- जयसिंह महरा -
सुरेश दाइ सधै छोरा-छोरीको पढाइलाई लिएर चिन्तित हुनुहुन्छ र रातदिन गरी काममा खटिनुहुन्छ, कहिले बिहान सात बजे काममा जाने त कहिले राति दश बजे फर्किने उहाँको दैनिकी छ। केशब र नरेन्द्र अनि सञ्जयहरू त्रिचन्द्र क्याम्पसमा बिएस्सी पढिरा'छन् र पवन सर र म विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा पढ्दै छौं। हाम्रा आफ्ना-आफ्ना काम छन्। दिनभरि र थकान मेट्न यही मिनी नेपाल, सुरेश दाइको घरमा आउँछौं। दिनभरका थकान, तीता मीठा अनुभव बाड्छौं र एकअर्काका मीठा अनुभवमा हाँस्छौं र आफ्नो बनाउँछौं त्यो खुसीलाई, अनि कसैका तीता अनुभव भए मल्हमका शब्दले शितल पार्छौ र आइपरे साथ दिने बाचा गर्छौं, एक अर्कालाई।
वैशाख १२ गते भुइचालो गयो। म, पवन सर र सुरेश दाइ छोरा छोरीसँगै घरमै थियौं। केशव साढे एघारतिर बाहिर निस्केको थियो, अनि
नरेन्द्र र सञ्जय बिहानै क्याम्पस गएका थिए। भुइचालो गएपछि सुरुमा आ-आफ्नै चिन्ता भयो, जुन स्वभाविक हो। पछि केशव पनि आयो, तर सञ्जय र नरेन्द्र क्याम्पस गएकाले आएनन्। सयौं पटक फोन गर्दा नि लागेन। मोबाइलको पावर सकिएको थियो तै पनि पवन सरको ल्यापटपबाट मोबाइल चार्ज गरेर फोन गर्यौं। उनीहरूका साथीकाहाँ गयौं र सोधखोज गर्यौं। काठमाडौंमा सबैतिर तहसनहस भएको खबर आउँदा हामीलाई नरेन्द्र र सञ्जय सकुशल आइदिए हुन्थ्यो लागिरह्यो। पवन र केशवका अनुहारमा पनि त्यै चिन्ता थियो, जुन मेरोमा थियो। र उनीहरू सकुशल आएपछि मात्र हाम्रा मुहार उज्याला भए।
भूकम्पपछिका केही दिन हाम्रा ग्यास चुलाहरूमा संयुक्त खाना पाक्यो। थारु, क्षेत्री र बाहुन हामीले एक-अर्काले खाएका जुठा थाल धोयौं र
एकअर्काका ढाडसले रात काट्यौं, एकअर्कालाई अँगालो मारेर। भुइचालोमा परेर यतिका मृत्यु, यतिका घाइते भन्ने भन्ने समाचार आउँदा हामी सबैका मन उत्तिकै रोए र भूकम्पमा परेर घरभित्र रहेकाका उद्धार गरिँदा हर्षले गदगद हुन्थ्यौं। त्यो पीडामा कुनै जात र कुनै दल विशेष भएर पीडा धेरै र थोरै हुन्थेन। नेपालीलाई दुख्दा तड्पिन्थ्यौं र खुसी हुँदा हामी पनि हास्थ्यौं। ती पीडा जातीय आँशु र हाँसोमा जातीय खित्का हुन्थेनन्, त्यहाँ केवल पीडा र खुसी थिए।
देशमा हुने उथलपुथलबारे हामी खुला मनले कुरा गर्छौ। आफ्ना आफ्ना धारणा राख्छौं, नेपाली भएर। हामीबीच देशमा भैरहेका विषयलाई लिएर लामा बहस हुन्छन् तर कहिल्यै पनि र कोही पनि ठुस्किने गरेका छैनौं। हामी खुलम् ला भन्छौं, गत संविधानसभाको चुनावमा मैले फलानो पार्टीलाई भोट हालेको तै पनि हामी त्यसैको आधारमा कलह गरिहाल्दैनौं। नेपालका नेताहरू स-साना कुरामा पनि झगडिने र एकअर्कालाई हिलाम्मे पार्ने र अन्तिममा कोही पनि सफा नरहने अवस्था देख्दा थारु, बाहुन र क्षेत्री सबैलाई उत्तिकै दुखेको अनुहारमा प्रस्ट देख्छु।
देशको बिग्रँदो अवस्थाले हामी सबैलाई उत्तिकै दुख्ने गरेको छ। बाहुनलाई थोरै, क्षेत्रीलाई अलि बढी, थारु र नेवारलाई धेरै दुख्छ जस्तो
लाग्दैन। नेताहरूसँग हुने कलहले हाम्रो भविष्य समानरुपले पछि परिरहेको छ। तर नेपालका नेताहरू कसैको छाला, कसैको चुच्चो नाक त कसैका नाम पछिको लुर्को यानि थर हेरेर हाम्रा समुदायलाई फुटाइरहेका छन्। तिनीहरू आफ्ना निजी स्वार्थका लागि हाम्रा नाम लिएर कराइरहेका छन्, व्यर्थको लडाइँ लडिरहेका छन् र सायद जितिरहेका पनि होलान तर हामीहरू भने दिनदिनै हारिरहेको महसुस गरिरहेका छौं।
हामी के मा प्रस्ट छौं भने यसरी प्रत्येक जात अनुसार देशलाई टुक्राटुक्रा पार्ने हो र कसैले 'मलाई राज्य दे' भन्दै आन्दोलन गरेकै भरमा केही जिल्लाका टुक्रा दिने हो भने देश टापु टापु जस्तो हुनेछ र नेपाल भन्ने देश थियो भन्ने किंवदन्ती हाम्रै पालामा जारी हुनेछ। हामी नेपाली नेपाली रहनेछैनौं न त हाम्रा राज्य नै रहनेछ। त्यतिबेला हामीलाई थाप्लामा हात राखेर आजका हामी जनता र हाम्रा यीं नेताहरूलाई सराप्नु बाहेक अर्को विकल्प केही हुनेछैन। हामीलाई वर्तमानले देखाइरहेको भविष्यको भुतले समान रुपमा सताइरहेको छ।
कैलालीको टिकापुरमा एउटा अबोध बालकसहित आठजना प्रहरीको विभत्स हत्या भयो। हत्या गर्नेले थारु समुदायको खोल ओढेका थिए, र
केही प्रहरी र एउटा अबोधलाई मारेकामा उनीहरूले जीत महसुस गरे होलान भन्यौं। तर त्यै ठाउँमा घर भएका भाइहरू सञ्जय र नरेन्द्र चौधरीका
मुहारमा तनाव मात्र थियो र ग्लानी पनि। हामी पहाडीमा ती भाइहरूप्रति कुनै रोष थिएन र छैन पनि, छ त तिनका तड्पेका मनसँगै तड्पिने मन अनि सान्त्वना र मायाका केही शब्द। हामीले त्यस घटना भएकोमा रसाएका आँखा र छटपटाएका मनलाई सान्त्वना दिएका छौं।
हामीलाई थाहा छ रामजनम चौधरी, भीम रावल, लेखराज भट्ट, शेरबहादुर देउवा नामका नेताहरूका प्रतिष्ठाका लडाइका कारण गरिबी, रोग, भोक र शोकले ग्रस्त सुदुरपश्चिमको भूमिमा रगतका खोला बग्यो र त्यसभन्दा बढी सदियौंदेखि मिलेर बसेका मनमा आगो लगउने काम भयो। हिजो चिसो चुल्हामा आगो सल्काउन र घरमा तापको सञ्चार गर्न, जीवन ल्याउन काम लाग्ने छिमेकी आज तिनै घरमा आगो सल्काउन उचालिइएका छन्। संविधान नामक खोस्टाका लागि सदियौंका सम्बन्धमा चिराचिरा पार्न लागेका छन्।