PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

किन सम्झिए प्रचण्डले राष्ट्रकविलाई ?



किन सम्झिए प्रचण्डले राष्ट्रकविलाई ?

  • विष्णु निष्ठुरी -
“नेपाली हामी रहुँला कहाँ नेपालै नरहे,
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे”

सँधै चर्का भाषण गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुमै देशका दुई कविहरु सम्झिँदै उनीहरुका कविताका पङितहरु उच्चारण गरेर स्रोताका ध्यान आफूतिर खिचे। पहिला राष्ट्रकवि माधवप्रसाद घिमिरेका यी दुई पङित उच्चारण गरेका उनले त्यसपछि कवि गोपालप्रसाद रिमालको प्रख्यात कविता “आमा त्यो आउँछ र” सम्झिएका थिए। किन हो त्यसदिन प्रचण्ड निकै भावुक थिए। संविधान घोषणाको  खुसियाली मनाउनभन्दा तराईमा जारी हिंसात्मक आन्दोलनको चिन्ता उनको स्वरमा कम्पित थियो। बाबुराम भट्टराइको छटपटीले पनि दाहाललाइ चिन्तित बनाएको हुनसक्छ त्यसदिन उनी निकै द्रवित लाग्थे।

संविधान घोषणाको खुसियाली मनाउन सरकारले असोज ४ मा आयोजना गरेको सार्वजनिक समारोहमा एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रियताको महत्व दर्शाउँदै संविधानमा सबैको हक अधिकार समेटिएको प्रष्ट पारेका थिए। उनको जोड थियो - सबैका अधिकार संवैधानिक रुपमा सुनिश्चित भएको ऐतिहासिक अवसरको खुसियाली मनाउन छाडेर हिंसाको सहारामा आन्दोलन गर्नु वुध्दिमानी कदम होइन।

त्यसो त सभामा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी आलीले पनि उनीहरुका मौलिक शैलीमा स्रोतालाई सम्बोधन गरेका थिए।
अघिपछि प्रचण्डका चर्का आलोचक पनि संविधान घोषणाको उत्तरार्धमा उनले खेलेको समन्वयकारी भूमिकाबाट निकै प्रभावित देखिए। वास्तवमा तीन शीर्षको उच्च समझदारी नै संविधान घोषणा सम्भव बनाउन मुख्य कारण हो। कथंकदाचित त्यो डग्मगाएको भए संविधान घोषणा सम्भव थिएन। र, अहिले नआएको भए यो संविधान कहिले पनि आउने थिएन। पाश्र्वभूमिमा रहेर सक्दो मेहनत गरेकै थिए सभामुख सुवास नेम्वाङले।

संविधान त आयो आयो। रोक्न खोज्ने सबै प्रयासहरु तत्कालका लागि विफल भएका छन्। तर ढुक्क हुने अवस्था छैन। मित्रहरु आफ्नो छिमेकीलाई चैनको निन्द्रा सुत्न दिन चाहँदैनन्। छद्म भेषमा केही कुटील प्रयासहरु जारी छन् र जारी नै रहने आशा गर्न सकिन्छ। इतिहासको पाना पल्टाउने हो भने २००७ साल यता नेपालीहरुको लोकतन्त्र प्राप्तिका तमाम प्रयासहरु अवरुध्द गर्न आन्तरिक र वाह्य छद्मभेषीहरुको ठूलै मेहनत खर्च भएका तथ्यहरु देख्न सकिन्छ। इतिहासको यी कटु तथ्य र सत्यहरु स्मृतिमा राखेर शीर्ष नेताहरु अहिले कै अवस्थामा एकतावध्द भइरहुन भन्ने जनताको चाहना प्रष्टै देख्न सकिन्छ। तर, जनतामा आशंका पनि उत्तिकै छ : के यो सम्भव छ ? संविधान कार्यान्वयनको चुनौति त आफ्नो ठाउँमा छँदैछ। नेताहरुका सामु रहेको सबैभन्दा ठूलो चुनौति भनेको जनतामा उनीहरुप्रति रहेको आशंका मेट्नु नै हो।

पहिलो संविधानसभा असफल भएको तीतो घटना जनताले बिस्मृतिमा राखेर यसपटक प्रमुख दलहरुलाई साथ दिएका थिए। उनीहरु यदि पूर्वाग्रही हुन्थे भने प्रमुख दलहरु यसपटक पनि यसरी सफल हुनसक्ने थिएनन्। अहिलेका लागि तीन दलका मुखियाहरुले यत्ति कुरा चाहिँ बिर्सनु हुँदैन।

प्रधानमन्त्री कोइरालाले सुदूरपश्चिमबाट भ्रमण सुरु गर्नुभएको छ। यसले सकारात्मक सन्देश दिएको छ। उहाँले कैलालीबाट थालेको भ्रमण मुलुकका सबै अशान्त क्षेत्रमा पुग्नुपर्छ। खासगरी आफन्त गुमाएका परिवारलाई कोइरालाले प्रत्यक्ष भेट्नु पर्छ। तिनलाई नजिकबाट सुन्नुपर्छ। प्रधानमन्त्री स्थलगत भ्रमणमा जाँदा धेरै किसिमका भ्रमहरु चिरिन्छन नै। लामो अन्योलबाट ग्रस्त त्यहाँका नागरिकले पनि आफ्ना पछाडि पनि अभिभावक छन् भन्ने कुरा महसुस गर्न पाउने छन्। लामो हिंसात्मक आन्दोलन किन र केका लागि भएको हो भन्ने कुरा ती पीडित नागरिकले थाहा पाएका छैनन्। उनीहरु यसको सही सूचना पाउने हकदार हुन्। तिनलाई सही तथ्यसत्य जानकारी सरकारले र सम्बन्धित निकायले दिनैपर्छ। तराई मधेसमा अवरोध जारी छ। कहिले यो हिंसात्मक भएको छ त कहिले अन्तराष्ट्रिय नियमको ठाडो अवज्ञा गर्दै दुई देशीय सीमा बीचको 'नो म्यान्स ल्याण्ड'मा धर्ना बसेको छ। यो भन्दा पनि चर्को काम भएको छ मित्र राष्ट्र चीनको राष्ट्रिय झण्डा जलाएर गरिएको विरोध। यसले अधिकार माग्ने समुदायको के कति हित गर्छ यसै भन्न सकिदैन। तर, यसरी एउटा असल मित्र राष्ट्रको झण्डा जलाउनु नितान्त निन्दनीय कार्य हो। यो घटनाले पनि एउटा प्रष्ट जवाफ मागेको छ कि तराई मधेसमा जारी आन्दोलनको नायक को हो र सूत्रधार को ? के सतहमा देखिएका नेताहरु नै यसका नायक हुन या पर्दा पछाडि पनि कोही छ ? धेरथोर सूचनाहरु प्रकाशमा आइसकेका छन् तैपनि जनतालाई यसको सही जानकारी दिन अब ढिलो गर्नु हुँदैन।

यसका निम्ति अहिलेका सहयात्री दलहरुले एउटा विश्वासिलो संयन्त्र नै बनाउन आवश्यक छ। प्रधानमन्त्री मात्र स्थलगत भ्रमणमा गएर पुग्दैन, प्रमुख दलका शीर्ष नेताहरुले पनि तराई मधेसको यात्रा तालिका बनाइहाल्नु पर्छ। ती दलका भ्रातृ संगठनहरुको संयुक्त मोर्चा निर्माण गरेर गाउँदेखि केन्द्रसम्म संविधानका विशेषता जनतालाई बताउँदै हिड्नुपर्छ। यसरी समयमै संविधानको बारेमा हिमाल पहाड र तराईका जनतामा सही जानकारी पुग्न सक्यो भने झुटको खेती गर्ने समूहले समाजलाई अन्योलमा राख्न पाउँदैन। यो एकछिन पनि विलम्व नगरी सुरु गरिहाल्नु पर्ने काम हो। प्रमुख दलहरुले यसका लागि तत्कालै ठोस लिनु पर्छ। नत्रभने संविधान नै ओझेलमा पर्नसक्छ। यसै पनि अब नयाँ सरकार गठनको गृहकार्य सुरु हुँदैछ भने अन्य संवैधानिक निकायका प्रमुखहरुको निर्वाचन पनि गर्नुपर्ने छ। यी सबै कार्य सम्पन्न गरिसकुन्जेलमा चाडपर्वले सबैलाई व्यस्त बनाउने छ। यसरी पनि संविधान प्रचारको काममा कुनै पनि बहानामा विलम्व गर्नु उचित देखिँदैन।

यो जिम्मेवारी केवल दलहरुको मात्र होइन। समाजमा अरु पनि महत्वपूर्ण क्षेत्रहरु छन् जसले देशमा स्थायित्वका लागि काम गर्नु पर्दछ। जनआन्दोलनका बेला काम गरेका पेशागत संगठनहरु छन् जसको देशव्यापी संगठन सञ्जाल छ। तिनीहरुले पनि यो मौकामा संविधान प्रचार र स्थायित्वका पक्षमा आफूलाई सक्रिय बनाउनु पर्छ। देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सपना जजसले पालेका थिए आज यो प्राप्त भइसकेको अवस्थामा हात बाँधेर बस्न कसैलाइ पनि सुहाउँदैन।

राष्ट्रकविका कवितामा एकछिन भावुक हुन त सजिलो छ।  कवि रिमालका कविताको जोशले जोशिन सजिलो छ। तर मैदानमा उत्रिएर त्यसलाइ परिणाममा रुपान्तरण गर्नु भने निकै कठिन काम हो। यतिबेला पुष्पकमल दाहाल र उहाँका सहयात्री दलहरुले अशान्त मैदानमा पुगेर व्यथित नागरिकको चहर्‍याइरहेको मनमा मल्हम लगाउने बेला हो। सुरुङ युध्दको कथा सुनिसकेका जनताले अब साइकल चढ्ने कथामा अल्मलिने छैनन्। अबको युग सञ्चार युध्दको युग हो जो शान्तिपूर्ण हुन्छ। समयले कोल्टे फेरिसकेको छ। देशका युवाहरुको आवाज सुनेर अघि बढ्ने बेला हो यो। सबै दलहरुले यसमा ध्यान दिउन, यही नै अहिलेका लागि उपयुक्त कदम हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell