PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रचण्डको कविता, ओलीको चिया निम्तो र प्रधानमन्त्रीको जय नेपाल !



प्रचण्डको कविता, ओलीको चिया निम्तो र प्रधानमन्त्रीको जय नेपाल !

  • पहिलोपोस्ट-
काठमाडौँ : खुलामञ्चमा सरकारले सोमबार संविधानको स्वागत समारोह आयोजना गर्‍यो। समारोहलाई प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे। तीन दलको बैठकले समारोह आयोजना गर्ने निर्णय गरेको थियो भने मन्त्रिपरिषद् बैठकले गृहमन्त्री बामदेव गौतमलाई संयोजनकोजिम्मा दिएको थियो। के रह्यो त समारोहको हाइलाइट-

१. न्यून उपस्थिति

संविधानसभाबाट आइतबार साँझ संविधान घोषणा भए लगत्तै सयौँ सर्वसाधारण खुसीयाली मनाउन संविधानसभा भवन रहेको ठाउँ नयाँ बानेश्वर पुगेका थिए। तर सोमबार सरकारले सैनिक मञ्च डुँडिखेलमा आयोजना गरेको सभामा मानिसको सहभागिता पालतो देखियो। प्रमुख तीन दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रममा समेत निकै कम मात्र जनसहभागिता देखियो।

२. प्रचण्डको कविता

समारोहको सुरुमै सम्बोधन गरेका एमाओवादी अध्यक्ष प्रचण्डले सुरुमै दुईवटा कविता उदृत गरे। उनले सुनाएको पहिलो कविता थियो माधवप्रसाद घिमिरेको– 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।' उनले सुनाएको दोश्रो कविता सुनाए गोपाल प्रसाद रिमालको – 'एक जुगमा एक दिन एकचोटी आउँछ, उथलपुथल उलटपुलट हेरफेर ल्याउँछ।' तर प्रचण्डले कविताका शब्द भने यताउता पारेर बोले। अर्थ सम्झाउँदै उनले भने – अहिलेको अवस्थामा यी कविता सान्दर्भिक छन्।

३. ओलीको चियो निम्तो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बोधको सार थियो- संविधानमा सबैको अधिकार समेटिएको छ। संविधानमा अधिकार नसमेटिको भए देखाउनुस्। त्यसपछि अन्तिममा उनले एमालेले मंगलबार गर्न लागेको चियापनको निम्तो दिए।  उनले भने– भोलि दशरथ रंगशालामा हुने एमालेको चियापानमा आउनुहोला है।' एमालेले आइतबार नै चियापानको मेनु सार्वाजनिक गर्दै चालिस हजार अतिथि आउने अपेक्षा गरेको थियो।

४. मिनेन्द्रको रमाइलो एमसी

कार्यक्रम सञ्चालक थिए सूचना तथा सञ्चार प्रविधि मन्त्री मिनेन्द्र रिजाल। उनले हँसिलो पाराले कार्यक्रम संञ्चालन गरे। मञ्चमा रहेका नेताहरुको बारेमा बोल्ने क्रममा उनले पूर्वप्रधानमन्त्रीहरु, पूर्वमन्त्रीहरुसँगै प्रधानमन्त्री बन्ने क्रममा रहेका नेताहरु पनि मञ्चमा रहेको भनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली मुस्कुराए। सम्बोधनका लागि ओलीलाई निम्त्याउँदा उनले नामै भन्न बिर्सिए। र, सच्याउँदै भने – मैले नाम नै भन्न परेन, केपी शर्मा ओली। रिजालले प्रधानमन्त्री सुशील कोइरालालाई सम्बोधनका लागि ड्यासमा बोलाउँदा 'मसिनो आवाज तर दृढ अडानका धनी' भने। सम्बोधनका लागि बोलाउँदा रिजालले वक्ताहरुलाई खुब विशेषण जोडिरहेका थिए।   

५. प्रधानमन्त्रीको जय नेपाल !

प्रधानमन्त्री सुशील कोइरालले समारोहमा लिखित सम्बोधन गरे। उनले देशमा राष्ट्रिय एकता र मेलमिलापको मन्त्र आवश्यक भएको बताए। सम्बोधनको अन्त्यमा भने कोइरालाले अलि ठूलै स्वरमा भने – जय नेपाल!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell