँ भएका कारण तिंकर भन्दा माथि मानव बस्ती छैन। हामी जति जति माथि लाग्छौं त्यति नै श्वास फेर्न गाह्रो भइरहेको थियो। तर पनि हामीलाई लिपुलेकको यथार्थ रिपोर्टिङ गर्नुछ र जबर्जस्त भारतीयले कब्जामा लिन खोजेको देशको भुभाग आम नेपालीलाई देखाउनु छ।
हामी जति माथि लाग्दैछौं, दृश्य त्यति मनमोहक र यात्रा त्यति नै कष्टकर हुँदैछ। दृश्यहरु कैद गर्दै हामी नेपाल र चीनको सीमा क्षेत्र पुग्यौं। जोडजोडले चलेको हावा र चिसोले हाम्रो यात्रा थप कष्टकर बन्दै थियो।
आफनै माटोको साँध छुने लक्ष्य साधेर दार्चुला सदरमुकामबाट हिँडेको चौथो दिन हामी समुद्री सतहको करिब पाँच हजार मिटर बढी उचाइको माथिल्लो टाटामा पुग्यौँ। यो ठाउँ दार्चुलाको ब्यास गाविसको वडा नम्बर एक मै पर्छ।
लिपुलेक पुग्न अझै तीन घण्टाको पैदल यात्रा तय गर्नुपर्ने रहेछ। बलिया छिमेकीले गिद्धे नजर गाडेको हाम्रो आफनो आँगनको डिल पुगेर दृश्याँकन गर्नुछ। त्यही अभिलाषा बोकेर उक्लियौँ पठार क्षेत्र।
जति माथी उक्ल्यो उति सकसपूर्ण यात्रा। अक्सिजनको कमिले श्वास प्रश्वासमा निकै कठिन भयो। र पनि वारीपारी देखिने हाम्रै हिमालका अग्ला शिखरहरुले नआत्तिन भने जस्तै लाग्यो र पाइला अघि बढाउँदै गयौँ हामी।
कहिलेकाहीँ मात्रै हिउँ देख्दा रमाउने हामीलाई हिमपडाडमा उक्लिन ओर्लिन र फेरि तेर्सिन त्यति सजिलो छैन। यहाँबाट पारी पट्टी देखियो कालापानी। त्यो ठाउँ उहिल्यैदेखि दक्षिण छिमेकीले कब्जा गरेको छ। वारीवाटै हाम्रै भुमि हो भन्दै हेर्नु बाहेक अर्को विकल्प छैन।
यहाँबाट करिब एक घण्टामा पुगिन्छ सिमाको पिल्लर नम्बर एकमा जुन चीनसँगको साँधमा पर्छ।
अन्ततः आइपुग्यौँ हामी पिल्लर नम्बर एकमा। विक्रम सम्वत २०१८ मा चीनसँग साँध छुटटाएर गाडेको स्तम्भ हो यो। यो त्यही पहरेदार हो जस्ले बलियो चीनलाई नेपालतिरको एक पाइला नछुनु भन्दै खवरदारी गरिरहेछ।
तीब्र वेगमा हावा चलिरहेछ। लाग्छ कतिखेर आफैलाइ पनि पल्टाउला कि जस्तै। हर समय हिउँ परिरहन्छ। पर्दा पर्दैको हिउँलाई पनि उडाएर हावाले अर्कैतिर लगिदिन्छ। शरीरलाई दर्द भएपनि यहाँ आइपुग्दा मन ढक्क फुलेको छ। तर केही छैन सीमाको स्तम्भसँगै हाम्रो आस्थाको भगवान पनि यहीँ छन्। स्तम्भ सँगैको यो मन्दिर देख्दा लाग्छ हामीलाई कसैले हल्लाउन र डगाउन सक्दैन।
अक्सिजनको कमिले एक त बोली फुट्नै कठिन, अनि त्यसै माथि बोलेको कुरा बेगमा चलेको हावाका कारण दुरुस्तै क्यामेरासम्म पुग्दैन। यहाँबाट चीनको चाक्लाकोट बजार दुई घण्टाको पैदल दुरीमा पर्छ। व्यास गाविसका स्थानीयहरु आफ्नो दैनिक उपभोग्य वस्तुहरु यही बाटो भएर घोडा, खच्चर, चौरीको सहायतामा ल्याउँछन्।
यो साँधबाट लिपुलेक शुरु हुन्छ तर दुई बलिया छिमेकीहरुले ब्यापारिक नाकाको रुपमा सम्झौता गरेका ठाउँ पुग्न अझै उक्लिनुपर्छ नेपालको भाग हुँदै। हामी यहाँबाट अघि बढदैछौँ। उक्लिदै गर्दा निकै कठिन भैरहेको छ तर थाकेका छैनौ हामी।
अग्ला पहाड। मान्छे नै हुत्याउने हिउँसहितको तिब्र हावाको वेग सँगै अन्ततः हामी आइपुग्यौँ चीन र भारतले ब्यापारिक नाकाको रुपमा प्रयोग गर्ने केन्द्र भनेर सम्झौता गरेको ठाउँ। यहाँ उक्लिनु यात्राको सबैभन्दा कठिन क्षण थियो तर लक्ष्य साँधेर हिडेका हामीहरुको लागि त्यही समय महत्वपूर्ण र सुखद थियो।
भारत र चीनबीच यही भागलाई व्यापारिक नाका बनाउने सम्झौता भएको हो। यो नेपाली भूमि हो । तर यही भुमिको प्रयोग भैरहँदा हाम्रो देशलाई नसोध्ने छिमेकीहरुको दादागिरी सम्झिदाँ मनमा औडाहा भएर आउँछ।
हामी यही दृश्यको लागी ज्यान जोखिम मोलेर उक्लिएका थियौँ लिपुलेक। यो स्थानमा लामो समय ब्यतित गर्न सम्भावना रहेन किनकि चिसोले शरीरका अंगहरु कठयांग्रिदै थिए। र पनि कमजोर बन्दै गएको स्वास्थ्यको पर्वाह नगरेर दृश्याँकन गरिरहदा हिउसँगको तिव्र वेगमा चलेको हावाले हामीलाई असन्तुलित बनायो र लडयौँ हामी। लाग्यो यही समय अन्तिम हो। तर करिब सय मिटर तल जति पुगेर अडिए पछि फेरि सास आयो र ढुक्क बन्यौँ अब केही हुन्न भनी।
महतो एभिन्यूज टेलिभिजनका सम्वाददाता हुन्। लिपुलेक पुगेर गरेको उनको रिपोर्टिङ भर्खरै एभिन्युज टेलिभिजनमा प्रसारण भएको छ।