PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​धुर्मुसले हुर्मत लिँदा केपी ओली 'कन्फ्युज्ड'



​धुर्मुसले हुर्मत लिँदा केपी ओली 'कन्फ्युज्ड'

  • पहिलोपोस्ट -
काठमाडौं : सिस्नुपानी नेपालले गरेको देउसी कार्यक्रममा प्रधानमन्त्री केपी ओली केही थान उपप्रधानमन्त्री र मन्त्रीहरुसँगै प्रज्ञा प्रतिष्ठानको हलमा उपस्थित थिए। उद्‌घोषकले घरपतिलाई बोलाउँदै धम्की दिए- कोही हुनुहुन्छ भने छिटो निस्कन हुन आग्रह गर्दछु, होइन भने देउसी टुङ्ग्याउने धम्की नै प्रदान गर्दछु।'

उनले यसो भनेसँगै मञ्चमा रहेको घरबाट सैनिक अङ्गरक्षकका साथ निस्किए प्रधानमन्त्री केपी ओली। दर्शक कन्फ्युज भए। खासमा उनी साँच्चिकै प्रधानमन्त्री थिएनन्। प्रधानमन्त्री त आफ्नै पत्नी राधिका शाक्यका साथ दर्शक दीर्घामै थिए। यी त 'धुर्मुस' रहेछन्।

'कुटनीतिज्ञसँग कुरा गरिरहेको थिएँ, बाहिर भुराहरु आएर देउसी रे देउसी रे भनिरारैछन्,' ओलीको जस्तै आवाज निकाल्दै धुर्मुसले यस्तो के भनेका थिए दर्शक दीर्घा उचालिने गरी हाँसो मच्चियो।    

'अर्को सालसम्म लोडसेडिङ मुक्त गर्छु, नत्र म आफै पदबाट मुक्त हुन्छु', धुर्मुसले व्यंग्य गरे, 'दुई वटा मध्ये एउटा हुन्छ ल।'

धुर्मुसले प्रधानमन्त्री ओलीकै भेष र लवजमा देउसी खेले, ओलीलाई व्यङ्ग्य गरे। उनले ओलीकै लवजमा देउसी भट्याए- 'प्रचण्डजीलाई वनमारा भन्थेँ, वनमाराकै बुटी लगाएँ।'

आहै सत्ता पक्ष - देउसी रे
आहै प्रतिपक्ष- देउसी रे

भत्ता पक्ष खोई त? उनले व्यङ्ग्य गरे। 

आहै उत्तरको बाटो — देउसिरे
आहै लड्दै पड्दै — देउसिरे
आहै धराप थाप्दै — देउसिरे
आहै छिर्के लाउँदै — देउसिरे
आहै झटारो फाल्दै — देउसिरे
आहै उखान हाल्दै — देउसिरे
आहै यहाँसम्म आएँ — देउसिरे
आहै माला लाएँ — देउसिरे

खोई त माला? उनले सोधे। खासमा उनको गलामा माला थिएन। प्रधानमन्त्री लगायत सबै मन्त्रीहरु र देउसी भट्याउने सिस्नुपानीका सदस्यहरुले पनि माला लगाएका थिए।

'ए आज कुकुर तिहार पो हो क्यारे', उनले यसो भनेपछि झण्डै एक मिनेट ताली बजाएर दर्शक हाँसे। 

धुर्मुसले 'मित ज्यू' सम्बोधन गर्दा बडा ध्यानपूर्वक हेरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा उक्लेपछि दर्शकहरु दंग परे।

दर्शक दीर्घाबाट आवाज आयो- कन्फ्युज्ड।

प्रधानमन्त्री ड्यासमा पुगेपछि धुर्मुसतिर हेरे, धुर्मुसले उल्टो हात उठाए र अभिभादन गरे। दर्शकदीर्घामा हाँसोको फोहोरा छुट्यो।

'मेरो हुर्मत लिने धुर्मुस पनि.... ' प्रधानमन्त्रीले भनेपछि सीताराम कट्टैल (धुर्मुस) ले पुनः प्रधानमन्त्रीलाई अभिवादन गरे।
















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell