PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इन्धन बोकेका ८८ ट्याङ्कर काठमाडौं भित्रिए



इन्धन बोकेका ८८ ट्याङ्कर काठमाडौं भित्रिए

काठमाडौं : भारतले हिजो इन्धन बोक्ने गाडीलाई कडाइ गरेपनि आज काठमाडौंमा इन्धन बोकेका धेरै गाडीहरु भित्रिएका छन्।

तराइ मधेशमा प्रहरीको एस्कर्टिङको सहयोग लिएर पेट्रोलियम पदार्थ बोकेका ८८ वटा ट्याङ्कर काठमाडौं प्रवेश गरेका छन्। प्रहरीका अनुसार काठमाडौंको नागढुंगा नाकाबाट पेट्रोल बोकेका १८, डिजेलका २३, ग्यासका ३३, मट्टितेलका ३ र हवाइ इन्धन बोकेका ११ वटा ट्याङकर भित्रिएको छ। 

भारतले हिजो रक्सौलमा पेट्रोलियम पदार्थ लिन गएका ट्याङ्करहरुलाई सुरक्षाको कारण देखाउँदै नेपाल पठाउन रोक लगाएको थियो। साँझदेखि भने भारतले ती ट्याङ्करहरुलाई नेपालतर्फ जान दिएको थियो। तर भारतले कडाइ गरेसँगै पेट्रोलियम पदार्थको अभाव हुन सक्ने डरले काठमाडौंका पेट्रोल पम्पहरुमा तेल भर्ने सवारी साधनको लाइन लागेको थियो। 

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको अनिश्चितकालिन तराई मधेश बन्द र थरुहट संघर्ष समितिको थरुहट बन्द तथा संघीय लिम्बुवान पार्टीले अरुण पूर्वका ९ जिल्ला बन्दका कारण अलपत्र परेका धेरै गाडीहरुलाई पनि प्रहरीले एस्कर्टिङ गरी गन्तव्यमा पठाएको छ। 

पूर्व क्षेत्रका प्रहरीले पूर्व हुँदै पश्चिमतर्फ ९९ ट्रक, ८५ बस, ६९ कन्टेनर, १८ साना सवारी साधन र पश्चिमबाट पूवतर्र्फ ८३ बस, ६३ ट्रक, ४८ कन्टेनर, १२ साना सवारी साधनलाई एस्कर्टिङ गरी पठाएको छ। 

मध्य क्षेत्रका प्रहरीले पूर्वबाट पश्चिमतर्फ १५१ ट्रक, ८३ बस, १८ साना सवारी साधन र पश्चिमबाट पूर्वतर्फ ८० बस, ११५ ट्रक, १२ साना गाडीलाई एस्कर्टिङ गरी पठाएको छ। 

पश्चिम क्षेत्रका प्रहरीले पूर्वबाट पश्चिमतर्फ २११ बस, ३१७ ट्रक, १९३ साना  सवारी र पश्चिमबाट पूर्वतर्फ २३७ बस, २३७ ट्रक, १८७ साना सवारी साधनलाई एस्कर्टिङ गरी पठाएको छ। रुपन्देहीको बेलहिया नाकाबाट २३ डिजल र ६ वटा ग्यास बोकेको सवारी साधान नेपाल भित्रिएको प्रहरीले जनाएको छ। 

मध्यपश्चिम क्षेत्रको प्रहरीले पूर्वबाट पश्चिमतर्फ ५० ट्रक, ६० बस, १५ वटा साना सवारी साधन र  पश्चिमबाट पूर्वतर्फ ६४ बस, ५५ ट्रक र १५ वटा साना सवारी साधानलाई एस्कर्टिङ गरी पठाएको छ।

सुदूर पश्चिमको प्रहरीले पश्चिमबाट पूर्वतर्फ ५ बस, ५ ट्रक, ८ साना सवारी साधन र पश्चिमबाट पूर्वतर्फ ३ बस, १९ ट्रक र ८ वटा साना सवारी साधनलाई एस्कर्टिङ गरी गन्तव्यतर्फ पठाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell