PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

​भूँइमा लतारेर नेपाली राष्ट्रिय झण्डाको यसरी गरियो अपमान



​भूँइमा लतारेर नेपाली राष्ट्रिय झण्डाको यसरी गरियो अपमान

काठमाडौँ : बेल्जियमका नेपालीहरुले आइतबार गरेको 'नेपाल मेला' का क्रममा नेपालको राष्ट्रिय झण्डा भूइँमा ओछ्याएर अपमान गरिएको छ। वालोन क्षेत्र अन्तर्गत सोफोन्टेनमा ब्रिटिस गोर्खा सेना अन्तर्गत विश्वयुद्धका क्रममा मारिएका नेपालीहरुको सम्झनामा आयोजित कार्यक्रममा सरकारले जारी गरेको 'राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९' विपरीत झण्डा जमिनमा छुने गरी ओछ्याइएको हो।
 
नेपालको राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन लागू गरिएको सो कार्यविधिको दफा ८ मा राष्ट्रिय झण्डा भूँइमा नलत्रने किसिमले राष्ट्रिय झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्नुपर्ने उल्लेख छ।
 
कार्यविधिको दफा ११ मा राष्ट्रिय झण्डाको प्रयोगमा निषेधका अवस्थाहरुको व्याख्या गरिएको छ। जसअनुसार फहराउने प्रकृतिको कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग निषेध गरिएको छ।
 
कुनै व्यक्तिप्रति सम्मान व्यक्त गर्न शवमा राष्ट्रिय झण्डा ओढाउँदा समेत नेपाल सरकारको निर्णय आवश्यक हुने र त्यस्तो अवस्थामा समेत भूँइमा नछुने गरी झण्डा ओढाउनु पर्ने व्यवस्था कार्यविधिले गरेको छ।
 
बेल्जियममा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा फहराउन नभई भूइँमा छुने गरी सिंढीमा राष्ट्रिय झण्डा लतारिएको छ। कार्यक्रमका सहभागीहरुले राष्ट्रिय झण्डा झण्डै कुल्चन लागेको फोटोहरुमा देखिन्छ।  
 
विदेशमा पनि पाइँदैन
विश्वका विभिन्न देशमा राष्ट्रिय झण्डालाई भूँइमा छुन दिन नहुने नियम छ। अमेरिकाको फ्ल्याग कोडमा राष्ट्रिय झण्डा भूँइमा छुवाउन नहुने उल्लेख छ।
 
बेलायतमा पनि झण्डा भूँइमा छुवाउन नहुने नियम छ।
 
त्यस्तै, डेनमार्कमा पनि राष्ट्रिय झण्डालाई कहिल्यै भूँइमा छुवाउन नहुने परम्परा छ। बिग्रिएको झण्डा जलाउँदा समेत भूइँमा नछुवाई आगोको सबभन्दा माथि राख्नुपर्ने नियम त्यहाँ छ।
 
छिमेकी देश भारतमा पनि राष्ट्रिय झण्डालाई जानाजानी भूँइमा वा पानीमा छुवाउनुलाई झण्डाको अपमान गरेको मानिने नियम छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell