PahiloPost

Mar 3, 2024 | २० फागुन २०८०

मुटु झिकेर हाल्ने काम मैले गरेको हुँ : डा. कुमुद धिताल



मुटु झिकेर हाल्ने काम मैले गरेको हुँ : डा. कुमुद धिताल

अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालका नेपाली चिकित्सक डा. कुमुद धिताल यो साता विश्वभर चर्चामा आए। उनको नेतृत्वको समूहले मृत घोषित भइसकेका बिरामीको मुटु प्रत्यारोपण गर्न सफलता हासिल गरेको थियो। तीन जना बिरामीमा सफलतापूर्वक मुटु प्रत्यारोपण गर्ने मुख्य चिकित्सक डा. धिताल नै थिए। उनीसँग अस्ट्रेलियाको एसबिएस रेडियोको नेपाली भाषाले गरेको कुराकानी : 


एसबिएस नेपाली : मुटु प्रत्यारोपण कतिको महत्वपूर्ण छ ?
डा. धिताल : धेरै नै महत्वपूर्ण रहेको छ। किनभने डिसिडी (डोनेसन आफ्टर सर्कुलेट्री डेथ)डोनरबाट यसरी मुटुको प्रत्यारोपण गर्न सकिएको थिएन। अर्थात् मुटु थामियो, मुटु थामिएपछि रक्त सञ्चार हुँदैन अनि बिरामी मृत घोषित हुन्छ। त्यसपछि हामी त्यो मुटु झिकेर चाँडै नै मेसिनमा हाल्छौँ। मेसिनमा मुटुलाई रगत, अक्सिजन, चाहिने न्युट्रिसन सब पुग्छ र मुटु चल्न थाल्छ। मुटु चल्न थालेपछि हामी त्यसलाई परीक्षण गर्छौँ, कसरी चलिरहेको छ हेर्छौँ। एकदम ठीकसित काम गरिरहेको छ भने मात्रै हामी कुनै बिरामीलाई तयार पार्छौँ र प्रत्यारोपण गर्छौँ। अहिलेसम्म तीन पटक यस्तो गरिसकेका छौँ। अहिलेसम्म थामिएको मुट झिकेर त्यसलाई फेरि काम गर्ने बनाएर अर्को अस्पतालमा लगेर तीन चार घण्टा पछि प्रत्यारोपण गर्ने काम हुन सकेको थिएन। 

अहिलेसम्म ब्रेन डेथ भइसकेका मान्छे, जसको मुटु चाहिँ चलिरहेको हुन्थ्यो, को मात्रै  गरिएको तर अहिले मुटु नै नचलिसकेको अवस्थाको पनि प्रत्यारोपण हुने भनिएको छ। यो कति समयभित्र गरिसक्नु पर्छ ?
मुटु थामिएपछि ३० मिनेट भित्र नै मुटुलाई बचाउने एउटा तरल पदार्थ हालिसकेको हुनुपर्छ। छाती खोलेर मुटुलाई बचाउने काम एकदम चाँडो गरिसक्नुपर्छ। नत्र भने त्यो मुटुले काम गर्दैन। त्यसपछि मात्रै हामी मेसिनमा हाल्छौँ। अहिलेसम्म फोक्सो, कलेजो प्रत्यारोपण भइसकेको थियो, मुटुको मात्र यसरी हुन सकेको थिएन। 

यसको भविष्य कस्तो छ ? पछि कुनै गाह्रो हुने नहुने के छ ?
अहिलेसम्मको अवस्था हेर्दा पहिलो बिरामीको प्रत्यारोपण भएको तीन महिना जति भयो, दोस्रो दुई हप्ता भयो, अस्पताल छाड्दैछ। तेस्रो चाहिँ तीन दिन भयो। सब ठीक भइरहेको छ अहिलेसम्म। पछि के हुन्छ कुन्नि हामीलाई थाहा छैन।  अहिलेसम्मको अवस्था हेर्दा केही फरक हुन नपर्ने हो। ब्रेन डेथ भएकोबाट निकालिएको मुटु र यसमा कुनै फरक हुन नपर्ने हो। तर तपाईँले भने जस्तै अहिले के हुन्छ भने २०/३० प्रतिशत जति मुटु प्रत्यारोपणको संख्या बढाउन सकिन्छ। न्यु साउथवेल्स र अस्ट्रेलियाभरी डोनर नम्बर एकदम कम छ। त्यसलाई हामीले सकेसम्म बढाउन सक्यौँ भने प्रत्यारोपण सूचीमा भइरहेका बिरामीलाई धेरै नै ठूलो कुरा हुन्छ। किनभने मुटु नपाएर त्यस्ता बिरामीहरु मरिरहेका हुन्छन्। 

प्रत्यारोपण दर ३० प्रतिशतले बढ्ने पनि बताइएको छ। एसियाली पृष्ठभूमिका समुदायहरुमा अस्ट्रेलियाको आम जनसंख्याभन्दा तीन चार गुणा बढी मुटुको प्रत्यारोपण चाहिने स्थिति रहेको भनिएको छ। त्यस्तो कतिको पाउनु भएको छ ?
सिड्नीमा ३० वटा जति मुटु प्रत्यारोपण हुन्छ वर्षको। अस्ट्रेलिया भरी त्यस्तै १०० जति हुन्छ वर्षमा। तर हिन्दुस्तान, चीन जस्ता ठूल्ठूला मुलुकमा प्रत्यारोपण एकदम कम हुन्छ। भारतमा थोरै नै छ। तर हार्ट फेलर पपुलेसन एकदम ठूलो छ। एसियाली मुलुकहरुमा ब्रेन डेथ डोनर, जुन कि भेन्टिलेटरमा हुन्छ र उसको मुटु चलिरहेको छ, उनीहरुलाई त्यस्तो मुटु प्रत्यारोपण गर्न अलि गाह्रो लाग्छ। मुटु थामिएको, डिसिडी भएको भने उनीहरुलाई अलि सजिलो हुनसक्छ। र, यसले गर्दा त्यस्ता मुलुकहरुमा पनि मुटु प्रत्यारोपणको संख्या पनि बढ्नेछ अब। 

धार्मिक किसिमको मानिसले मृत्यु भइसकेका मान्छेको मुटु लिँदा प्रश्न उठाउन सक्ने अवस्था आउँछ कि आउँदैन ?
हेर्नुस्, यस्तो त हुन्छ हुन्छ। तर जसले मृत्यु घोषणा गर्छ, त्यसको हामीसित कुनै सम्बन्ध हुँदैन। हामी फरक समूह हुन्छौँ। हामीले उनीहरुलाई भेट्ने कुरा गर्ने केही हुँदैन। उनीहरुले मृत्यु घोषणा गरिसकेपछि मात्रै हाम्रो अपरेटिङ रुममा आउँछ। घरमा कोही मर्‍यो भने डाक्टरले मृत्युको घोषणा गर्छ, यो पनि त्यस्तै हो। मुटु थामिएको छ, सास छैन, प्रतिक्रिया जनाउँदैन अनि मृत्यु घोषणा हुन्छ। ब्रेन डेथमा चाहिँ मस्तिष्क मरिसकेको हुन्छ। त्यसैका आधारमा मृत्यु घोषणा गर्न पाइन्छ कतिपय देशमा। तर त्यस्ता बिरामीलाई भेन्टिलेटरमा राखेर मुटु बचाइराख्न सकिन्छ। मुटु चलिरहेपछि अरु अंगहरु पनि चलिरहन्छ। यस्तो अवस्थामा मुटु लगायत अरु अंग झिकेर प्रत्यारोपण गर्न सकिन्छ। डिसिडीमा चाहिँ अलि जोखिमपूर्ण हुन्छ। तर जे होस्, अहिलेसम्म तीन वटा प्रत्यारोपण सफल भएको छ। 

तीन वटा प्रत्यारोपण सफल भइसकेको छ। तीन वटैमा तपाईँ संलग्न हुनुहुन्थ्यो ?
अँ, त्यो मुटु झिकेर हाल्ने मैले गरेको हुँ। 

विश्वकै पहिलो पटक यस्तो गरेर सफल भएको सुन्दा कस्तो अनुभव भयो ?
सहकर्मीहरु पनि खुब खुसी हुन्छन्। हिँड्न नसकेका बिरामीहरु हिँडेर, सिँढी चढेको देख्दा धेरै नै रमाइलो हुन्छ। 

अलिकति तपाईँको बारे पनि सोधौँ। कहिलेदेखि तपाईँले सेन्ट भिन्सेन्ट अस्पतालमा काम गर्न सुरु गर्नुभयो?
म बेलायतबाट आएको साढे पाँच वर्ष जति भयो। पहिले म केम्ब्रिजमा थिएँ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell