PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

१७६ वर्षका पुरुष खोटाङमा जीवितै, कसरी ?



१७६ वर्षका पुरुष खोटाङमा जीवितै, कसरी ?

खोटाङ :  नागरिकतामा उल्लेख भएको जन्म मितिलाई आधार मान्ने हो भने दक्षिणी गाविस खोटाङबजार–७ का गणेशप्रसाद गेलाल गाविसमा मात्र नभएर विश्वकै ज्येष्ठ नागरिक हुन्। 

२०४२ सालमा जारी भएको गेलालको नागरिकतामा जन्ममिति १८९६ साल कात्तिक ४ गते उल्लेख छ।

तर उनको वास्तविक उमेर १७६ वर्ष भने हैन। नागरिकता दिने टोलीका कर्मचारीले १९९६ साल लेख्नुपर्ने ठाउँमा १८९६ साल लेख्दा गेलालको उमेर १७६ वर्ष पुगेको पाइएको गाविस सचिव गोविन्द पराजुलीले बताए। 

छिमेकी टीकाराम राईका अनुसार गल्ती गणेशप्रसादको आफ्नो होइन, कमजोरी नागरिकता प्रमाणपत्रमा लेख्ने कर्मचारीको हो। सामाजिक सुरक्षा भत्ता थाप्न पनि छिटो भयो । तर, त्यसका कारण सिर्जित प्रश्नको झटारोको सामना गर्न बाध्य छन् गेलाल परिवार । कान कम सुन्ने गेलाल र कर्मचारीबीचको ‘सञ्चार ग्याप’ का कारण नागरिकतामा गलत जन्ममिति उल्लेख हुन पुगेको स्थानीयको अनुमान छ । 

गेलाल परिवारले नागरिकता सच्याउनका लागि आवेदन दिए सच्याउन सकिने गाविस सचिव पराजुली बताउँछन् । 

गत वर्ष गाविसका ज्येष्ठ नागरिकलाई सम्मान गर्नेक्रममा गणेशप्रसादको नामलाई लिएर केही विवादसमेत भएको थियो। गाविसमा खास जन्ममितिका आधारमा सम्मान पाउने अरु वृद्धवृद्धा थिए। नागरिकता र प्रमाणका आधारमा सम्मान पाउने गेलाल थिए। 

सामाजिक सुरक्षा भत्ताकै लागि आवेदन दिएपछि मात्र गेलाल वास्तविक उमेरभन्दा सय वर्ष जेठो बनेको खुलासा भएको थियो। “उहाँले जन्ममिति सच्याउन चाहेर निवेदन दिए सच्याउन सकिन्छ, गल्ती सच्याउनु नै राम्रो हो”–गाविस सचिव पराजुलीले भने। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell