PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​कलहका बीच संविधान



​कलहका बीच संविधान

  • किशोर नेपाल-
व्यापक अविश्वासका बीचमा प्राविधिक रुपले संविधान बन्यो। संविधान सभाको सहमतिमा नै बन्यो। असहमति सभागृह बाहिर नै रह्यो। के बन्यो र कस्तो बन्यो भन्दा पनि बन्यो – अहिलेका लागि यति नै पर्याप्त छ। वर्ष २०७२ को प्रारम्भमा नै दुई– दुईवटा भुईंचालो नगएको भए संविधान यति छिटै बन्ने थियो कि थिएन ? यसै भन्न सकिँदैन। भुईंचालो पीडितलाई वितरण गरिएको राहत प्रभावकारी भएको भए सरकारमा कांग्रेसको सहयोगी पार्टी एमालेका नेताहरु सरकार फेर्न तात्ने थिए कि थिएनन् ? त्यसको प्रतिक्रियामा सरकारको नेताका रुपमा रहेका कांग्रेसका सभापतिले संविधान नबनेसम्म सरकारको नेतृत्व नछाडने ढिपी कस्ने थिए कि थिएनन् ? अब यी कुराहरु तपसिलका सन्दर्भ बनेका छन्। नेपालको राजनीतिक इतिहासमा गहिरो अभिरुचि र अध्ययनमा जाँगर राख्नेहरुका लागि उपयोगी सन्दर्भ।

यी सन्दर्भहरुका बीचमा, माइतीघर मण्डला यी पङ्क्तिहरु लेखिँदा बत्तीको प्रकाशमा जगमगाएको छ। माइतीघरको पनि आफ्नै इतिहास छ। यो गोलचक्करको वरिपरि बजार थियो। भव्य घरहरु थिए। ती घरहरु मध्येको कुनै एउटा घरमा सुमनान्जली फिल्मस् (प्रालि) को कार्यालय थियो। यो कम्पनीका मालिक थिए जोगेन्द्र झा। जोगेन्द्र झालाई अहिलेको पुस्ताका धेरैले चिन्दैनन्। उनी हिन्दूस्तान टाइम्स पत्रिकासँग आवध्द पत्रकार प्रशान्त झाका हजुरबुबा हुन्। डा. तुलसी गिरिका मित्र। जोगेन्द्र झाले आधुनिक नेपाली सिनेमा माइतीघरको निर्माण गरेका थिए। त्यही सिनेमाको नामबाट माइतीघर नामले यो ठाउँ परिचित हुन थालेको हो। अब यसको नाम संविधान चोकमा परिणत गरे पनि जनजिब्रोमा चढेको माइतीघर हराउने छैन। जनता–जनार्दन भन्दा पनि राजनीतिक दलका कार्यकर्ता ऐतिहासिक अवसरको खुसियालीमा नाच्दैछन्, गाउँदैछन् र झुम्दैछन्। स्वाभाविक हो तीन प्रमुख दलका कार्यकर्ताका लागि यो खुसीको क्षण हो। कोइराला वंशवृक्षको मूल हाँगोसँग जोडिएको सहायक हाँगो प्रधानमन्त्री सुशील कोइराला दह्रो सावित भएकोमा, केपी ओली एमालेका चतुर नेताहरुको मण्डलमा सर्वश्रेष्ठ सावित भएकोमा र आशाका विपरित प्रचण्डले आफ्नो राजनीतिक प्रतिष्ठा कायम गरेकोमा – तीनै दलका कार्यकर्ताहरु उल्लास मनाइरहेका छन्।

यो उल्लासमा ती मानिसहरु पनि सामेल छन् जो सामाजिक संजालसँग जोडिएका छन, आफ्नो व्यक्तिगत आकांक्षा र हितको प्रवर्ध्दन गर्न खप्पिस छन्, जो मौका र अवसर हेरी सकारात्मक र नकारात्मक दुवै झुण्डसँग जोडिन तयार रहन्छन्, जो खतरा नमोली खान पाइने मीठो दालभातको खोजीमा हुन्छन्, जो आफूमा भएको भरपूर योग्यताको प्रयोग गर्न सँधै राजनीतिक नेतृत्वको खाँवो समात्नै पर्ने पीडाले रन्थनिएका छन्।

उल्लास र उमंगको यो वातावरणमा भर्खरै प्राविधिक पूर्णता पाएको संविधानका बारे खस्रा–मीठा टिप्पणी लेख्नु खतरनाक सावित हुनसक्छ। किनभने, सरकार संविधानको सर्वोत्कृष्टता सावित गर्न सक्रिय रहेको अहिलेको अवस्थामा त्यस्तो टिप्पणी अप्रीय हुन्छ। शहर–बजारका जनता दुःखको दैनिकीमा जेलिएका छन्। उनीहरु रातो राम्रो देख्न चाहन्छन् र गुलियो मीठो चाख्न चाहन्छन्। यो टिप्पणीमा पनि रातोको चर्चा त छ, तर चर्चामा रहेको रातो रगतको हो। रगत गरीब र धनी, ठूला र साना, मजदूर र वुध्दिजीवि, सबैमा एउटै रंगको हुन्छ – रातो। रातो वास्तवमा नै बहुमूल्य रङ हो। नेताले चुनाव जितेपछि, क्रान्तिकारीले आफ्नो सपना जितेपछि, दलहरुले अर्को दलका सदस्यलाई आफ्नो दलमा मिसाएपछि र सर्वोपरि, एउटा नेपाली केटोले वैदेशिक रोजगारी भेटाएपछि – सबैले लगाउने शुभ–मंगलको टीका रातो रंगकै हुन्छ। यतिमात्रै होइन। अस्ति कैलालीमा मारिएको डेढ वर्षे अबोध बच्चोको र हिजो संविधान बन्ने पूर्वसन्ध्यामा रुपन्देहीमा मारिएको चार वर्षे बच्चोको रगतको रङ पनि रातो थियो।

जतिबेला देशमा राजा थिए र कडा हुकुमत चलाउँदै थिए त्यतिबेला दलहरु लोकतन्त्रको आन्दोलनमा थिए। त्यति विशाल आन्दोलनमा समेत रगत बगाउनेहरुको संख्या दुई दर्जन पुगेको थिएन। राजा मूर्ख थिए। माओवादीले पड्काएको बमले हातै उडाइ दियो भनेर गुहार माग्ने जनतालाई ठीक छ ठीक छ भनेर पन्छिन्थे। जनतासँग भन्दा राज्यशक्तिसँग मोह थियो तिनको। त्यसैले जनताको आन्दोलन सफल भयो। राजा किनारा लाग्न बाध्य भए। दलहरुको हातमा शासन आयो। स्वर्गवासी गिरिजाप्रसाद कोइरालाले राष्ट्र र सरकार प्रमुख दुवै पदको जिम्मेवारी सम्हाले। देशमा संविधान–सभाको चुनाव हुनेभयो। दलहरु बीचको लामै रस्साकस्सीपछि अन्तरिम संविधान बन्यो। बन्ने बित्तिकै त्यो संविधानले मधेशका जनतामा डँढेलो सल्कायो। लोकतन्त्र आएको वर्षदिन बित्दा नबित्दै मधेस आन्दोलनका नाममा २६ जना नेपालीको सिकार गर्यो राज्यले।

साँझ चिया पसलमा भेटिएका एकजना भाइले भने – के भएको हो दाजु यस्तो ? यता संविधान बनेको उल्लासमा शहर रंगमंगिएको छ। उता मधेसमा प्रत्येक दिन पाँचजना नेपालीले ज्यान गुमाउँदै छन्। संविधान निर्माणकै क्रममा संघीय राज्यको सीमांकनपछि सुरु भएको मधेस आन्दोलन बाक्लिँदै गएको छ। सुरक्षा र आन्दोलनकारी दुवैतिरका मानिस मर्दैछन्। राज्य मौन छ। संविधानको बहसमा शिथिल भएर हो कि ? गाउँ गाउँमा पुगेका सुरक्षाकर्मीहरु राज्य विप्लवको खतरा मँडारिएको बताउँछन्। हो के त ? पत्रकार, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि कोही बोल्न तयार छैन। प्रधानमन्त्री सैनिक परिचालन भएको छैन भन्छन्। सेना दंगाग्रस्त क्षेत्रमा शान्ति कायम भएपछि व्यारेक फर्किन्छौ भन्छ। नेताहरुले मधेसका नेपालीलाई घचेटेर पारी नै पुर्‍याउन लागेका त होइनन् ? के मधेस हाम्रो होइन ?

मसँग यस्तो जटिल र संवेदनशील प्रश्नको जवाफ हुने त कुरै थिएन। चौध वर्ष सशस्त्र आन्दोलनको नेतृत्व गरेर खुला राजनीतिमा आएका प्रचण्ड समेत संविधान बनाएर आफूहरुले नेपाल राष्ट्रलाई जोगाएको दावी गर्दैछन् : कोइराला र ओलीको त कुरै भएन। यस्तोमा देशको अखण्डताका बारे कसरी टिप्पणी गर्नु ?

भाइको प्रश्नसँगै मधेस जलिरहेको यथार्थ गाँसिएको छ। जातीय तिक्तता बढ्दै गएको छ। रगत नबगेको दिनै छैन, भूमि नै छैन। कहिले पहाडमा बग्छ, कहिले मधेसमा। जनताका लागि सामाजिक-आर्थिक परिस्थिति विषम बन्दै गएको छ। राज्य विप्लव नै त नहोला। तर, कलहको बीउ रोपिएको छ नेपाली समाजमा। वनमारा झार र जातीय कलह उस्तै उस्तै हुन। वनमारा झारले वन उजाड्छ। कलहले सामान्य मानिस र पूरै समाजलाई सिध्याउँछ। ठूला नेताहरु त बिहार र यूपीका शरणार्थी शिविरमा आरामको जीवन बिताउलान्। तर, सामान्य मधेसी नेपाली थोत्रो रजाइ र आधा दर्जन लालावाला बोकेर आफनो धर्ती भन्दा पर अन्यत्र कहाँ जाला ?

असोज तीनगते वैधानिक रुपमा नै देशमा संविधान छाउने छ। नेताहरुले आ-आफनो योग्यता र क्षमता अनुसारका पदहरुको भागवण्डा मिलाइसकेका छन्। सुनिए अनुसार, राष्ट्रपतिमा हालका प्रधानमन्त्री, प्रधानमन्त्रीमा एमालेका अध्यक्ष र संसदको सभामुखमा एकीकृत माओवादीका महासचिव हुने समझदारी बनेको छ। खुसीको वातावरणमा नेताहरु रातो रङमा रङमङ्गिने छन्। स्याम्पेन फुट्नेछ। त्यसपछि आफ्नो हस्ताक्षरले अनुमोदन गरेको एकथान संविधान काखी च्यापेर सभासदहरु आ-आफ्ना क्षेत्रमा जाने छन्। तिनको निधार र शरीरमा पोतिएका रातो रङ देखेर जनताको मनस्थिति कस्तो हुनेछ ? सभासदको शरीरमा पोतिएको रातो रङ र त्यहाँ मारिएका मानिसको रगतको रातो रङको तुलना कति पीडादायी होला ? के कसैले यस्तो कल्पनासम्म पनि गर्न सक्दछ ?

एकातिर, आफूलाई मधेसका मसीहा सावित गर्न लागेका पत्रकार, कुटनीतिज्ञ र वुध्दिजीवी छन् जो भारतीय सत्तासँग खुलेआम नेपालका मधेसीको उध्दारका लागि हस्तक्षेपको नाङ्गो आग्रह गर्दैछन्। विदेशी हस्तक्षेपको आग्रह भुईंफुट्टा वर्गको विषालु हतियार हो। अर्कोतिर, विखण्डनवादीहरु छन् जो विखण्डनवादलाई क्रान्तिको निरन्तरता मान्दछन्। अर्कोतिर, जनताले निर्वाचित गरेका प्रतिनिधिहरुले दलीय गठवन्धनमा बनाएको सरकार छ। सरकार संविधान बनेकोमा खुसी छ, ढुक्क छ, ठूलै बाजी जितिएकोमा दङ्दास छ। शान्ति-स्थापना सरकार र प्रशासनको नभएर सुरक्षा निकायको प्राथमिक काम हो भन्ने मान्यतामा ढीठ भएर अडिएको छ। राजनीतिक वार्ता लगभग निषेध छ। संविधानको नाममा भएको मधेसका जनताको मृत्युलाई गहूँमा मिसिएको घून पिसिएको जस्तो ठान्दछ।

अब त देशमा संविधान छ। सोध्न पक्कै पाइन्छ होला कि देशमा लोकतन्त्र छ कि छैन ? विधिको शासन छ कि छैन ? गणतन्त्रमा जनता फष्टाउने पालो आउँछ कि आउँदैन ?

यति भनिसकेपछि अब तपाईं आफै सोच्नुहोस् – २०४७ सालको संविधान जारी भएको मितिले सात वर्ष पनि चलेको थिएन। यो संविधान कति चल्छ ? कि चल्दै चल्दैन ? चल्छ भने कसरी चल्छ ?

मेरा एक मित्र छन् वनवारी। केही समय भारतीय पत्रकारितामा ख्याति कमाए। मूल रुपले दार्शनिक थिए। आध्यात्मिक दर्शनका प्रखर विचारक। पहिलो जन-आन्दोलनको पूर्व संध्यामा उनले मसँग भनेका थिए - हिमालयको देश नेपाल आध्यात्मिक चेतनाले समृध्द छ। अस्तित्व रक्षाका लागि कुनै न कुनै बाटो पहिल्याइहाल्छ।

त्यो बाटो अहिलेसम्म त पहिल्याउन सकिएको छ जस्तो लाग्दैन। भविष्य त भविष्यकै हातमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell