
- भुवन पौडेल-
जन्मदिनको शुभकामना !
.....शुभकामना !!!
‘इनबक्स’ यस्तै सन्देशहरूले भरिएको थियो।
फेसबुकको ‘वाल’ हेर्न मन लाग्यो, पहिलो खण्डमा करिब सयभन्दा धेरै शुभकामना पोस्ट देखेँ। मनमा आनन्दका केही छिटाहरु ठोक्किए, सायद बाँकी रहेका अपेक्षा सलबलाए। निश्चित प्रयः भएपनि आसेमनुवा न परेँ, सम्भावनाको अन्तिम विकल्पमा फेसबुक हेरेँ। आएको छैन।
कस्तो आशा, कस्तो अपेक्षा?
आधार नहुँदा पनि किन दोहोरिइ रहन्छ?
फागुन २ गते अर्थात फेब्रुअरी १४ को जन्मदिन। फेसबुक सबै जन्मदिनले रंगिएको रहेछ। दुई वर्ष अघिसम्म मित्रहरूबाट गतल मितिमा शुभकामना आउँथे। नागरिकता (फागुन २१ गते अर्थात मार्च ४) नै वास्तबिक थियो। यसपटक भने वास्तबिक दिन आएका थिए।
जन्मदिन अनावश्यक खर्चका लागि सिर्जना गरिएको चाड लाग्ने भएपनि ती पोस्टहरुले केही सकरात्मक सन्देश दिए, एकले अर्कोलाई दीर्घ जीवनको कामना गर्नु राम्रै रैछ।
घरमा जन्मदिनलाई चाड मानिदैनथ्यो। बुबा आमासँग पनि वास्तबिक जन्ममिति सोधेको थिइनँ। त्यसैले मेरा लागि जन्मदिनको महत्व भनेको शून्य लाग्थ्यो, कानुनी प्रक्रियाका लागि नागरिकता बनेकै थियो।
स्कुल र कलेज बिदा हुने हुँदा विशेष दिन मात्र याद थियो, वुद्धजयन्ती, पृथ्वीजयन्ती। जीवन सुरु भएको साढे दुई दशकपछि एकाएक जन्मदिन सकरात्मक लाग्न थाल्यो, जन्मदिनको औपचारिक शुभकामना आउन थालेपछि नै हो।
‘बर्थ डे’ जुनसुकै देश, सामाज र धर्मको संस्कृतिमा भए पनि हाम्रो समाजमा पनि बलियो गरी स्थापित भएको छ। यो समाजबाट म टाढा हुन सक्ने कुरै भएन। ढिलो र चाँडो भन्ने मात्र हो। मनमा आशा भए पनि मस्तिष्कले सन्देश नआउने संकेत गरेको थियो, तर, जन्मदिनको ‘विस’ गर्न सिकाएको सम्बन्ध सजिलै नचुडिने आशाले फेसबुक लग इन भएको हुनु पर्छ।
अपरिचित व्यक्ति, ठूलो आँटपछि सुरु भएको वर्तालाप केही झागिँदै जाँदा यस्ता प्रश्नहरु आए-
तपाईंको बर्थ डे कहिले?
- नागरिकताको अनुसार फागुन २१ गते।
वास्तविक हो?
- खै मलार्ई थाहा भएको त्यही हो। (बल्ल थाहा भो, जन्ममिति पनि फरक–फरक हुँदो रहेछ।)
एक पटक निश्चित गर्नुस् न।
त्यो छोटो कुराकानीपछि आमालार्ई फोन गरेँ।
-हेलो !
- आमा, म शिव कान्छो।
- ए....बाबु आराम छस्?
- हजुर आमा, मेरो जन्ममिति कुन साल हो ?
-किन चाहियो अहिले बेला न कुबेला?
- चाहियो के भन्नु न !
- म अहिले खेतमा छु, भरे भने हुँदैन?
-हुन्छ।
अपरिचित व्यक्तिले सोधे कै भरमा किन चाहिएको होला जन्मदिन? भावात्मक सम्बन्ध विकास भएको त होइन? यस्तो सम्बन्धमा जन्मदिनका कुरा किन चाहिएको होला? मलार्ई थाहा थिएन, सम्बन्धले भने गहिराइ बढाउदै गएको रहेछ, गम्भीर हुँदै गएको सम्बन्धमा पो यस्ता कुरा आउँदा रहेछन्। सम्बन्धको रापले मलार्ई राम्रै तताएछ, आमाको हालखबर नसोधी फोन राखेछु।
साँझपख आमाको फोन आयो।
-हेलो !
आमाको करुणामयी स्वरु गुन्जियो, ‘के गर्दै छस बाबु शिवे?’
‘तपाईंलाई पर्खेको थिएँ।’
‘बैनीले चिना हेरेकी, २ गते रै’छ’
आमाको फोन काँटे, अर्को नम्बर डायल गरेँ।
कर्णप्रिय सुमधुर स्वर आयो- हेलो !
- फागुन २ गते !
प्रतिउत्तर थियो- यो वर्षको त गैसकेछ नि !
- हवस।
फोन बन्द भयो।
सच्चिएको मेरो जन्मदिन, अर्को वर्षको फागुन २ गते पो भयो। त्यो दिन के हुन्छ? आतुरता बढ्यो। सम्बन्धले अनेकौं उकालीओराली पार गर्दै फागुन आयो।
दुई गते सबेरै सन्देश आयो- “मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे, विस यू अ भेरी ह्याप्पी वर्थ डे !”
- मैले यो चाड मनाउदिन नि !
- किन ?
धेरै कमाइ भएकाले खर्च गर्ने शिर्षकमा विविधीकरण गरेका हुन् भन्ने लाग्छ, कमाइ थोरै छ। तर्कविर्तक केही समय चलिरह्यो। शाब्दिक अर्थमा बुझाएँ आफूलाई। तर भावनामा सकिनँ। ऊप्रतिको झुकाइले बडादसैंभन्दा पनि जन्मदिन रमाइलो बन्यो। उसले विषलार्ई अमृत भन्दा मैले हो भन्ने अवस्थामा पुग्ने निश्चित भयो। उनले गरेका ठट्टा जीवन उपयोगी दर्शन बन्न थाले। एउटा सन्देशका लागि वर्ष कुर्नुपर्ने, हतार भयो। एक वर्षमा फागुन दुई पटक भइदिए !
२८ वर्षसम्ममा औपचारिक जन्मदिन शुभकामना दुईपटक मात्र पाएँ। त्यो पनि भावनाको सम्बन्धको उपजको रूपमा। सम्बन्धले विट मारे–नमारेको दोधार थियो, तै पनि तेस्रो शुभकामना पर्खेको थिएँ। बुबा आमाले समेत बिर्सेको जन्मदिन पत्ता लगाएको सम्बन्ध हो, सजिलै सकिँदैन, आनेउछ सन्देश मिसिएको शुभकामना !
केही औपचारिक सन्देश आए। नित्यकर्म पूरा गरी मन्दिर गएँ। सम्बन्धमा जोडिन आएकी मायामयी नारीको सल्लाह पाएको हुनाले गर्नै पर्यो। दिनको करिब दुई बज्यो। सन्देश पर्खेकै छु। उनै सल्लाहाकार बहिनीले भेट्न बोलाइन्। ‘मान्छेका रंग’ पुस्तक उपहार दिइन्।
पुस्तक दिँदै भनिन्, “जन्मदिनको शुभकामना !”
- धन्यवाद !
पुस्तक वल्टाइपल्टाइ हेरेँ र ब्यागमा राखेँ।
संसार भुलेर एक सन्देशका लागि तड्पेको म। सायद सन्देश जति प्राथमिकतामा आफ्नै शरीर थिएन।
जन्मदिनहरु बित्दै गए।
मन पनि अँध्यरो हुँदै गयो। मनमा अनेक तरगंहरू ठोक्किन थाले। किनभने सन्देश आएन।
एक सन्देशले संसार अँध्यारो बनायो। रातभर पर्खेँ, आएन। भोलिपल्ट पनि ‘बि लेटेड’ भनेर आउने आशा उत्तिकै जीवित रह्यो। तर आएन। ढिलै भए पनि आउँन सक्छ भन्ने लागिरह्यो। आउँदै आएन !
सन्देश नआएपछि आफैंमा रमाउने प्रयास गरेँ, आँखा चिम्लेँ, स्वयम्लार्ई अँगालो मारेको कल्पना गरेँ।
जन्मदिनको धेरै धेरै शुभकामना भनेँ। एउटा सन्देश नआएर के भयो? आफैंलाई अँगालो मारेको थिइनँ, साच्चिकै आनन्द आयो। त्यो क्षण लामो समयपछि भेटिएका प्रेम जोडीले गरेको अंकमाल भन्दा कम न्यानो थिएन। तर, कल्पना न थियो, लामो समय रहन सकेन। आफैंमा रमाउनु एक पगलपन थियो।
फेरि सन्देश कै अभाव दोहोरियो। अँध्यारो भएको आकासमा कालो बादल मडारियो। मनको आकासको बादल ठोक्किँदा आँखाबाट आँसुको वर्षा सुरु भयो। जति दिन बित्दै थियो, विचलित हुने मिटर पनि बढ्दै थियो।
जन्मदिनको महिनौ बितिसक्दा पनि प्राप्त नभएपछि, लाग्यो आखिर चाडको अर्थ सम्बन्धमा हुने रै’छ।
सम्बन्ध संकटमा भएकाले चाड पनि त्यही बाटोमा लाग्यो। बच्चाका लागि दसैं थुनिँदा भन्दा धेरै दुख्यो।
त्यो अभाव मुटुमा लाग्यो। जुन पीडा अझै जीवित छ। नयाँ चाड सुरु भएपनि महसुस गर्न नपाउँदै सकियो।
बिबाह भएको पहिलो वर्ष नै पतिबिहीन भएकी नारी जस्तै महसुस भयो। रंग परिवर्तन गर्नु सम्बन्धको अपमान हो। हरेक जन्मदिनमा आफैले दिने अमूल्य आँसुका थोपा उपहार स्वीकार गर्न बाध्य बनाएको छ।
अपेक्षामा एक सन्देश न थियो। पर्खाइमा बितेका रात, भिजेका आँखाले त्यो दिन पुनः कुरेका छन्। वर्षको एक दिन सधैं अँध्यारो बनाउने संकल्प गरेको छ। भावनाको सम्बन्धमा एक सन्देशले जिन्दगीको मोड नै बदलदियो। हरेक फागुन २ गते होली नै परे पनि कुनै रंग नमिल्ने बनायो।
घर बाहिरबाट चर्के आवज आयो, “शिव भाइ के गर्दै हुनुहुन्छ?”
झस्किएँ।
हजुर ! भन्दै बाहिर निस्केँ।
- ए, आन्टी पो। म त तर्सेको नि !
- के गर्दै हुनुथ्यो भाइ?
- त्यतिकै बसेको मात्र थिए,
- ए हो?
आन्टी आफ्नो बाटो लाग्नु भयो।
‘नोस्ट्याल्जिक’ भएछु। सन्देश नआउँदैमा यति सारो दुःखी हुन हुँदैन भन्दै ऐना हेरेँ। अनुहार रातो भएको थियो। आँखाले केही खोजेको प्रष्ट देखिन्थ्यो। आज करिब ७ महिनापछि पनि सन्देशले सिर्जना गरेको अभाव आज पनि रै’छ, किन दोहोरियो होला त्यो?
अगाडिको भित्तेपात्रमा भदौ महिना पल्टिएको रहेछ।
भदौ पो !
यसैले विगत सम्झाएको रै’छ, २४ गते उनको जन्मदिन पो हो।
बितेका वर्षमा पठाएका जन्मदिनका शुभकामनालाई निरन्तरता दिने कि नदिने भनेर सोचेँ। सबै सम्बन्धमा ‘एक्सचेन्ज’ नै गर्नुपर्छ र?
मैले पाउँछु भन्दा पनि दिने अपेक्षामा सम्बन्ध अघि बढाएको थिएँ। लिनभन्दा दिन सजिलो लाग्छ। त्यसैले लाग्यो राम्रो शुभकामना सन्देश पठाउँछु। दिन्छु शुभकामना !
शुभकामना ! शुभकामना! शुभकामना !
प्रिय तिमीले आज २३ औँ बसन्त पूरा गरेकोमा शुभकामना !
यसपटक, अंग्रेजी तारिक सेप्टेम्बर ९ र नेपाली भदौ २४ एकै दिन परेनछ, दुबै दिनको शुभकामना !
यी दिन सधैं दोहोरी रहुन्, अनगन्ती स्रोतबाट आएको प्रकाशले तिम्रो जिन्दगी रंगिन बनोस्, उज्यालोमा रमाओेस्, यो खुसीको क्षणले तिमीलार्ई अझै बलियो र सफल बनाउनेछ भन्ने आशा गरेको छु। मेलै अरुको लागि दिने वार्षिक एउटा शुभकामना तिमीलार्ई मात्र होस्, जसले जन्मदिनको ‘विस’ गर्न सिकायौ। वास्तविकता लुकाउन सकेपनि बिर्सन सक्दिनँ, तिमीले जन्मदिनको शुभकामना बाँड्ने धरालत देखाएकी हौ।
मेरो जन्मदिनको स्कुल बिर्सन सक्दिनँ, आफ्नो स्कुलको जन्मदिनको शुभकामना दिन उत्साहित छु। मेरो शुभकामनाले खाली रहेको केही अंश भर्न मद्दत गर्नेछ, सफलताका लागि आत्मबल मिल्नेछ।
म विश्वास गर्न सक्दिन, कति भाग्यमानी रहेछु, जसले भविष्य वर्तमानमा देख्छ, त्यो व्यक्तिसँग छोटो समय भए पनि संगतमा रहेँ। मलार्ई आशा छ, यो जन्मदिनको शुभकामना वास्तविकतामा परिवर्तन हुनेछन्।
जन्मदिनको धेरै–धेरै शुभकामना !
शुभकामना !
शुभकामना !!