- मनोज सत्याल/पहिलोपोस्ट-
तर फेसबुकमा नकारात्मकतामात्रै छैन, सकारात्मक कुरा पनि छ। यही साता सुरु गरिएको एउटा फेसबुके अभियानलाई प्रयोगकर्ताहरुले खुलेरै प्रशंसा गरेका छन्।
********************
अहिले पेट्रोलियम पदार्थको हाहाकार छ। इन्धन संकट चुलिएपछि बिहीबारदेखि सरकारले निजी सवारी साधनहरुलाई पेट्रोलियम पदार्थ दिनै छाडिसकेको छ। साताको सुरुमै जोर बिजोर प्रणाली लागू भएपछि राजधानीवासीले गन्तव्य पुग्न कठिनाई बेहोर्दै आएका छन्।
निकै कम मात्रामा सवारी साधन चलेपछि हिँडेरै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ। सार्वजनिक सवारी साधनले छतमा यात्रु राखेर जोखिमपूर्ण रुपमा सवारी सञ्चालन गर्न थालिसकेका छन्। तर थोरै मात्रामा भए पनि निजी सवारी साधन (मोटरसाइकल र कारहरु) सडकमा चलेका छन् जसमा एक जना अथवा दुई जना मात्र हुने गर्छन्।
*******************
सुमना श्रेष्ठ ट्याक्सी र सार्वजनिक सवारी साधन नपाएपछि बाटोमा हिँड्दै थिइन्। तर एक्कासी उनको खुट्टामा समस्या भयो। उनी हिँड्नै नसक्ने भइन्। सवारी साधन पाउने अवस्था नदेखेपछि उनले लिफ्ट माग्नुपर्ने आवश्यकता देखिन्।
‘मैले बाटोमा देखेँ, कोही आफ्नै बाइकमा, कोही कारमा एक्लै हिडिँराखेका छन्। त्यसपछि मैले सोचेँ लिफ्ट मागौँ। अवश्य नै मैले यसमा सुरक्षाको समस्या त हुन्छ भन्ने बुझेँ तर समस्या परेपछि समाधान त निकाल्नै पर्छ’, श्रेष्ठले पहिलोपोस्टसित भनिन्।
आफैँले भोगेको समस्याबाट उनले सयौँका लागि समाधान निकालिन्। आइडिया थियो – कारपुल काठमाडौँ। एउटा फेसबुक ग्रुप।
‘मलाई मात्र यस्तो समस्या थिएन, धेरैको समस्या थियो, मैले सोचेँ किन एउटा यस्तो कम्युनिटी नबनाउने! म जस्तो धेरै मानिस हिँडिराखेका छन्। खुट्टामा थुप्रै समस्या उत्पन्न भएको होला त्यो प्रब्लम पनि सल्भ हुन्छ, अनि म गएर एउटा क्याफेमा बसेँ र एउटा सामाजिक कम्युनिटी बनाए – कारपुल।
कारपुलको फेसबुक ग्रुप छिट्टै भाइरल भयो। अहिले साढे १८ हजार भन्दा धेरै यसमा जोडिएका छन्। तीन दिनमै समुदाय जुटेको देखेर सुमना मख्ख छिन्। सुरुमा ग्रुप बनाउँदा धेरै मान्छेले लिफ्ट माग्छन् र थोरै मान्छेले मात्रै लिफ्ट दिन्छन् भन्ने सोचेको उनले बताइन्।
‘जब मैले यो प्लेटफर्म बनाएँ, लिफ्ट माग्ने मात्र हुन्छन्। ‘अफर’ हुदैँन भन्ने सोचेँ। आइ वाज कम्पलिटली रङ, सो रङ’, अमेरिका पढेर काठमाडौँ फर्किएकी उनले अंग्रेजी लवजमा भनिन् ‘अहिले पोस्ट हेर्यो भने आधा अफर र आधा आस्क छ’।
कारपुलको फेसबुक पेजबाट कसैलाई लिफ्ट दिनुपर्यो भने ह्यासट्याग अफर र माग्नु पर्यो भने ह्यासट्याग आस्क गर्ने नियम बनाइएको छ। सुमनाले बनाएको प्लेटफर्ममा सहयोग गर्नेहरु थपिए। उनीहरुले नै ह्यासट्याग राख्नेबारेको नियम बनाउन सहयोग गरे।
कारपुल कस्तो हुँदैछ?
कारपुल काठमाडौँका सुरुवातका पोस्टहरुमा कतिपयले केटी र महिलालाई मात्र लिफ्ट दिने लेखे। नेपाली समाज सङ्कीर्ण खालको छ।‘चिन्दै नचिनेको मान्छेले अफर गर्दा सेक्युरिटी रिस्क त हुन्छ नै। तर धेरै मान्छेले वुमनलाइ मात्र अफर गर्छु भन्नुभयो। अनि धेरै गुनासोहरु आए केटाहरुले किन नपाउने भनेर’, श्रेष्ठले भनिन् – ‘मैले अनि सेफ कम्युनिटी बनाउँ भनेँ, यदि कसैले महिलालाई मात्र लिफ्ट दिन्छ भने ठिकै छ भनेँ। कम्तिमा महिलाको समस्या सल्भ हुन्छ। बरु सुरक्षित पो हुनुपर्यो’।
सुमनाले नेपाली समाजको पुरातन सोच विस्तारै परिवर्तन हुँदै गएको बताइन्। परिवार र साथीलाई मात्र नभई अरुलाई पनि सहयोग गरौँ भन्ने विकसित हुँदै गएको आफूले पाएको उनले सुनाइन्। कारपुलको फेसबुक पेजमा पनि उनले लेखेकी छिन् – ‘यदि कसैले महिलालाई मात्र अफर गर्छ भने उनीहरुलाई त्यसै गर्न दिउँ’।
अहिले त महिला मात्रै समावेश हुने कारपुल नेपाल (वुमेन) नामको छुट्टै ग्रुप पनि खुलिसकेको छ। त्यसमा पनि यो समाचार तयार पार्दासम्म ८ सय सदस्य भइसकेका छन्।
‘अहिले धेरै मान्छेले सहयोग पाएका छन्’, खुसी हुँदै र हाँस्दै सुमनाले भनिन्, ‘म अलिकति सोलुसन ओरियन्टेड माइन्डसेटको छु है, मेरो विश्वास के हो भने - इफ यु सि अ प्रब्लम सल्भ इट’।
नेपालको ट्रान्सपोर्टेसनमा सुमनाले धेरै समस्या समाधान देखेकी छिन्। अहिले भूकम्प पछिको रिकभरी स्ट्राटेजी बनाउन व्यस्त छिन् उनी। म्यानेजिङ कन्सल्टेन्ट रहेकी सुमना परिवर्तनका लागि माग गर्ने भन्दा आफू पनि परिवर्तनमा सहभागी हुनुपर्ने बताउँछिन्।
‘हामी आफ्नो समस्या समाधानका लागि कुनै विदेशसँग परनिर्भर हुनु भन्दा एनजिओ आइएनजीसँग निर्भर हुनु भन्दा आफैँले समस्याहरु समाधान गरौँ’, सुमनाले भनिन्, ‘हामी आफैँले मन लगायौँ र बल गर्यौँ भने परिवर्तन अवश्य हुन्छ’।
कसरी पाउने लिफ्ट?
निकै कम सवारी साधन चलेका छन् राजधानीको सडकमा। यस्तो बेला तपाइँ एक्लै सवारी साधनमा निस्कँदै हुनुहुन्छ फेसबुकको कारपुल ग्रुपमा अफर गर्न सक्नुहुन्छ। यदि तपाइँसँग सवारी साधन छैन भने कुन ठाउँबाट कुन ठाउँसम्म जाने उल्लेख गर्दै लिफ्ट माग गर्न सक्नुहुन्छ। त्यसका लागि तपाँइले ह्यासट्याग आस्क गर्दै ठाउँ र समय लेख्नुपर्ने हुन्छ।आफैँसँग समेत निजी सवारी साधन नभएकी सुमना केही दिन भित्रै कारपुलको एप नै लन्च गर्ने तयारीमा छिन्। यसका लागि उनलाई साथीहरुले सहयोग समेत गरिराखेका छन्। ‘दुई तीन दिनमा हाम्रो मोबाइल एप नै आउँछ’। कारपुलले नेपालको पब्लिक ट्रान्सपोर्टेसनमा मद्दत पुग्ने उनको विश्वास छ।
के हो कारपुलिङ?
नेपालका लागि नयाँ कन्सेप्ट भए पनि अमेरिका र युरोपमा निकै अघिदेखि कारपुलिङ भइरहेको छ। यसलाई कारपुलिङ, कार सेयरिङ, राइड सेयरिङ, लिफ्ट सेयरिङ पनि भनिन्छ। सन् १९७३ मा इन्धन संकट हुँदा अमेरिकामा कारपुलिङलाई प्रोत्साहन गर्न ब्यानरहरु समेत बनाइएका थिए।दोस्रो विश्वयुद्धपछि अमेरिकामा पेट्रोलियम पदार्थमा कोटा प्रणाली लागू गर्दा पहिलो पटक कार पुलिङ चलेको मानिन्छ। १९७३ र १९७९ को इन्धन सकटको क्रममा कारपुल अझ लोकप्रिय भयो।
युरोपको जर्मनी र फ्रान्समा कारपुलिङका लागि ब्लाब्लाकार साइट निकै चलेको छ। त्यस्तै कारजू डट इयु पनि चलेको साइट हो। यी साइटको माध्यमबाट लाखौँले कारपुलिङ गर्छन्।