PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

अहम् र आडम्बर 'च्यातिएको पर्दा'



अहम् र आडम्बर 'च्यातिएको पर्दा'

  • वैकुण्ठ ढकाल-
खै के हो, गुदी धमिराले चुसेर खोक्रो बनाईसक्दा पनि केहि नभएको अभिनय गर्नमा अभिसप्त छ । अनुहारमा मुजाको हार लागे पनि के के लिपपोतले त्यसलाई छोप्ने भरमग्दुर प्रयास गरिन्छ । मान प्रतिष्ठा र ईज्जत पनि कस्मेटिक सुन्दरताले छोप्ने प्रयास भइरहेका छन् । विसं २०१६ सालमा प्रकाशित गोबिन्दबहादुर मल्ल गोठालेकृत ‘च्यातिएको पर्दा’ अहिले काठमाडौं सुन्धरास्थित थियटर मलमा मञ्चन भइरहेको छ । पहिलेका कुलीन र सम्पन्न भनाउँदाहरू विपन्न अवस्थामा पुग्दा पनि संस्कारजन्य मनोदशाका कारण बाहिर काम गर्न जाँदा बेइज्जत हुने ठानी घरैमा थापिएको भट्टीपसलका माध्यमबाट आफ्नी छोरीलाई ग्राहक रिझाउने काममा लगाउनसमेत पछि पर्दैनन् । यो सत्यलाई नाटकमा सजिव ढंगले प्रस्तुत गरिएको छ । 



नाटकमा कथित घरानियाँको खोल ओढेका आवारा स्वाँठहरूसँग लागेर आफ्नो अस्मिता गुमाउनुभन्दा बरु अर्कै विवाहित गुन्डासँग पोइल जाने निधो गरिएका वस्तुस्थितिको चित्रण गरिएको छ । छोरीको अस्मिता बेचेर आफ्नो पुरानो आडम्बर जोगाउन खोज्ने कथित कुलीन भनाउँदाहरूप्रतिको आक्रोश र विद्रोह प्रस्तुत गरिएको यस नाटकमा नवधनाढ्यहरूका कथनी र करणीबीच बेमेल उदाङ्गो पारिएको छ ।
५६ वर्ष अगाडिको काठमाडौँको तत्कालीन परिवेशलाई मुख्य कथावस्तु बनाएर लेखिएको नाटक ‘च्यातिएको पर्दा’ लाई युवा निर्देशक सुदाम सिकेले समसामयिक बनाएका छन् । कुलीन र सम्भ्रान्त भन्नेहरुले महिलालाई हेर्ने दृष्टि र महिलाको अवस्थालाई नाटकमा चित्रण गरिएको छ।
नाटकमा भट्टीपसलमा गएर रक्सीको तलतल मेट्न भन्दा पनि यौनको प्यास मेट्ने दाउमा ग्राहकहरु रहेका छन् । नाटकका मूख्य चरित्र आमाछोरीको रोजाई फरक छ, सोचाई फरक छ । यसले आमाछोरीमा ठूलो द्वन्द्व देखाएको छ । छोरी आफ्नो रुप यौवनले मख्ख छिन्, आफ्नो रुप यौवनले सबैको मन जित्न सकिन्छ, बसमा पार्न सकिन्छ भन्ने घमण्ड गर्छिन्, आमालाई पनि आफू कूलीन घरकी छोरी भएको धङधङी बाँकी नै छ । आमाको भूमिकामा विजया कार्की र छोरीको भूमिकामा आकृति श्रेष्ठले न्याय गरेका छन् । भट्टीमा रक्सीभन्दा बढी महिलाको यौवन बिक्छ भन्ने कथनलाई यथार्थमा देखाउन खोजिएको छ, त्यसमा नाटक सफल देखिएको छ । छोरी सबैलाई आफ्नो यौवन चुसाएर बस्नु भन्दा कसैसँग भागेर जान्छु भन्दा आमाले जान दिन्नन् किनकि बैँसकी छोरीले भट्टी छाड्दा त्यसले आर्थिकरुपमा पार्ने असर आमाले पहिल्यै आँकिसकेकी हुन्छिन् । 



भट्टीमा रक्सी बेच्ने महिलालाई त्यहाँ आउने सबै पुरुषले राम्रो दृष्टिले हेर्न नसक्ने कुरालाई भट्टीमा नियमित रक्सी पिउन आउने दुई पुरुषले प्रमाणित गरिदिन्छन् । दुवै पुरुष विवाहित हुन् । एउटाले घोषित रुपमा नै छोरी अनुलाई दोस्रो पत्नी स्वीकार्छु भनेर लैजाने प्रयास बारम्बार गरिरहन्छ भने अर्कोले अघोषित रुपमा माया गर्ने दाबी गरिरहेको हुन्छ ।

कथित तल्लो जात र लफङ्गाको पदवी पाएको गोकुलले आफू दुवै पत्नीलाई बराबर माया र हरेक आवश्यकता पूरा गरिदिने प्रलोभन देखाउँदै दोस्रो पत्नी बन्न अनुलाई आग्रह गरिरहन्छ । अर्को समाजमा सभ्य कहलिएको पुरुष जनक भने बाहिर नदेखाउने तर भित्रभित्रै माया गर्ने प्रवृत्तिको हुन्छ । 



अनुका दाइ आफ्ना हाकिमका छोरा जनक भट्टीमा आएका बेला उनको अफिसमा आफू ‘टाइपिस्ट’ का रुपमा रहेकाले अब बढुवा गरेर मधेसमा सरुवा गर्न बारम्बार चाकडी गरिरहन्छ । जनकमार्फत उसका बालाई भनेर मधेस जान पाए टन्न पैसा कमाउन सकिन्थ्यो भन्ने सोचमा उसमा छ । तराईमा सरकारी कर्मचारीले घुसखोरीमा लिप्त भएर छिट्टै धनी हुन सक्छन भन्ने उसलाई लागेको छ । आमा र बहिनीलाई त्यही भट्टी पसलमा छाडेर मधेसमा विवाह गरी जान ऊ हतारिन्छ । केटी पनि खोजिसकेको गर्वका साथ भन्छ । टाइपिस्ट भएर उसले भने जस्तो जिन्दगी जीउन नसकिने पनि बताइरहेको हुन्छ । तर उसको कुरा उसकै बहिनीले पत्याउँदिनन, हाँसोमा उडाउँछिन् । कसैले पनि उसको कुरो नपत्याएकोमा ऊ विचलित, अपमानित महसुश गर्छ, भित्रभित्रै मुरमुरिन्छ, पाक्छ, थाक्छ के के हुन्छ हुन्छ । अवसर पाएमा मानिसले आफ्नो जन्म दिने आमा, बाबु, परिवारलाई लात हान्न पछि पर्दैन भन्ने उसको चरित्रले देखाउँछ ।



नाटकमा अर्की युवती पार्वती देखा पर्छिन् । उनी कुनै विवाहित पुरुषको आवश्यकता पूरा गर्ने साधन भएकी छिन् । आधा रातमा भट्टी पसलमा आफ्ना पुरुषका लागि रक्सी लिन आइपुग्छिन् । उनलाई आफू त्यसरी उसको ‘रखौटी’ भएर बस्नुपर्दा कुनै पछुतो लागेको छैन । वैध पत्नि पनि हुनु छैन उनलाई । यसमै रमाइरहेकी छन् । 

आकृति श्रेष्ठ, विजया कार्की, केदार श्रेष्ठ, जीवन भट्टराई, प्रकु पाण्डे, कविर खड्का, कुशल पाण्डे, दिलजङ्ग गुरुङ र सञ्जिता सज्जीको अभिनय रहेको नाटक च्यातिएको पर्दाले भट्टी पसलभित्र नै समाजमा रहेका सम्पूर्ण चरित्रलाई देखाउन सफल भएको छ । भट्टीको दृश्य बाहिरबाटै नियाल्नेहरुलाई पनि बास्तबिक भट्टीमा पसे जस्तै लाग्छ । मानिसले रक्सी लागिसकेपछि आफ्नो असली अनुहार देखाउँछ भने जस्तै भट्टीमा पात्रहरुको विकृतरुप छरपष्ट हुन्छ, च्यातिएको पर्दाले लाज ढाकिन्न भन्ने मान्यतालाई नाटकले देखाएको छ । एउटा पर्दा, त्यहाँमाथि च्यातिएको । के ढाकोस् लाज, के छोपोस् वाास्तविकता । 



मानिसले सबै कुरा आफू अनुकुल ब्याख्या गर्छ भन्ने पनि नाटकले देखाएको छ । नाटकका पात्रहरुले आफ्नो भूमिकामा न्याय गरेका छन् । यद्यपि आमाछोरीको उमेरान्तर देखाउने भेषभूषा र साजसज्जा गर्नुपर्ने देखिन्छ । सम्वाद पनि पनि बलियो छ तर ७० मिनेटको नाटकमा एउटै पात्रको लगातारको सम्वाद केहि झिजोे लाग्नु अस्वभाविक हैन ।

नाटक असोज २५ गतेसम्म हरेक दिन साँझ साढे ५ बजे थियटर मलमा मञ्चन हुने छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell