PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'सभासद् भन्दै चन्दा माग्ने भयङ्कर आउँछन्'



'सभासद् भन्दै चन्दा माग्ने भयङ्कर आउँछन्'

रविन्द्र अधिकारी-
दशैँ हामी नेपालीहरुको महान् चाड हो। यो मुख्य चाड पनि हो। घर परिवार आफन्तहरु आउने भएकाले त्यस हिसाबले दशैँ रमाइलो लाग्ने चाड हो। दुई तीन बर्षदेखि नभेटेका मान्छेहरु भेट हुने भएकाले पनि होला यो चाड रमाइलो लाग्छ।
 
नेपालमा दशैँ धेरैले मनाउने भएकाले स्वभाविक रुपमा रमाइलो चाड छ। तर यसको नकारात्मक पक्ष के छ भने यसको समयावधि अलिक लामो छ। अहिले त बिदा अलिक घट्यो। यसको समय अलिक धेरै नै छ। 

​दशैँका सांस्कृतिक पक्षहरु छन्। टिका लगाउने मात्रै दशैँ होइन। कोही एउटा तरिकाले मनाउँछन्, कोही अर्को तरिकाले। कोही सेता टीका लगाउँछन्, अनि बाहुनहरुको अर्को प्रकारको छ। 

पहिला पहिला  विद्यार्थी जीवनमा स्कूलमा हुदाँ दशैँलाई हामी एकदम राम्रो कुराका निम्ति प्रयोग गर्थ्यौं। गाउँमा मुसा मार्ने अभियान, बाटो बनाउने अभियान, सरसाफाइ र सांस्कृतिक कार्यक्रम, नाटकहरु भयंकर नै देखाउँथ्यौ हामी। पिङ्ग हाल्थ्यौ र खेल्थ्यौँ। तर अहिले ती रचनात्मता घटेका छन्। अहिले दशैँमा अत्याधिक हुने कार्यक्रम भनेकै जलपान मात्र हो। 

पोखरामा घरमा बुबा आमा हुनुहुन्छ। काठमाडौँमा रहेका श्रीमती र दुई बच्चा पनि गाँउ गइसके। दाइहरु सबै पोखरातिरै हुनुहुन्छ। भाइहरु विदेशमा छन्। 

यसपटक मौसमले पनि दशैँ आएको देखाएन। लगातार पानी परेको छ। झरी नै परेको छ। दशैँ त हराभरा राम्रो मौसम हुनुपर्ने हो तर क्यालेण्डरमा मात्र पल्टेको छ। अर्को, संविधान निर्माण र संसदका कामहरुको व्यस्तताले पनि दशैँ छिटो लागेन। 

पहिलाभन्दा दशैँको महत्व कम भएको देखिन्छ। यसलाई असाध्यै धेरै महङ्गो बनाउँदा महत्व कम भएको हो। दशैँ हाम्रो ‘मिक्स’ परम्परा हो। सबैले मानेको संस्कृति हो। भारतको दशैँमा मौलाना अर्थात बली दिने चलन छैन। हामीकोमा यो परम्परा छ। बाहुन, क्षेत्री, आर्यनहरु मिलेर बनेको ‘कल्चर’ हो दशैँ। अहिले यसलाई टुक्र्याउन खोजिएको छ तर यो कट्टर हिन्दु संस्कृति पनि होइन। त्यसैले यही रुपमा दशैँ संस्कृतिको सम्वर्द्धन गर्नुपर्छ। यसले राष्ट्रिय एकता कायम गर्छ। दशैँमा ठूलाबडाबाट आशिस लिने चलन छ तर मैले आशिसमा  कहिल्यै विश्वास लिइनँ। 

दशैँको खर्च अहिले पनि हाम्रो घर परिवारमा उस्तै छ। म मध्यम परिवारको मान्छे हुँ। बुबा शिक्षक हुनुहुन्थ्यो। म सभासद् भएर पनि परिवारलाई केही गरेकै छैन। दशैँ मनाउन मैले केही गर्नै पर्दैन। सबै बुबाले गर्नुहुन्छ। 

तर, सभासद् भन्दै चन्दा माग्न क्लबहरु, आमा समूहहरु, विभिन्न सामाजिक संस्थाहरु भयङ्कर आउँछन्, दिएरै सकिदैँन। केही केही सहयोग गर्नु त ठूलो कुरा भएन। हामी पनि बच्चामा हुँदा चन्दा माग्न जाँदा दिए भने खुसी हुने गर्थ्यौं। तर अहिले उनीहरुको अपेक्षा ठूलो हुन्छ। आफूहरुसँग भएको दिने हो। त्यस हिसाबले सभासद्लाई ‘म्यानेज’ गर्न गाह्रै हुन्छ। 

पहिलो संविधानसभायमा सभासद् भएका बेला दशैँ र तिहार गरेर त्यतिबेला दशैँको पैसा सहित मेरो तीन चार महिना तलब र खर्च चन्दामै गयो। त्यसपछि मैले फिल्टर गरेँ। चन्दा व्यवस्थापन गर्न धेरै गाह्रो हुन्छ। अझ तिहारमा देउसी भैलीका दुई सय तीन सय चिठी आउँछन्। सभासद् नहुँदा पनि सय चिठ्ठी आउने गरेकै थिए तर अहिले धेरै आउँछन्। चिठ्ठी पठाए मध्ये पचास  त आउँछन् नै। सभासद् भएपछि अहिले सयभन्दा धेरै टोली देउसी खेल्न आउँछन्। 

मैले सबैलाई एक हजार दिने ‘स्ट्याण्डर्ड’ बनाएँ। तर उनीहरु ‘ए, यति पनि दे’को’ भन्छन्। सबै बुबा आमाहरुले  म्यानेज गर्नहुन्छ। चन्दा र सहयोग दिने काम यस हिसाबले गाह्रो छ। 

म केही बर्ष अघि दशैँका बेला पढ्ने गर्थें। तर आजकाल पढ्ने समय नै छैन। दशैँमा घुम्न कुनै न कुनै ठाउँ गइन्थ्यो। यसपटक पनि मिल्यो भने थोरङ्गला पास जाने योजना छ। संविधानसभा र संसदको समितिको समय तालिका हेरेर यसो तीन चार दिनको ट्रेकिङ गर्ने सोचेको छु। समय मिलाउन अलिक अफ्ठेरो छ। 

कास्कीका एमाले सभासद् रविन्द्र अधिकारीसँग पहिलोपोस्टका मनोज सत्यालले गरेको कुराकानीमा आधारित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell