PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चिसो बढेपछि वेशी झरे मुस्ताङी : ४ महिना घुम्ती ब्यापारमा बिताउने



चिसो बढेपछि वेशी झरे मुस्ताङी : ४ महिना घुम्ती ब्यापारमा बिताउने
फोटो : सरोज खनाल

मुस्ताङ : चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। कात्तिक महिना सुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार सुरु गरेका छन्। 

वृद्धवृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो हप्तासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुने गर्छन्। उनीहरुले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो र जिम्बुको व्यापार गर्ने गर्छन्। 

चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम साताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बनेका छन्। लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोण्हुपलगायतका गाउँ सुनसान बन्दै गएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए।

उनका अनुसार घरमा काम गर्न नसक्ने वृद्धवृद्धा मात्रै रहेका छन्। चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविहरु पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ। 

“अधिकांश गाउँ अहिले सुनसान बनेको छ, यो अवस्था फागुनसम्म रहन्छ”, प्रमुख शेरचनले भने “अन्नबाली पनि नहुने भएपछि उनीहरुले घुम्ती व्यापारबाटै जिविका चलाउनुपर्ने हुन्छ।” उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा हुने गरिएको छ। 

यो मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाख आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने गर्छन्। 

मुस्ताङको तल्लो क्षेत्रका साथै म्याग्दी, बागलुङ, पर्वत, कास्की, गोर्खा, तनहुँलगायत देशका अधिकांश जिल्लामा पुगेर उनीहरुले घुम्ती व्यापार गर्ने एक्याप प्रमुख शेरचनको भनाइ छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell