PahiloPost

Oct 23, 2024 | ७ कात्तिक २०८१

चीनको सिगात्सेबाट पेट्रोल ल्याउने पक्षमा आयल निगमका अधिकारी



चीनको सिगात्सेबाट पेट्रोल ल्याउने पक्षमा आयल निगमका अधिकारी

काठमाडौं : नेपालले चाहे इन्डियन आयल कर्पोरेसन(आइओसी) बाहेक तेस्रो मुलुक र कम्पनीसँग पनि पेट्रोलियम किन्न सक्ने प्रावधान छ । नेपालले भारतसँग मात्रै पेट्रोलियम किन्नु पर्ने बाध्यता नरहेको नेपाल आयल निगम (एनओसी)का अधिकारीहरु बताउँछन् । 

इन्डियन आयल कर्पोरेसनसँग मात्रै पेट्रोलियम किन्न सक्ने प्रावधान रहेको भ्रम आम सर्वसाधारणमा छ। तर एनओसी र आईओसीबीच चार वर्ष अघि भएको सम्झौतामा यस्तो प्रावधान छैन। 

'हामीले तेस्रो मुलुकबाट पनि पेट्रोलियम ल्याउन सक्ने प्रावधान छ, निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भने, सरकारकाे निर्देशन अहिलेसम्म अाएको छैन, त्यस्तो निर्देशन अाए हामी अघि बढ्छौं‌ ।'
 
भारतले पेट्रोलियम पदार्थमा रोक लगाए तेस्रो मुलुकबाट आयात गरेर ल्याउनसक्ने प्रावधान रहेको छ । आयल निगमका अधिकारीहरु  त्यही प्रावधान टेकेर तेस्रो मुलुकबाट तेल ल्याएर भएपनि आपूर्ति सहज बनाउनेतर्फ गृहकार्य थाल्नुपर्ने पक्षमा छन् । 
 
आयल निगम र आइओसीबीच भएको आपूर्ति सम्झौंतामा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आयात गरेर ल्याउन सकिने उल्लेख छ । तेस्रो मुलुकबाट तेल ल्याउँदा आइओसीलाई  जानकारी भने दिनुपर्नेछ । आइओसीलेनै तेल रोकेको अवस्थामा तेस्रो मुलुकबाट ल्याउन कुनै कठिनाई नहुने ती अधिकारीले बताए। 
 
‘निगम र आइओसीबीचको आपूर्ति सम्झौतामा तेस्रो मुलुकबाट समेत तेल ल्याउन पाउने अधिकार सुरक्षित छ,’ निगमका एक अधिकारीले भने, ‘अब हामीले त्यो विकल्प प्रयोग गरेर भएपनि तेल ल्याउनुपर्छ ।’ उनका अनुसार सबै विकल्प प्रयोग गरेर पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपर्ने अवस्था आइसकेको छ । 
 
‘हामी भारतसँग पूरै निर्भर हुँदा उनीहरुले हामीलाई झुकाउने परिस्थिति बनेको छ । उनीहरुले तेल आपूर्ति रोकेर सार्वभौमिकतामा धावा बोल्न खोज्दैछन्,’ ती अधिकारीले भने, ‘ महँगो भएपनि अब हामीले उत्तरी नाका चीनबाट तेल ल्याउनु पर्छ । ’ ती अधिकारीका अनुसार चीनको सिगात्सेसम्म रेलमार्ग हुँदै तेल आइसकेको छ । त्यहाँबाट ट्यांकरमा राखेर नेपालसम्म ल्याउन सकिने ती अधिकारीले बताए । 
 
निगमले जति परिमाणको तेल अन्य कम्पनीसँग किनेको हो त्यही परिमाणको तेल आइओसीले नेपालका अन्य निजी कम्पनीलाई बिक्री समेत गर्न पाउँछ । 

नेपालले सन् १९९६सम्म आफुलाई चाहिनेजति तेल  तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर आइओसीलाई दिने र उसले प्रशोधन शुल्क लिएर तयारी पेट्रोलियम पदार्थ दिने गथ्र्यो । त्यो समयसम्म तेस्रो मुलुकबाट डिजलको लागि आवश्यक कच्चा पदार्थ मात्रै आउँथ्यो । तर पेट्रोलको खपत कम भएकोले भारतले तयारी नै दिने गरेको थियो । सन् १९९६पछि सबै तयारी पेट्रोलियम पदार्थ दिनसक्ने भन्दै तेस्रो मुलुकबाट ल्याउन नेपालले बन्द गरेको थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell