PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

यस वर्षको अटो सोमा गाडीबीच प्रतिस्पर्धा



यस वर्षको अटो सोमा गाडीबीच प्रतिस्पर्धा

काठमाडौं : सवारी साधन बिक्रेताले आफ्नो 'ब्राण्ड सो' गर्ने अटो सोमा यो वर्ष ३२ ब्राण्डबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल अटोमोवाइल डिलर्स एसोसिएसन (नाडा)ले गर्ने अटो सोमा १५ ब्राण्डका गाडी र १७ ब्राण्डका मोटरसाइलबीच प्रतिस्पर्धा हुने भएको हो।

भदौ २९ गते सुरु हुन लागेको १० औं संस्करणको अटो सोमा भाग लिन १५ ब्राण्डका चार पांग्रे र १७ ब्राण्डका दुई पांग्रे सवारी साधन बिक्रेताले स्टल बुकिङ गरेका छन्।

'गत वर्ष १४ ब्राण्डका चार पांग्रे सवारी साधन र १३ ब्राण्डका मोटरसाइकल बिक्रेताले भाग लिएका थिए,' नाडा अटो शो व्यवस्थापन समितिका संयोजक शम्भु दाहालले भने, 'यो वर्ष सहभागीको संख्या पनि बढेको छ र अटो सोमा भ्रमण गर्न आउनेको संख्या पनि बढ्ने अनुमान गरेका छौं।'

भदौ २९ गतेदेखि असोज ३ गतेसम्म चल्ने अटो सोमा यस वर्ष स्याङयोङ ब्राण्डको गाडी पनि थपिएको छ भने नेपालकै महँगो अप्रिलियालगायतका मोटरसाइकलको स्टल पनि थपिएको छ। नाडाले हरेक वर्ष ५ दिने अटो सो गर्दै आएको भए पनि यो वर्ष संभावित बन्द हड्ताललाई ध्यानमा राख्दै १ दिन बढाएर ६ दिने सो गर्न लागेको दाहालले जानकारी दिए।

नाडाले भदौ २४ गतेदेखि २९ गतेसम्मको अवधिलाई तयारी अवधि र २९ गतेदेखि असोज ३ गतेसम्मको अवधिलाई प्रदर्शनको समय भनेर दुई भागमा वर्गिकरण गरेको छ।

१ सय २६ स्टल रहने अटो सोमा झण्डै २० वटा स्टल बैंक तथा बीमा कम्पनीका हुनेछन्। गत वर्ष २० हजार अवलोकनकर्ताले भ्रमण गरेको अटो शोमा यो वर्ष ४० हजारले अवलोकन गर्ने अनुमान नाडाको छ।
 

अर्को पटक ठाउँ अभाव हुने

नाडा अटो सोमा वर्षेनी गाडीका ब्राण्डहरु बढिरहेका छन् भने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य बढ्दै गएको छ। १० वर्ष अगाडि निकै ठुलो लाग्ने भृकुटीमण्डप अब अटो सोका लागि सानो भइसकेको छ।
 
'वर्षेनी गाडीका ब्राण्डहरु बढिरहेका छन्, अवलोकनकर्ताको संख्या पनि बढेकै छ,' दाहालले भने, 'यस्तै हो भने अब अर्को वर्ष अटो सो गर्ने ठाउँ पुग्दैन।'
 
नाडा अटो सोको स्टल अलोटमेन्ट यो वर्ष पनि लक्की ड्रबाट गरिएको थियो। सवारी साधनका साथै पाटपुर्जा, लुब्रिकेन्ट, बैंक तथा बीमा कम्पनीहरुले अटो सोमा भाग लिनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell