PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​रेष्टुरेन्टहरुले आफै वियर उत्पादन गर्न पाउने



​रेष्टुरेन्टहरुले आफै वियर उत्पादन गर्न पाउने

काठमाडौं :  २० सिट क्षमता भएका रेष्टुरेन्टहरुले आफैं बियर उत्पादन गरेर बेच्न पाउने भएका छन्। सरकारले माइक्रो ब्रुअरी सम्बन्धी नीति स्वीकृत गरेपछि यस्ता रेष्टुरेन्टलाई बियर उत्पादन गरी बेच्न बाटो खुलेको हो।
 
नीति पास भएपछि अब माइक्रो ब्रुअरी खोल्न चाहने रेष्टुरेन्टले ७ प्रतिशतसम्म अल्कोहलयुक्त बियर उत्पादन गरी बेच्न पाउनेछन्। उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक प्रवर्द्धन समितिले माइक्रो ब्रुअरीसहितका रेष्टुरेन्टलाई पर्यटन उद्योग वर्गमा समावेश गर्ने निर्णय गरेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए।

उद्योग मन्त्रालयले लामो छलफलपछि माइक्रो ब्रुअरी सम्बन्धी अवधारणा कार्यान्वयनमा ल्याएको हो। मन्त्रालयले सुरुमा विदेशी चेन रेष्टुरेन्टलाई मात्रै माइक्रो ब्रुअरी खोल्न दिने तयारी थालेपनि अहिले २० सिटसम्मका रेष्टुरेन्टलाई अनुमति दिन लागेको हो।
 
सरकारले गरेको व्यवस्था अनुसार पक्की भवनमा मात्रै रेष्टुरेन्टहरुले माइक्रो ब्रुअरी सञ्चालन गर्न पाउँछन्। बियर उत्पादनका लागि चाहिने कच्चा पदार्थको भण्डारण, उत्पादन क्षेत्र तथा उत्पादित वस्तुको भण्डारण छुट्टाछुट्टै रुपमा गर्नुपर्नेछ। माइक्रो ब्रुअरी सञ्चालन गर्न चाहनेले क्लिन इन प्रोसेस फ्यासिलिटी तथा प्रयोगशालाको व्यवस्था पनि गर्नुपर्नेछ।
 
माइक्रो ब्रुअरीमा प्रयोग हुने ट्यांक तथा पाइपलाइन खिया नलाग्ने स्टिलको हुनुपर्ने मापदण्ड पनि मन्त्रालयले तोकेको छ। यस्ता पाइपहरु प्लास्टिकका बनाउनुपरेमा फुड ग्रेडको मात्रै प्रयोग गर्न पाउने व्यवस्था पनि नीतिमा गरिएको छ।
 
माइक्रो ब्रुअरी सञ्चालकले इन्धनको रुपमा विद्युत वा खाना पकाउने ग्यास मात्रै प्रयोग गर्न पाउनेछन्। यस्ता उद्योगले कम्तीमा एकजना अल्कोहल टेक्नोलोजिष्ट वा फुड टेक्नेलोजिष्टको प्रत्यक्ष निगरानीमा मात्रै बियर उत्पादन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। 

बोर्डको बैठकले यस्तो माइक्रो ब्रुअरी सहितको रेष्टुरेन्ट पर्यटन उद्योगको रूपमा वर्गीकरणमा समावेश गर्न राजपत्रमा सूचना प्रकाशित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

उद्योग मन्त्रालयले माइक्रो ब्रुअरीको सम्भाव्यता अध्ययन गर्न समिति नै बनाएको थियो। समितिले एकसय सिट क्षमताका रेष्टुरेन्टलाई मात्रै माइक्रो ब्रुअरी बनाउने अनुमति दिन सकिने प्रतिवेदन दिएपनि सरकारले सानाका लागि पनि बाटो खुला गरेको छ।

के हो माइक्रो ब्रुअरी ?

माइक्रो ब्रुअरी अर्थात क्राफ्ट ब्रुअरी जसले थोरै परिमाणमा बियर उत्पादन गर्छ। निश्चित क्षमताका होटल वा रेष्टुरेन्टले आफ्नै स्वामित्वमा बियर उत्पादन गरी आफ्ना ग्राहकलाई मात्रै बेच्ने अनुमति लिन्छन्। यस्ता माइक्रो ब्रुअरीलाई गुणस्तर, स्वाद र उत्पादन गर्ने प्रविधिका आधारमा वर्गिकरण गर्न सकिन्छ।
 
संसारमा माइक्रो ब्रुअरीको सुरुवात सन् १९७० को दशकमा बेलायतबाट सुरु भएको मानिन्छ। पछि यो संसारका विभिन्न मुलुकमा फैलिइसकेको छ। संसारकै पहिलो माइक्रो ब्रुअरी मेट्यागले संचालन गरेको मानिन्छ। अहिले अष्ट्रेलिया, अमेरिका, फ्रान्सलगायतका देशले माइक्रो ब्रुअरी संचालन गरिरहेका छन्।  
 
यी देशहरुमा संचालित माइक्रो ब्रुअरीले थोरै स्केलमा मदिरा उत्पादन गर्छन् र आफ्ना ग्राहकलाई मात्रै बेच्ने गर्दछन्। यसरी उत्पादन हुने बियर आधारभूत स्वास्थ्यको मापदण्ड पुरा गरेको हुनुपर्नेछ। यी देशहरुले बियर उत्पादनमा प्रयोग गर्ने सामग्रीहरु आम बियर उत्पादकले प्रयोग गरे अनुसारकै हुनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell