PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

म उफ्रने नेताहरुलाई भन्न चाहन्छु कुन अधिकार चाहियो भन्नुस्!



म उफ्रने नेताहरुलाई भन्न चाहन्छु कुन अधिकार चाहियो भन्नुस्!

  • केपी शर्मा ओली- 
संविधान बन्ने भयो भनेपछि यहाँ केहीलाई धेरै छटपटी भएको छ। जुकाको मुखमा अमिलो लगाएपछि बुरुक-बुरुक गर्छ। त्यस्तै संविधान बन्न आँट्यो भनेपछि त्यस्तै छटपटी अहिले धैरैलाई भएको छ।

संविधानसभाले दिएको समय अनुसार भोलि संशोधन पेश गर्नैपर्छ। र, पर्सिदेखि निकट भविष्यमा संविधान कसरी जारी गर्न सकिन्छ त्यसमा हामी लाग्दैछौँ। यो चुनौतिपूर्ण कार्य छ। नेपाल जस्तो १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी, हिमाल, पहाड र तराई अनि पूर्व र पश्चिम भएको ठाउँ छ।

एउटा बूढाका दुई छोरी रहेछन्। एउटाले 'घाम चाहियो बा' भन्दिरैछिन् अनि अर्कीले 'पानी चाहियो बा' भन्दिरैछिन्। अनि बूढा भन्दारहेछन्-

दुई वटा छोरी हुँदा त जेठी भन्छे घाम, कान्छी भन्छे पानी
कान्छी भन्छे पानी, जेठी भन्छे घाम,
म एउटा बूढो कतातिर जाम?

दुई वटा मात्र छोरी हुँदा यस्तो हुन्छ। नेपालमा त २ करोड ८५ लाख जनता भएको ठाउँमा विभिन्न स्वार्थ त हुने नै भए। अलिअलि टकराव पनि हुनै नै भयो। अलि कोही बुझेर अनि कोही अलि नबुझेर आन्दोलनमा लागेका छन्।

अर्को थरि के निहुँ पाउँ कनिका चपाउँ भनेर बसेका छन्। मधेश चाहियो भने लौ भनियो। नागरिकता चाहियो भने ल त्यही हुन्छ भनियो। अहिले अनि के चाहियो भन्दा - के चाहियो के चाहियो? बल गरेका छन्, कराएका छन्, उफ्रेका छन्, मुख छाडेका छन्। 'हामी मधेशीहरु अधिकार पाएनौँ' अधिकारका लागि लड्छौँ, भनेका छन्।

कुन अधिकार चाहियो? म त्यो उफ्रने नेताहरुलाई भन्न चाहन्छु कुन अधिकार चाहियो भन्नुस्! भोलिको संशोधनमा हाल्दिन्छु, कुन-कुन अधिकार चाहियो?

उहाँहरुको माग छ - आगो लगाउन, तोडफोड गर्न, मान्छे मार्न पाउनुपर्छ। अनि पुलिसले छेक्यो भने पुलिसले छेक्न पाइन्छ भन्ने? जनताविरुद्ध पुलिस प्रयोग गर्न पाइन्छ? आगो लगाउन नदिने हामीलाई! मान्छे मार्न नदिने हामीलाई! यस्तो भन्नुहुन्छ।

माग के हो? भन्दा केही पनि छैन।
आगो किन लगाउने?
बन्द किन गरेको?   


तराईका केही जमिन्दारका लागि जमिन्दारी फुस्केला भन्ने त्यही डर छ। गरिबलाई थिचेर जमिन्दारी चलाएकाहरुको त लोकतान्त्रिक संविधानले खोसिदिने भयो। त्यसपछि त मधेशी जनताले अधिकार पाएनन् रे? ल त्यसो भए भन्नुस् न त पहाडे ले के पाए? मधेशीले के पाए? कुन अधिकार मधेशीले पाएनन्? मधेशीले यो यो नपाउने, पहाडेले पाउने कहाँनेर छ?

यस्तो साम्प्रदायिकता आजको नेपालको राजनीतिले गर्दैन। मधेशी र पहाडी भनेर जनतामा विभेद गर्दैन। जनतालाई अधिकारमा, अवसरमा विभेद गर्दैन। सुरक्षामा विभेद गर्दैन। सम्मानमा विभेद गर्दैन। उत्तिकै अवसर, उत्तिकै अधिकार र बराबरी सम्मानका साथ जानुपर्छ।
तर विभिन्न कटुता पैदा गरेर जान खोजिएको छ। हामी सबैले एक अर्कालाई माया गरेर सहयोग गरेर हामी सबै मिलेर आधुनिक नेपाल, विकसित, समृद्ध नेपाल बनाउनुछ।

यहाँ साम्प्रदायिकताको खेती, कटुताको खेती भएको छ। तर यहाँ चर्का कुरा गर्नेहरुको चल्ने छैन।

तराईमा आन्दोलन भन्ने छ। चार जना ढुङ्गा हान्न गयो भने के त्यो आन्दोलन हुन्छ? तराईमा कुनै आन्दोलन छैन। केही केही जनतामा भड्काइएका भावनाहरु छन्। त्यसलाई दुरुपयोग गरेर केही तत्वहरुले संविधान निर्माणको वातावरण बिगार्न खोजेका छन्।

यस्तो अवस्थामा नेपाली समाजमा सद्भाव र एकता कायम राखिन्छ। सम्पूर्ण रुपमा समानता प्रत्याभूत गरिन्छ र मिलेर नेपाललाई अगाडि बढाउने त्यो बाटो नेपालीले समाउँछ। केही-केही तत्वको स्वार्थको खेलबाट हामी जोगिनुपर्छ।
 
(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा राखेको मन्तव्यको संक्षिप्त अंश)

  भिडियो हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell