PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

​बाग्लुङ टुक्र्याएको विरोधमा फेरि चर्कियो आन्दोलन



​बाग्लुङ टुक्र्याएको विरोधमा फेरि चर्कियो आन्दोलन
श्रोत: ebaglung.com

बागलुङ:  दलहरुले ६ प्रदेशको सीमांकनको खाका ल्याउँदा बाग्लुङ जिल्ला टुक्र्याएर प्रदेश नम्बर ४ र ५ मा पारिएको थियो।

त्यसको विरोधमा भोलिपल्टैदेखि जिल्ला सदरमुकाम लगायतका बजार क्षेत्रमा आन्दोलन चर्कियो। सभासद र काठमाडौंमा बसोबार गर्ने बाग्लुङवासीले शीर्ष नेताहरुलाई दबाब दिए। शीर्ष नेताहरुले जिल्ला नटुक्याउने प्रतिवद्धता जनाएपछि आन्‍दोलन रोके।

तर बाग्लुङवासीले फेरि आन्दोलन सुरु गरे। दलहरुले ७ प्रदेशको सीमांकनमा पनि बाग्लुङ जिल्लालाई टुक्रयाएपछि फेरि आन्दोलन सुरु भएको हो। मङ्गलबारदेखि सुरु भएको अनिश्चितकालीन बागलुङ बन्दका कारण जनजीवन ठप्प बनेको छ।

बजार, कलकारखाना, यातायात, विद्यालय, सङ्घसंस्था, कार्यालय सबै बन्द छन्। सरकारी कार्यालयहरु सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही छैनन्। आयात ठप्प हुँदा बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ। 

अघिल्लो छ प्रदेशको प्रस्तावमै विभाजित बनेको बागलुङ पछिल्लो सीमाङ्कनमा झन् धेरै भू–भागसहित विभाजित बनेपछि जिल्लावासी आन्दोलित बनेका हुन्। सदरमुकामदेखि जिल्लाका प्रमुख व्यापारिक केन्द्र गलकोट, बुर्तिवाङ, कुश्मिसेरा, खरवाङलगायतका क्षेत्रमा बन्दले जनजीवन प्रभावित छ। गलकोटमा छुट्टै तवरबाट पनि अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ। 

जिल्लास्थित राजनीतिक दलको नेतृत्वमा गठित आन्दोलन परिचालन समितिले आन्दोलन चर्काएको हो। बिहीबार महिलाले एकीकृत बागलुङको पक्षमा प्रदर्शन गरेका थिए। उनीहरुले रित्तो थाल र घरेलु भाँडाकुँडा बजाउँदै चर्को नाराबाजी गरेका थिए। बागलुङ विभाजन गर्ने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने आन्दोलन परिचालन समितिमा रहेका दलहरुले जनाएका छन्। 

जिल्लामा क्रियाशील सबै दलहरुले आन्दोलनमा समर्थन जनाएका छन्। बिनाआधार र कारण गरिएको जिल्ला टुक्र्याउने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए। उनले बागलुङलाई अखण्ड राखेर प्रदेश नं ४ मा समेट्नुपर्ने बताए। 

प्रमुख दलका शीर्ष नेतृत्वले धोका दिएको उल्लेख गर्दै उनले जिल्ला नटुक्र्याउने आश्वासन दिएका नेताहरुले बागलुङमाथि खेलबाड गरेको आरोप लगाए। अघिल्लो छ प्रदेशको प्रस्तावमा जिल्ला टुक्र्याउने निर्णयको चौतर्फी विरोध भएपछि प्रमुख दलका शीर्ष नेतृत्वले बागलुङ नटुक्र्याउने आश्वासन दिएका थिए। पछिल्लो सात प्रदेशको सीमाङ्कनमा बागलुङबारे कुनै निर्णय नभएपछि आन्दोलनमा जानुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell