
धनगढी : कैलालीकोटीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भई अनुसन्धानका सिलसिलामा पक्राउ परेका ५८ जनाविरुद्ध आज कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला अदालतका श्रेस्तेदार जगदीप्रसाद भट्टले प्रतिवादीविरुद्ध कर्तव्य ज्यान, डकैती, चोरी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको जानकारी दिए। तीमध्ये ३६ प्रतिवादी फरार छन् भने २२ जनालाई अदालतमै उपस्थित गराई मुद्दा दर्ता गरिएको छ ।
फरार रहेका प्रतिवादीका हकमा उनीहरुविरुद्ध वारेन्ट सहित म्यादी पुर्जी जारी गर्न अदालत समक्ष माग गरिएको छ । थरुहटका नेता तथा इन्जिनियर धनीराम चौधरी लगायत फरार छन् ।
अनुसन्धानका सिलसिलामा पक्राउ परेका १४वर्षीय बालक करन चौधरीका हकमा भने म्याद थप गर्दा संरक्षक वा सामाजिक संस्थाको जिम्मा लगाई अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
गत भदौ ७ गते कैलालीको टीकापुरमा थरुहटको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा परी सेती अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।रासस