- जयसिंह महरा-
संविधान बनिसकेपछि तपाईंहरूको जनयुद्धमा पुछिएका सिन्दुर, बुढेसकालका बैशाखी गुमाएका बाआमा, बाआमाका औंला समातेर पाइला चाल्न नपाएका टुहुरा, घाइते योद्धा, युद्धमै वैंश खर्चेर अन्तिममा अयोग्य दरिएका लडाकु सबैको मनमा थियो – अब त देशमा विकास हुन्छ, शान्ति छाउँछ र हाम्रा सन्तति, बाआमाले दिएका बलिदानीको कदर हुन्छ। शरीरमा रहेका युद्धका डोबहरूले पुरिन पाउनेछन् र अझै रातदिन शरीरमा चलमलाइरहने गोलीका छर्राहरू बाहिर निकाल्न पाउनेछौं।
अनि ती गाउँले किसानहरू जसले आफ्नो पेट र नानीको खाजा कटाएर तपाईहरूलाई युद्धका बेला खुवाएका थिए तिनले सोँचेका थिए, अब त देश समुन्नतिको बाटोमा जानेछ। तर, तपाईंले 'एक युग सकिएको' घोषणाबाट ती हिजोकै अवस्थामा तर समुन्नतिको आशामा बाँचेकाहरूका सपनामा पानी फेर्नुभएको छ, ती घाइतेका खाटा बस्न लागेका घाउ उप्काएर नुनचुक छर्किदिनुभएको छ, आँशु लुकाउन सिक्नै लागेका टुहुराहरूलाई रुवाउनुभएको छ र बुढेसकालका साहारा गुमाएका बाआमालाई थला पार्नुभएको छ।
प्रिय बाबुराम!
जनतालाई लागेको थियो अब संविधान बनेपछि प्रचण्ड, बाबुरामहरूले हाम्रो उन्नतिको लागि केही गर्नेछन्, किनकी उनीहरूलाई तपाईहरूले राम्रोसँग चिन्नुभएको छ भन्ने लागेको थियो। तपाईहरूले सुदूर दुर्गममा बस्ने जनताका चुलामा पाकेको जो खानुभएको थियो। त्यसैले उनीहरूलाई लागेको थियो मेरो अध्याँरो झुपडीमा रात काटेको र मेरो अधिकांश भोको रहेको चुल्होमा पाकेको खाएर गएको मान्छेले म ज्युँदो छँदै यो घरमा उज्यालो र यो चुल्होमा दिनको दुई छाक पाक्ने व्यवस्था त गरिदिने छ।
तर जब संविधान बन्यो र देश समुन्नतिको आश गरिरहेको थियो प्रचण्ड बाबुरामहरूबाट त्यही बेला तपाईको 'नयाँ बाटो तय' गर्ने घोषणाले ती जनता जो तपाईंबाट देशको समृद्धि हुने आश गरिरहेका थिए उनीहरु 'भ्रम'मा थिए भन्ने पुष्टी गरिदिनुभएको छ।
प्रिय बाबुराम!
जब तपाईहरू आर्थिक, सामाजिक रुपमा पछि परेका वर्ग, क्षेत्र र लिंगका कुरा गर्न छोडी जातीयताका नारा उराल्दै बरालिनुभो त्यतिखेर ती जो बाहुन, क्षेत्री भैकन पनि, पहाडी, हिमाली भैकन पनि दिनको दुईचोटी हातमुख जोर्न पाएका थिएनन् छाँगाबाट खसेझैँ भएका थिए। जसले राज्यसत्ताको छायाँसम्म देख्न पाएका थिएनन् तिनैलाई लामो नाक र नाम पछाडिको थर हेर्दै राज्यसत्तामा 'हालिमुहाली' गर्ने जातको पगरी भिराउदा कम्ता दुखेका थिएनन् ती।
तैपनि तिनमा आश थियो पढेलेखेका र हाम्रो गाउँठाउँ बुझेका बाबुरामहरूले नै गर्नेछन् हामीलाई उद्धार भन्ने। तर तपाईंको जनजाति, मधेस र टिपिकल महिलाको हकको लागि लड्ने दृढताले बाहुन, क्षेत्री भएपनि गरिबीको चेपुवाबाट उम्कन खोज्दै गरेकाहरू थला परेका छन्।
प्रिय बाबुराम!
अब तपाईलाई हिमाल, पहाड, सुदुर पश्चिम, सुदूरपुर्वका गरिब बस्ती रोल्पा, रुकुम, हुम्ला, जुम्ला याद आउन छोडेजस्तो छ, र त लाग्नुभो दक्षिणतिर। तपाईँमा यस्तो कुराको बास भएछ जहाँ वर्षमा एकजोर लुगा फेर्न धौधौ पर्ने बाहुन राज्यकोषको सञ्चालक लागेछ र दिनका चारजोर लुगा फेर्ने, फाईभ स्टारमा खाना (त्यहाँ हुने खानाका परिकार थाहा छैन) खाने पछि परेका लाग्न थाल्यो।
तपाईंलाई जेठको धुपमा निधारको पसिना पैतलासम्म पुग्नेगरी भारी बोकेर बिहान बेलुकीको छाक टार्ने र बालबालिकालाई सरकारी स्कुलमा पढाउन समेत नसक्ने नसक्ने अवस्थामा रहेका पहाडी, बाहुन, क्षेत्री सामन्त र अधिकार सम्पन्न लागे तर पटक पटक मन्त्री भएका, एसीवाला गाडीमा सयर गर्ने, सन्तान विदेशमा पढाउने राजेन्द्र महतो, महन्थ ठाकुर, उपेन्द्र यादव, अमरेशकुमार सिंह, प्रशान्त झा, अशोक राई पिछडिएका लागे र लत्याउनुभो जनताले तपाईं प्रति राखेका आशाहरूलाई, बाहुन क्षेत्रीका भनेर।
अन्तमा…
प्रिय बाबुराम!
आज त तपाई दक्षिणतिर लागिसक्नुभयो होला, पहाडी खस बाहुनलाई नाकाबन्दी गर्नेहरूसँग काँधमा काँध मिलाउन। तर, कहिलेकाँही हिजो युद्धका बेलामा खाना खुवाउने चुलाहरू भोकै भएको समाचार देख्नुभयो भने च्यातेर फालिदिनु पहाडी खस बाहुनका कुरा भनेर।
अनि कुनै दिन गाडी जाममा परेका बेला तपाईले चलाएको जनयुद्धमा बाआमा गुमाएर सडकको साहारामा वा होटेलमा भाडा माझ्दै गरेको बालक देखे वा सबै छोराछोरी युद्धको आगोमा खरानी भएका बुढा बाआमा वृद्धाश्रम खोज्दै हिँडेको देख्दा यसो भन्नु, यस्ता दृश्य हेर्ने युगको अन्त्य भएको छ र गाडीको झ्याल कालोसीसाले बन्द गर्नु। र धिक्कार्नु ती युद्धका घाइतेहरूलाई, अझै पनि उही अवस्थामा छौं भनेर।
अनि दुत्कार्नु तपाईले गरिब गुरुवाहरूलाई चिन्नुभएको छ र संविधान निर्माण पछि तिनको उत्थानको लागि प्रचण्ड बाबुरामले एकसाथ काम गर्नेछन् भन्ने भ्रम पालेकाहरूलाई।
हिजोसम्म तपाईंको भलो चाहाने पहाडी क्षेत्री