
- पहिलोपोस्ट-
नेपाल पत्रकार महासंघको टोलीसँग बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा भएको उनले भारतले गरेको नाकाबन्दीबारे प्रष्ट शब्दमा नबोलेपनि अहिलेको असहज अवस्थाले सबैको आँखा खोलेको बताइन्। यो अवस्था अन्त्यका लागि तत्काल पहल गर्नुपर्ने उनको धारणा छ।
राष्ट्रपति भण्डारीले हिमाल, पहाड र तराई सबै ठाउँका नागरिकले नेपाली भएकोमा गौरव गर्ने अवस्था बनाउनुपर्ने भन्दै अहिलेको समस्याको गाँठो फुकाउन सबैले पहल गर्नुपर्ने धारणा राखिन्। संविधानमा नभएका कुराहरु संसोधन मार्फत समावेश गर्दै जानुपर्ने भन्दै भण्डारीले संविधान अघि बढ्ने क्रममा परिस्कृत हुँदै जाने बताइन्।
अहिले पनि लोकतन्त्र आएको छ कि छैन भन्ने सन्देह रहेको भन्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रलाई वर्गीय हुन नदिन र झुपडीमा लोकतन्त्र पुर्याउन आर्थिक समृद्धि र स्वतन्त्रता जरुरी रहेको धारणा राखिन्। आफुले देशभित्र अवसरमा समानताका र राष्ट्रिय एकताको भावना वृद्धिका लागि भूमिका निर्वाह गर्ने बताइन्। नेपाल अहिले राजनीतिक रुपले हामी लोकतन्त्रको सर्वोच्च शिखरमा पुगेको भन्दै अबको काम आर्थिक समृद्धिको भएको बताइन्।
भेटमा नेपाल पत्रकार महासंघको टोलीले राष्ट्रपति निर्वाचित भएकोमा भण्डारीलाई बधाई दिएका थिए। महासंघका अध्यक्ष महेन्द्र विष्ट, पूर्व अध्यक्ष धर्मेन्द्र झा, सुरेश आचार्य, विष्णु निष्ठुरी, पूर्व महासचिव पोषण केसी, उपाध्यक्ष अनिता विन्दु लगायतले मुलुकको अभिभावकको रुपमा अहिले देखिएका समस्या समाधानका लागि पहल गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए।