PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​राजनीतिमा डनवाद : जो चोर उसैको ठूलो स्वर



​राजनीतिमा डनवाद : जो चोर उसैको ठूलो स्वर

  • सुभाषचन्द्र देवकोटा -
सबै मलाई चोर भन्छन् तिमी पनि भन्छौ
तर किन चोर भयौ  भनि सोध्दैनौ।
यो चर्चित गीत २०३६/०३७ साल तिर त्यसबेलाका जनकलाकारहरुले गाउँथे। यस मार्मिक गीत सुनेर हामी भावुक हुन्थ्यौं र सोच्थ्यौ जब जनताले रोजेको शासन व्यवस्था आउने छ अनि मान्छेलाई चोर बनाउने, मान्छेलाई गुण्डा बनाउने समाज पनि बदलिनेछ। गरिबी र उत्पीडनका कारण कोही मान्छे चोर बन्ने छैन, कोही मान्छेलाई गुण्डा बनाइने छैन। तर दशकौं बित्यो, देशले दुई दुईवटा राजनीति परवर्तनको अनुभव गरिसक्यो। व्यवस्थाहरु परिवर्तन भए तर समाज उस्तै छ, समाज परिवर्तन गर्ने कसम खाएका नेताहरु उस्तै छन्। अभाव र दरिद्रतामा हुर्केका कुमार श्रेष्ठहरु, दिनेश अधिकारीहरु घैटे र चरीको नाममा प्रहरीको इन्काउन्टरमा गोली खाइरहेकै छन्।

जन्मदैमा कोही पनि मान्छे असल र खराव भएर जन्मिँदैन। असल र खराव त ऊ हुर्केको समाज, राजनीतिक परिवेश र उसले संगत गरेको मान्छेहरुको कारण बन्ने हो। सबैलाई थाह छ कालिदास पनि मूर्ख थिए, तर असल मान्छेकै संगतका कारण जीवनको उत्तरार्धमा पुग्दा संस्कृतका धुरन्धर कविको रुपमा आफ्नो परिचय बनाउन सफल भए। कुनै वेलाको व्याधा भनेर चिनिएका रत्नाकर डाँकु नारद ऋषिको संत्सगमा आाए पछि  वाल्मिकी ऋषिका नामले प्रसिद्ध मात्र भएनन् कालजयी रामायणको रचानाकार समेत बने। त्यसै मान्छे हिड्ने बाटो ढुकेर मान्छे मार्दै मान्छे कै औंलाहरुको माला लगाउने राक्षस अंगुलीमाल गौतम वुद्धको उपदेशका कारण आफूलाई  परिवर्तन गरी  बुद्ध कै चेला भएको कुरा  बुद्ध गाथामा पढ्न पाइन्छ। 

यसरी मूर्ख कालीदास, डाँकू रत्नाकर र हत्यारा अंगुलीमाला जस्ता खराव आचरण र प्रबृत्तिका मान्छेहरु असल मान्छेको संगतमा पुगे पछि सुध्रिएर मान्छे, समाज र समग्र प्राणी जगको हितमा आफ्नो जीवन नै अर्पण गरेका प्रेरक प्रसंगहरुको ठीक उल्टो अभाव र दरिद्रतामा हुर्केका कुमार श्रेष्ठहरु, दिनेश अधिकारीहरु भने आफूलाई लोकतन्त्रका सबै भन्दा उम्दा र असल नेताको रुपमा परिचय गर्न मन पराउने हरुकै उठबस र संगतमा परेपछि अकाल मृत्यु ग्रहण गरिरहेका छन्। हो घैटे तथा चरीहरुबारे कानुनी फैसला ढिलो चाडो होला नै। तर घैटे, चरीहरुको बाहुबलको भरमा कमाई खाइ आएकाहरुको बारेमा देशको ऐन कानुन किन बोल्दैन? यस बारे समाजिक, तथा राजनीतिका अगुवाहरु किन बोल्दैनन् ? यस विषयमा गम्भीर बहस हुनु पर्दछ जुन  निकै ढिलो पनि भइसकेको छ। अन्यथा न त हामीले  घैटे र चरीहरुको उदय र अस्तलाई रोक्न सक्ने छै न त  राजनीतिमा बढ्दै गएको अपराधिकरणलाई परास्त गर्न सक्ने छौं।

चरी र घैटे प्रकरण यथार्थमा भन्ने हो भने हाम्रो मौजुदा राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको प्रतिनिधि चित्रण हो। कुनै पनि राष्ट्रको राजनीतिक, समाजिक र आर्थिक रुपान्तरणमा राजनीतिक नेताहरुको भूमिका महत्वपूर्ण हुन्छ। तर विडम्वना, पुष्पलाल, बीपी, मनोमोहन तथा कृष्णप्रसाद भट्टराईहरुको निष्ठा, आदर्श उनीहरुले स्थापित गरेका प्रेरक मान्यताका मानकहरुको खिल्ली उडाउँदै आफ्नो राजनीतिक तुष्टि पूरा गर्ने नाममा बाहुबलीहरुको प्रयोग गरेर राजनीतिलाई नै विटुल्याउने कार्यमा यिनै नेताहरुका उत्तराधिकारी भन्नेहरुले गरिरहेका छन्।

सबैलाई थाहा भएकै कुरा हो, विभिन्न नाम धारी घैटेहरुको उदय राजानीतिको खोल ओढेर लुटेर खाने संस्कृतिलाई प्रोत्सहन गरेकै कारण भएको छ। यदि हाम्रो राजनीतिले परिश्रम र पौरख गरेर गरेर खान सिकाएको भए, हाम्रा राजनीतिका खेलाडीहरुले  आफ्नो स्वार्थको लागि डनबाद र धनबादलाई प्रश्रय नदिएको भए सम्भवत चरी र घैटेहरु आज कतै पौरख गरे खाइरहेका हुन्थे होलान्। सन्तान गुमाएको पीडा बाबु आमालाई हुन्नथ्यो होला। काम नसकुञ्जेल भाडो, काम सकिए पछि ठाँडो भने झै जब  विचरा घैटेहरुको औचित्य सकिन्छ वा घैटेहरुको कारण राजनीतिज्ञहरुको आवरण च्यातिँदै जान्छ अनि घैटेहरु इन्काउन्टरमा पर्छन् र मारिन्छन्। अनि दुई चार दिन सम्म केही हिम्मतवाला नेताहरु  सदन र मानव अधिकार आयोगमा कुर्लेर घैटेको गुन तिर्छन। एक हिसाबले गोहीको आँसु चुहाउँछन्।

चोर्ने भन्दा चोर्न लगाउनेको अपराध धेरै बढी हुन्छ भन्ने उखान पनि छ। तर हाम्रा प्रहरीहरु ती चोर्न सिकाउने, चोर्न लगाउनेहरुसम्म कहिल्यै पुग्दैनन्। अर्थात डन फलाउने रुखहरुलाई ढाल्न सक्दैनन्। किन सक्दैनन् यस बारे बहस हुनु जरुरी पनि छ। जबसम्म यस्ता बिकृती विसंगती फलाउने रुखहरुको जगजगी राजनीतिमा हावी भैरहन्छ तबसम्म जति पटक इन्काउन्टर गरे पनि डनहरुको उदय भइरहन्छ।

मूल नै धमिलो भए पछि धाराको पानि कसरी सफा हुन सक्छ। यसबारे सबैलाई चेतना भया।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell