PahiloPost

Jun 22, 2024 | ९ असार २०८१

क्षतविक्षत क्यामेरा अङ्गालेर धेरै बेर रोएँ



क्षतविक्षत क्यामेरा अङ्गालेर धेरै बेर रोएँ

  • विक्रम रौनियार-
सोमबार त्यस्तै साढे ४ बजेको समय हुँदो हो, जनकपुरको स्वर्गद्वारीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको थियो। त्यसअघि प्रदर्शनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए। प्रहरीले गोली, अश्रुग्याँस प्रहार गर्दै आन्दोलनकारीलाई तितरबितर पार्दै थियो।

जनकपुरमा केही साथीसँग मेरो भेट भयो। त्यहाँको अवस्थाका कारण पत्रकारहरु असुरक्षित रहेको र बचेर काम गर्न उनीहरु सुझाव दिए। तर पत्रकारको काम नै यही हो। अरु पेशामा जस्तो आफू सुरक्षित भएर यसमा पुग्दैन, फिल्डमा खटिनै पर्छ। पत्रकारिताको यही धर्म निर्वाह गर्न आफू सुरक्षित हुँदै केही तस्बिर खिच्न लागेँ।

यही क्रममा प्रहरी र सशस्त्र प्रहरीको एक हुल समूह जनकपुरको शिवचोकअगाडि जहाँ प्रर्दशनकारी थिए, त्यता बढदै थिए। म सुरक्षित हुन राजदेवी मन्दिर अगाडिको बाटो हुँदै, राम मन्दिरको पछिल्लो गेट भएकोतिर सुरक्षित हुन लागेँ, त्यसबीचमा अन्य साथीहरु कता छुटे कता।  


लगत्तै प्रहरी र सशस्त्र प्रहरीको एक हुल त्यही गल्ली हुँदै अगाडि बढ्दै थिए। मैले आफू कार्यरत संस्थाले दिएको परिचय पत्र गलामा भिरेँ।  प्रहरी र प्रर्दशनकारी भएतर्फ क्यामेरा पारेर सुरक्षित हुँदै केही तस्बिर खिच्न थाले। मेरै अगाडिबाट प्रहरी र सशस्त्र प्रहरी मार्चपास गर्दै प्रर्दशनकारीलाई तितरबितर बनाउँदै अगाडि बढ्दै थिए।
 

मेरो नजिक आएपछि दुई प्रहरी जवानले आँखा तर्दै भने, 'हाम्रो मात्र फोटो खिच्ने होइन है, प्रदर्शनकारीको समेत फोटो खिच।' म आफू सुरक्षित हुन एक औषधी पसलमा पुगेँ र त्यहीँ बसेँ। त्यस लगतै लगभग १०० मिटर पर पुगेको प्रहरी र सशस्त्र प्रहीको टोलीले औषधी पसल भित्रै पसेर प्रर्दशनकारी भन्दै कुटपीट गर्न थाले। लगत्तै म बाहिर निक्लेर फोटो मात्र के खिच्न लागेको थिएँ, एक हुल म भएकोतिर कुदेर आए।  म सुरक्षित हुन पसलमा छिरेँ। एक जना प्रहरीले पछाडिबाट तानेर लौरोले हिर्कायो, हातले छेकेँ। फेरि अर्को प्रहरीले तँ फोटो खिच्ने हैन भन्दै लौरो बजारे। म फेरि पसल भित्र छिर्न खोजेँ तर उनीहरुले पछाडिबाट क्यामेरा ब्याग ताने। अनि अर्को प्रहरीले बन्दुकको कुन्दाले टाउकोमा प्रहार गरे।

झननन भयो, म भुइँमा ढलेँ। त्यसबेला मैले प्रेस-प्रेस भनेर चिच्याएँ।  त्यो औषधी पसलको दाइ र अन्य छेउमा भएको केही पसलहरुले समेत पत्रकारलाई कुट्यो कुट्यो भन्दै चिच्याए तर कुट्न छाडेनन् , भुईमा लछारपछार पारे , जे पायो त्यहीले हिर्काए। म ढलेपछि क्यामेरा खोसे र भुईँमा पछारे।

त्यसपछि क्यामेरालाई बन्दुकको कुन्दा र लौराले हानेर फुटाइदिए। पसलवालाहरुले प्रेसलाई कुट्यो कुट्यो भन्दै हल्ला गर्न थालेपछि प्रहरी र सशस्त्र प्रहरीले छोडेर भागे।

प्रहरीले ताकेर कुटे, त्यति दुःख लागेन। भुईँमा लछारपछार गरे, सहेँ। तर क्यामेरा झिकेर भुँईमा बजार्दा चैँ मुटुको चाल नै बन्द भएको जस्तै भयो। पछि गोजीबाट झरेको मोबाइलबाट साथीलाई फोन गर्न थालेँ। त्यही समयमा पसलका एक दाइ आएर उठाए। फुटेको क्यामेराको क्षतविक्षत भएका भागहरु एक-एक गरी उठाउँदै, अङ्गालो हाल्दै घोप्टो परेर रुन थालेँ।

५ वर्ष पेट काटेर क्यामेरा किनेको थिएँ, त्यो पनि अब यादमात्रै बाँकी रह्यो। उठेर अलि पर आएँ। कुटपिटको पीडाले होला थचक्कै भुइँमा बसेँ। हिँड्न, चलमलाउन सकिनँ। त्यति बेलासम्म वरीपरी स्थानीयले घेरेर अवस्थाबारे सोध्दै थिए। पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, बीबीसीका पत्रकार बृजकुमार यादव दाइहरु आइपुग्नु भयो।

सुरक्षित महसुश गर्दै फुटेको क्यामेराका सामानहरु अँगालोमा कस्दै अस्पताल पुगेँ। प्रेस-प्रेस भन्दै आधा रातमा उठेछु। आँसु झार्दै फेरि क्यामेरा छामेँ। 

शरीर भरी निलडाम र प्रहरीको बुटको छाप जस्ताको त्यस्तै थियो। टाउकोमा बन्दुकको कुन्दाले हानेको डाम उस्तै ताजै छ। 

(रौनियार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव पनि हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell