PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​मधेश आन्दोलनमा भारतको स्वार्थ के हो?



​मधेश आन्दोलनमा भारतको स्वार्थ के हो?

  • कैलाश तिमिल्सिना-
हेर्दा, सोच्दा, सुन्दा र भन्दा अचम्म लाग्छ निकै लामो संघर्ष गरेर धेरै समयपछि संविधान पायो नेपालले। अब निकास हुन्छ देशमा विकास हुन्छ अमन चयनले शान्तिको स्वास लिँदै बाँच्न पाइन्छ भनेर सर्वसाधारणहरुले सुनौलो भविष्यको कल्पना गरिरहेका थिए।

खै सोचेजस्तो भएन, देश झन्  जातीय, क्षेत्रीय द्वन्द्वमा  हराउने जस्ता झिल्काहरु देखा पर्न थालेका छन्। भारतले पनि यसैको फाइदा लुटिराखेको छ। यस्तो हुनुको मूल कारण मधेश आन्दोलको समाधान समयमा खोज्न नसक्नु नै हो। यस्तो अवस्थामा जति सक्दो छिटो मधेश आन्दोलनको मागलाई कसरी हल गर्ने भन्ने विषयमा नै सबैको ध्यान जान जरुरी छ।

मधेश आन्दोलन तीन उद्देश्यले अघि बढेको छ। पहिलो मधेशमा हक अधिकारबाट बन्चित भएका, ठूला जात वा जमिन्दार वा राज्यको पहुँच भन्दा टाढा रहेका शोषित, निमूखा जनता, जसलाई संविधान बनेपछि आफ्ना दैनिक समस्याबाट मुक्ति हुन्छ भन्ने आश्वासन दिइएको थियो।

उनीहरुलाई  संविधान बने नबनेको या बनेको भए त्यसमा के  छ भने नै थाहा छैन त्यस कारण उनीहरु मधेश आन्दोलनको अग्रमोर्चामा छन्।
उनीहरुलाई भनिएको छ पहाडीहरुले तिमीहरुको अधिकार खोसेका छन्। यो बेलामा यसलाई जोडेर जति चर्को आन्दोलन गर्छौ उति तिमीहरुको अधिकार प्राप्ति हुन्छ भन्दै उक्साइएको छ।

दोस्रो मधेशका जमिन्दार, नेता, मुखिया जसले संविधान बनेपछि केन्द्र सरकारको रोकतोक बिना मुख्यमन्त्री बनेर मधेशी निमुखालाई अझ दास बनाउने सोँचमा छन् । उनीहरु मधेश आन्दोलनको दोस्रो मार्चामा छन् । तेस्रो पक्ष भारतलाई पनि यो आन्दोलन महत्वपूर्ण छ। आफुले चाहेजस्तो प्रदेश बनाउन सके मधेशको जंगल, पानी र श्रम आफुखुशी चलाउन पाउने।

मौका मिले रसियाले क्राइमिया छुट्याएझैँ नेपालबाट मधेशलाई छुट्याउने अभिप्रायका साथ भारत मधेश आन्दोलनको तेस्रो मोर्चामा छ। यसरी मधेश आन्दोलनका तीन ओटा पक्ष छन् र तीन ओटा उद्देश्य छन्। तर आन्दोलन एउटा मात्रै छ, यो नै मधेश आन्दोलनको पहिलो समस्या हो।

तीन पक्षमा पनि भारतले मधेशी जमिन्दारको  टाउकोमाथि बन्दुक राखी पड्काई राखेको छ। जब उसको स्वार्थ पूरा हुन्छ, भारतले यिनीहरुलाई गुलाम अर्थात दासको भन्दा कम सोच्ने छैन। त्यसैगरी मधेशी जमिन्दारले निमुखा मधेशीहरुको टाउकोमा बन्दुक राखी पड्काईराखेको छ। आफ्नो उद्देश्य पूरा भएपछि यिनीहरुले निमुखा मधेशीहरुलाई पूर्ण दास बनाउने कुरामा कतै द्धुविधा छैन।

निमुखा मधेशी यो कुरा बुझ्न नसकी आफ्नो हक, अधिकार गास, बास, कपासको लागि भन्दै आन्दोलन गरिरहेका छन् र नेपाल सरकारले उनीहरुमाथि बन्दुक हानिरहेको छ, जुन मधेश आन्दोलनको दोस्रो समस्या हो ।

माथि उल्लेखित समस्या समाधानको लागि निमुखा मधेशीलाई, मधेशी जमिन्दारसँग अलग राख्नुपर्छ। यसको लागि सबैभन्दा पहिला मधेशी पत्रकार, बुद्धिजीवि, समाजसेवी र नेपाललाई माया गर्नेहरुको मोर्चा बाँधी संविधान के हो? र यसले मधेशीहरुको हितको लागि के के नयाँ कुरा संविधानमा ल्याएको छ भनी बुझाउनुपर्छ।

दोस्रो, मधेशमा पहाडियाहरुले धेरै अधिकार पाएका छन् भन्ने हल्ला छ जसको कुनै आधार छैन् । उनीहरुलाई पहाडिया भन्दा कम अधिकार पाएका छैनौँ बरु समावेशीको आधारमा बढी अधिकार पाएका छौ भनी सम्झाउन सक्नुपर्दछ। यदि उनीहरुको अरु कुनै पूरा गर्नै पर्ने मागका गुनासोहरु छन् भने यो कारणले समाधान गर्न सकिएन, पछि यो यो तरिकाले पूरा गरिने छ भनी बाटो देखाउनु पर्दछ।

मधेशी जमिन्दारले पहिला पनि दास बनाएको र अहिले पनि उनीहरुलाई आन्दोलनको नाममा सत्तामा जानको लागि गोटी बनाएको कुरा बारे चेतना फैलाउनुपर्दछ। त्यसको लागि पर्चा, पेपर, पम्पलेटहरु छापी जनजागरण युक्त कार्यक्रमहरु गर्नुपर्दछ।

मधेशी नेताहरु, जस्तै राजेन्द्र महतो भारतबाट प्रयोग भएको र लगभग नेपालको राजनीतिबाट पहुँच गुमाइसकेको नेता हो। उनीहरुलाई मधेश आन्दोलन 'आए आँप गए झटारो' हो। यस्ता नेतालाई अरु नेता जस्तै मातृका यादव, राजकुमार लेखी भन्दा फरक दृष्टिकोणबाट हेर्नुपर्छ र अलग्याउनुपर्छ। किनभने मधेश आन्दोलनको नेतृत्व गरेका केही मधेशी नेताहरु विहान उठ्ने वित्तिकै दक्षिणतिरबाट दिनभरी गर्नुपर्ने कामको समय तालिका मागेर मात्रै घरबाट बाहिर निस्कछन्। उनीहरुले नै सर्वसाधारणहरुलाई ढाल बनाएर आन्दोलन गरिरहेका छन्।

विशेषगरी थारु आन्दोलन र मधेश आन्दोलन सँगसँगै हेर्नु मुर्खता हो। थारु आन्दोलनलाई तत्काल मधेश आन्दोलनबाट अलग्याउनुपर्छ र फरक तरिकाबाट हेरिनुपर्छ। विजय गच्छदार जस्ता नेतालाई सहमतिमा ल्याएर थारु आन्दोलनको छिटो भन्दा छिटो हल गरिनुपर्छ।

साँढेसँग लडेर टाउको फुटाउनु भन्दा पन्छाउनु वा बाँध्नुनै उचित देखिन्छ। त्यसैले सरकारले भारतसँग जतिसक्दो कुटनीतिक हिसाबले बार्ता गर्नुपर्दछ। त्यस्तै जनताले भारतको ब्यबहारलाई नंग्याउनुपर्छ। वार्ताका लागि भारत परस्त ट्याग लागेका बाबुराम भट्टराई तुरुपको एक्का हुन सक्छन्। माओवादी छोडेपछि उनले पनि सुरक्षित अवतरण ढिलो या चाडो खोज्नैपर्दछ।

भारतलाई नंग्याउनको लागि प्रत्येक देशमा भारतीय राजदूतावासमा धर्ना र विरोध गर्नुपर्छ। यसका लागि विदेशमा बस्ने नेपालीहरुले पहल कदमी लिनुपर्छ। यसका साथ साथै फेसबुक ट्विटरको उपयोग गरी भारत विरुद्धको अभियान चलाउनुपर्दछ। सरकारले चलाखीपूर्ण तरिकाबाट चीनप्रति नरम ब्यबहार चीन नाकाको सहजीकरण र तत्काल भारत चिढिन सक्ने खालको दिर्घकालीन चीनसँग ब्यापारिक सम्झौता ल्याउन सक्नुपर्दछ।

त्यसका साथै अशान्त नेपालले भारत कहिल्यै सुरक्षित हुनसक्दैन । भारतको शक्ति केन्द्र बन्ने उद्देश्य पूरा हुँदैन भन्ने कुरा भारतलाई बारम्बार जानकारी गराइ राख्नुपर्दछ। तर अन्ध देशभक्तको रुपमा आउने भारतीय झण्डा जलाउने, भारतीय नागरिकलाई दुर्व्यबहार गर्ने वा मारपिट गर्ने काम अहिलेको समय सापेक्षित हुँदैन।
 
अहिले मधेश आन्दोलनमा जति मान्छेहरु मारिएका छन्, घाइते छन् उनीहरु आफ्नो दासत्व मुक्तिको लागि भनेर आन्दोलनमा लागेका हुन्। उनीहरुलाई देश टुक्रियोस् या भारतमा विलय होस् भन्ने चाहना छैन। उनीहरु केही मुठ्ठी भरका नेताहरुको चलाखीपूर्ण तरिकाबाट प्रयोग भइरहेका छन्।

त्यसैले मृत्यु हुनेहरुलाई सहिद घोषणा गर्ने र घाइतेको राम्रो उपचार गर्ने कुरामा सरकारले कन्जुस्याईँ गरिनु हुँदैन। त्यसको साथसाथै यो आन्दोलनप्रति खाली नकारात्मक टिप्पणी गर्नु भन्दा यसलाई  सम्मान गर्दै उनीहरुका पूरा भएका माग सुनाउँदै पूरा नभएका जायज मागलाई विस्तारै पूरा गरिने बाटो देखाइदिनु पर्दछ।

अन्ततः मधेश आन्दोलन एउटा छ, तर उद्देश्य तीन ओटा छन्। दासत्वबाट मुक्ति, जमिन्दारको मुख्यमन्त्री बन्ने सपना र मधेशलाई आफु अनुकुल बनाउने भारतीय रणनीति। यसको समाधान पनि तीन तरिकाबाट गरिनुपर्छ र नेपाललाई भड्खालोमा हाल्ने तीन उद्देश्यको जालो च्यात्नुपर्छ येसका लागि एकले अर्कोको गाली र ताली भन्दा पनि सम्मान जनक ढंगको राजीतिक समाधान र एकता प्रदर्शन गर्नुपर्छ।

लेखक थाइल्याण्डको महिडोल विश्वविद्यालयमा डेमोग्राफीमा विद्यावारिधि अध्ययनरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell