PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

एप्पलको आइफोन ६ एस सार्वजनिक, के छ आइफोन ६ एसमा ?



एप्पल कम्पनीले गएरातिबाट दुईवटा नयाँ आईफोन सार्वजनिक गरेको छ। कम्पनीले यसअघिका आइफोन ६ र आइफोन ६ प्लसको नयाँ भर्सनका रुपमा आइफोन ६ एस र ६ एस प्लस सार्वजनिक गरेको हो।

आइफोनले २०११ मा आइफोन ४ बजारमा ल्याउँदादेखि नै त्यसको अपग्रेड भर्सनका रुपमा एस सिरिज बजारमा ल्याइरहेको छ। गएराति सार्वजनिक गरिएको आइफोन ६ एस र ६ एस प्लस सेप्टेम्बर २५ बाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

एप्पल कम्पनीका टिम कुकले नयाँ फोन सार्वजनिक गर्दै भनेका छन्, ‘यी संसारका सबैभन्दा आधुनिक स्मार्टफोन हुन्।’ सार्वजनिक गरिएका दुवै फोनको डिस्प्लेको आकार बढेको छैन तर आइफोन ६ एस प्लसको डिस्प्ले स्क्रीन ग्लास फेरिएको छ, जसलाई एप्पलले फोन इन्डस्ट्रिजकै सबैभन्दा बलियो ग्लास भनेको छ।

नयाँ आएको आइफोनमा थपिएको अर्को फिचर हो, थ्री डी टच। यसमा आईफोनको स्क्रीनमा केहीबेर टच गरेर विभिन्न फिचरको प्रयोग गर्न सकिने सुविधा छ। यो सुविधा एप्पलले यसअघि एप्पल वाच र म्याकबुक टचप्याडबाट सुरुवात गरेको थियो।

नयाँ आएका दुवै फोनको सफ्टवेयर भर्सन पनि अपग्रेड गरिएको छ। यसमा ए ९ प्रोसेसर राखिएको छ। यसअघिका फोनमा रहेको ए ८ को तुलनामा यो ७० प्रतिशत बढी स्पीडको हुने तथा यसको ग्राफिक्स पनि ९० प्रतिशतले सुधार आउने कम्पनीको दाबी छ।


आइफोनले पहिलोपटक क्यामेराको मेगापिक्सल निर्धारण गरेको छ। नयाँ आएका दुवै फोनमा १२ मेगापिक्सल ‘आइसाइट’ क्यामेरा रहेको छ। दुवैमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। अझ सुविधा थपेर यी दुवै फोनको फ्रन्टमा पनि फ्ल्यास हालिएको छ। भन्नाले अब सेल्फी खिच्दा पनि आइफोन प्रयोगकर्ताले फ्ल्यासको प्रयोग गर्न सक्नेछन्। यी क्यामेराले ४के गुणस्तरको भिडियो खिच्न र सम्पादन गर्न सक्नेछन्। 

एप्पलले फोटोमै अर्को सुविधा पनि थप गरेको छ। ‘लाइभ फोटो’ नाम गरेको सो सुविधा अनुसार फोटो खिच्दा जब तपाइँले थ्री डी टचलाई केहीबेर थिच्नु हुन्छ त्यसले फोटोलाई साउन्डसहितको भिडियो बनाइदिन्छ। यसको विशेषता के रहेको छ भने तपाइँले खिचेको फोटो क्लिक हुनु अघि र पछि गरेर १.५ सेकेण्डको भिडियो तपाइँको फोटोसँगै खिचिन्छ। यो सुविधालाई तपाइँ प्रयोग नगर्न पनि सक्नुहुन्छ किनकी तपाइँलाई फोनको स्पेस कम हुनसक्छ।


आइफोनले फोटोमै गरेको अर्को सुधार डिस्प्ले र फोटो प्रकाशमा पनि हो। आइफोनका पहिलेका फोनको तुलनामा नयाँ आएका दुई फोनको प्रकाश तीनगुणा उज्यालो रहेको कम्पनीको दाबी छ। 

एप्पल कम्पनीको दाबीअनुसार नयाँ सार्वजनिक भएका दुवै आइफोनमा वाइफाईलाई पनि सुधार गरिएको बताएको छ। कम्पनीले पहिलाको तुलनामा वाइफाईको स्पीड दुईगुणाले बढाइएको छ। यो सुधार थ्रीजी सेवामा पनि देखिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell