PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पाँच तारे होटलमा १३ सयमै डिनर !



पाँच तारे होटलमा १३ सयमै डिनर !

काठमाडौं : भुकम्प त्यसपछि नाकावन्दीबाट प्रभावित राजधानीका ठूला होटलले नेपाली ग्राहक लक्षित योजना बनाउन थालेका छन्। भुकम्पको मारमा परेको पर्यटन उद्योगलार्इ नाकावन्दीले ठूलो असर परेको छ।

सिजनको बेलामा पनि अधिकांश ठूला होटलको अकुपेन्सी दर निक्कै कम छ भने त्यसको मार होटल भित्र हुने रेष्टुरेण्टलाई पनि परेको छ।

काठमाडौंका अधिकांश होटलले अहिले नेपाली लक्षित योजना बनाएका छन्। त्यसैगरी सभा, समारोहका लागि पनि सस्तो मूल्यमा प्याकेज दिन थालेका छन्। 

यसै क्रममा पाँच तारे सांग्रिलाले दशैंको अवसर पारेर नेपाली उपभोक्ताका लक्षित डिनर योजना ल्याएको छ । सांग्रिला होटलले 'यो दशैं मनाऔं सांग्रिला'मा भन्ने उद्देश्यका साथ नयाँ योजना ल्याएको हो । तीनदिने यो योजना मंगलबार, बुधबार र विहीबारसम्म चल्ने होटलका सेल्स असिस्टेन्ट म्यानेजर बबिता पाण्डेले जानकारी दिइन् ।

१७ किसिमका खाना १३ सयमा

होटलले नेपाली खानाको परिकार मात्रै उपलब्ध गराउने गरी यो योजना सार्वजनिक गरेको हो । 'यसमा टिपिकल नेपाली खानाको परिकार मात्रै समावेश हुनेछ,' सांग्रिलाका एक्जुकेटिभ सेफ महेशराज ढकालले भने, 'नेपाली ग्राहकका साथै विदेशी ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याइएको हो ।' यो मेनुमा डेजर्टसहित १७ किसिमका खानेकुरा समावेश गरिएको छ ।

दशैंलाई लक्षित गरी ल्याइएको मेनूमा खसीका परिकार र नेपाली खानालाई जोड दिइएको छ । यो डिनर प्याकेज सम्पूर्ण करसहित १२ सय ९९ रुपैयाँ रहेको छ । यो खानाको मेनु अनुसार स्न्याक्समा खसीको रक्ती, कलेजो, फोक्सो साँधेको, चिउरा र सिद्रा, साधेंको कालो भटमास र आलुको अचार समावेश गरिएको छ ।

यस्तै आलु तामा र बोडीको सुप पनि यसमा समावेश गरिएको छ । मेन कोर्स अन्तर्गत पलान्चोकी कालो खसीको लेदोबेदो, गोबी केराको तरकारी, तोरीको साग, आलु तारेको, कालो मासको दाल, नौनी भुजा र फापरको रोटी राखिएको छ ।

डेजर्टमा दहीमा साँधेको फलफूलको व्यवस्था हुने होटलले जनाएको छ । होटलको दशैं लक्षित यो मेनु नेपालको 'हस्पिटालिटी इतिहास' कै पहिलो भएको होटलका मार्केटिङ म्यानेजर फुर्बा शेर्पाले बताए । तीन दिनको अवधिमा ५ सय जनाले यो खानाको स्वाद चाख्ने होटलले जनाएको छ । अहिले होटलको क्याफे र गार्डेनको क्षमता १ सय ५० जनाको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell