
बागलुङ : संविधानसभाको उपनिर्वाचनमा विजयी हुँदा सभासद् चम्पादेवी खड्कासँग एउटै सपना थियो, पतिको संविधान लेख्ने इच्छा पूरा गर्नु। आज उनको सपना मात्र साकार भएको छैन, लाखौं नेपालीको पनि भाग्यको फैसला भएको छ।
पति वियोगको कठिन घडीमा पनि उपनिर्वाचनमा होमिदाको पीडा अहिले धेरै हदसम्म मत्थर बनेको छ, सभासद् खड्काको। पतिको बाँकी कार्यभार सम्हाल्न संविधानसभा पुगेकी सभासद् खड्का संविधानसभाबाट संविधान जारी भएपछि उत्साहित छिन्।
उनका अनुसार संविधान लेखनकै यात्रामा निधन भएका पति सभासद् हरिबहादुर खड्काको मृत आत्मालाई पनि शान्ति मिलेको छ। ‘गौरवको महसुस पनि भएको छ, यस्तो ऐतिहासिक दायित्व निर्वाह गर्ने अवसर मिल्यो, पति गुमाएपनि संविधान लेख्न पाएँ” सभासद् खड्काले भनिन् 'मेरो पतिको जुन इच्छा थियो, संविधानसभाबाट जनतालाई नयाँ संविधान दिने, त्यो सपना पनि पूरा भएको छ।'
नेपाली काँग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं १ की सभासद् खड्काका पति हरिबहादुर खड्काको २०७१ मङ्सिरमा सडक दुर्घटनामा मुत्यु भएको थियो। सभासद् पतिको निधन भएपछि खड्का सोही वर्षको चैतमा भएको उपनिर्वाचनमा विजयी बनी संविधानसभामा पुगेकी थिइन्।
'मेरो पतिको निधनपछि जुन अभिभारा मलाई जनताले बोकाउनुभएको थियो, त्यो आज पूरा भएको छ” सभासद् खड्काले भनिन् 'संविधान दिने वाचा त पूरा भयो, अब विकास निर्माणको कामलाई अघि बढाउनुछ।' उनले पति निर्वाचित हुँदा जनतालाई बाँडेका आश्वासन र सपना पूरा गर्न कटिबद्ध भएर लाग्ने धारणा राख्निन्। रासस