PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

'जेठी र कान्छी श्रीमतीको कथा'ले संविधानसभामा हाँसो



काठमाडौं ; संविधानसभाको बैठकमा संविधानको परिमार्जित विधेयक माथिको दफाबार छलफल जारी रहेको छ। बैठक हलका अधिकांशं कुर्सी खाली छन्। सभासद्हरुकै रुची समेत छलफलमा देखिँदैन।

तर पनि विधेयकमा दफाबार छलफल गर्न नाम लेखाएका सभासद्हरु भने खाली कुर्सी अघि धारणा राख्छन्। त्यही क्रममा बिहीबार बैठकमा छलफलमा भाग लिएका सुर्खेतका कांग्रेस सभासद् खड्गबहादुर बस्यालले कथा सुनाए। उनको कथा सुनेपछि भने सभासद्हरुबीच केहीबेर हाँसो गुञ्जियो। गर्मीले आलस्य बनेका सभासद् केहीबेर मुस्कुराए। के कथा सुनाए त बस्यालले?

कथा यस्तो छ 

एक घरमा एउटा बुढाका दुई श्रीमती रहेछन्। कान्छीले खाना पकाइछिन् तर पस्कने बेलामा जेठी आइपुगिछिन्। खाना पस्किएपछि बुढोले भातबारे टिप्पणी गर्दै भनेछन् – कस्तो गीलो भात?

तर छेउमा रहेकी कान्छी श्रीमतीले आँखा रातो पारिछिन्। अनि बुढाले भनेछन् – गिलो भएर त निल्न सजिलो भइराखेको छ नि।
 
उनले अहिले सभासद्को हालत ती दुई श्रीमतीको श्रीमानको जस्तो भएको बताए। चित्त नबुझे पनि सचेतक देखेपछि ठीकै छ भन्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे।  
 
बस्यालको व्यङ्ग्य प्रमुख दलका सचेतकले संशोधन हाल्न रोक लगाएकोप्रति थियो। कांग्रेस र एमालेले सभासद्हरुलाई सचेतक मार्फत् संविधानको विधेयकमा संशोधन हाल्न कडाई गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell