PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

शक्ति लम्साल : ​युग द्रष्टा र निष्ठाका प्रतीक



शक्ति लम्साल : ​युग द्रष्टा र निष्ठाका प्रतीक

  • सुभाषचन्द्र देवकोटा -
शक्ति लम्साल अब यस दुनियामा रहेनन्। २०७२ कार्तिक २५ गतेका दिन नेपाली बाम अन्दोलनको एउटा अविश्रान्त योद्धाको निधन भएको छ। नेपाली बाम आन्दोलनले एउटा अशल अभिभावक र नेपाली पत्रकार जगतले एउटा अविचलित साधक सदाको लागि गुमाएको छ।

शक्ति लम्साल इमानी थिए, जीवन पर्यान्त इमानको राजनीति गरिरहे। उनले इमान र स्वाभिमानसँग कहिल्यै सम्झौता गरेनन्। जति बाँचे स्वाभिमानी शीर ठाडो पारेर बाँचे, एउटा आदर्शको सत्तिसाल भएर बाँचे।

शक्ति लम्साल रगतको सही छाप लगाएर कम्युनिष्ट हुने जमानाका कम्युनिष्ट थिए। त्यसैले बचन र व्यवहारमा पक्का। सुख, सुविधा भन्दा देश र जनता उनका लागि प्रीय थिए। त्यसैले उनीसँगैका कैयौ साथी विचार र आदर्शको लिलामी गर्दै तत्कालीन सत्तासँग आत्मसमर्पण गर्दा पनि उनी कहिल्यै विचलित भएनन्। उनी सधैं जनताको मुक्तिको बाटोमा हिडिFरहे। आफूले रोजेको सिद्धान्त र आदर्शको निम्ति विना सम्झौता नदी जस्तै बगिरहे।

शक्ति लम्साल १९९२ सालमा काठमाडौंमा जन्मिएका थिए। तत्कालीन अवस्थामा राम्रै शिक्षा, दीक्षा पाएका उनले चाहेको भए राम्रै जागीर, पद प्राप्त गर्न सक्थे। सुख सुविधाको जीन्दगी जीउन सक्थे। तर उनले कम्युनिष्टको बाटो रोजे, जनताको पक्षमा, परिर्वनको पक्षमा हिड्ने संकल्प गरे। २००८ साल तिर कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनले जीवनपर्यन्त अविचलित यै बाटो हिडिरहे र आदर्श र इमान्दारिताको मशाल बालिरहे।

दर्शन, साहित्य र पत्रकारिता उनको मन पर्ने विधाहरु थिए। तर पनि उनी पत्रकारितामा राम्रैसँग जमे। उनी आफ्नो लेखन मर्फत् अधिकारको लागि जतालाई सूचित गरिरहन्थे र जनताका दुस्मनहरुको विरोधमा आगो ओकल्थे।

उनी माओवादी आन्दोलनका अभियन्ता थिए, कार्यकर्ता थिए। तर उनको माओवाद देश, जनता र राष्ट्रिय स्वाधीनताको लागि समर्पित थियो। त्यैसेले उनी माओवादी भित्र इमान र जमानको कुरा गर्थे। माओवादीहरु भित्र हुर्कँदै गएको सत्ता लोलुपता, आर्थिक तथा सामाजिक विचलनको खुलेरै विरोध गर्थे। त्यसैले क्रान्तिको नाउँमा चलाइएको लुट र गुण्डा गर्दी उनलाई कहिल्यै प्रीय लागेनन्। माओवादी बन्दुक युद्धमा देखिएको अराजकता र हत्यासँग उनी कहिल्यै सहमत थिएनन्। मओवादको पवित्रतालाई धमिल्याउन प्रायोजित गरिएको यस्ता कुरा कुराहरुप्रति नेतृत्व संवेदनशील हुन नसकेकोप्रति उनी चिन्तित देखिन्थे। शक्ति लम्साल साँचो अर्थमा जनताका साथी थिए। कहिल्यै नथाक्ने राष्ट्रवादी सिपाही। क्रान्ति र आन्दोलनका नाममा आज जसरी सम्पन्नताको किनबेच चलेको छ त्यो उनको लागि कहिल्यै ग्राह्य थिएन।

कम्युनिष्ट आन्दोलन युग परिवर्तन र नयाँ सामाजिक संस्कृति विकासको सम्वाहक हुनुपर्छ। नेपालको सन्दर्भमा यो राष्ट्रिय स्वाधीनताको आन्दोलन पनि हो भनेर शक्ति लम्साल बारम्वार भन्ने गर्दथे। यसैको लागि उनले आफ्नो पुरा जीवन समर्पित पनि गरे। तर विडम्वना, उनका आफ्नै अनुयायी तथा उत्तराधिकारी भन्न रुचाउनेहरुले नै बारम्वार सत्ता र स्वार्थको बन्दी भएर विदेशी प्रभुहरु सामु घुँडा टेकिरहँदा विरामी भएर ओच्छान परेका शक्ति लम्सालले के सोचे होलान् कम्युनिष्ट आन्दोलका उतार चडाव, आरोह अवरोह सबै भोगका, बुझेका र झेलेका निडर नायक थिए उनी। राजनीतिको कठिन मोडमा, उनका कैयौं सहयात्रीहरु जनताको विश्वास माथि धोका दिँदै सत्ताको चारोमा फसे र ऐयासी जीवन विताए। उनले जेल नेलको जीवन रोजे र विचार र आदर्शको झण्डा उचालिरहे। अन्याय र अत्याचारको विरोधमा अक्षरका आवाजहरु उठाइरहे, जनताको आवाज भएर उभिए।

उनी प्रचार भन्दा निष्ठाको राजनीति मन पराउँथे। उनका आफ्नै सहयात्री भन्नेहरु सत्ता र स्वर्थमा लुछाचुडी गरिरहँदा पनि उनी आफ्नै आदर्शमा चुपचाप बाँचिरहे। सत्तामा पुगेका सहयात्रीहरु सामान्या रुघा लाग्दा समेत राष्ट्रको ढुकुटी रित्याएर विदेशका महँगा अस्पतालमा पुगेको थाहा पाउँदा पाउँदै पनि बिरामी भएर वर्षौंदेखि ओच्छ्यामा थला पर्दा समेत उनले मन दुखाएनन्।

उनी नयाँ युग सम्वाहक थिए । उनी सधैं नयाँ पुस्ता प्रति गौरव गर्थे र भविष्य प्रति आस्वस्त देखिन्थे। उनी योजना साप्ताहिकको  सम्पादक हुँदा हामीले उनीसँग पटकपटक भेट्ने मौका पाएका थियौं। उनी सधैं लेख्‍न हौस्याउँथे। राम्रो लेख्न  विचार र कलाको संयोजन पनि राम्रो हुनु पर्ने जस्ता विषयमा  कुरा गर्दथे। यसरी उनी एकैसाथ गुरु र अभिावको भूमिका निभाउँथे र प्रोत्साहन दिन्थे। आफ्नो पत्रकारिताको लामो जीवनमा थुप्रै प्रतिभाहरुलाई दीक्षित गरे।

जसले जे भने पनि शक्ति लम्साल विचार प्रति इमान्दार र वचनका पक्का थिए। अभाव र विरामीले समेत उनलाई कहिल्यै गलाउन सकेन। निरंकुशताको कालरात्रीमा, स्वेत आतंकको जगजगीमा पनि  अग्रिम मोर्चामा उभिएर अक्षरको युद्ध लडिरहे। थकाई, निरासा र हरेश उनको शब्दकोष मै थिएनन्, उनी त निरन्तर यात्राका यात्री थिए। स्वाभीमान र स्वतन्त्राका पर्याय भीमकाय पहाड थिए उनी।

हो, अब शक्ति लम्साल हामीमाझ छैनन्। तर शक्ति लम्साल सम्पूर्ण श्रमजीवि जनताका धरोहर हुन्। अस्था र विश्वासका कहिल्यै ननिभ्ने पवित्र दियो हुन्। उनको पवित्र योगदान र उनले देखेको सपनामा कसैको पेवा हुन सक्दैन। तसर्थ, उनलाई कुनै राजनीतिको घेरामा बाँध्ने कोसिस कतैबाट हुनु हुँदैन। हामी त्यै पवित्रतालाई अञ्जुलीमा उठाएर भनिरहेका छौं, खबरदार सत्ताको महत्वकांक्षा र स्वार्थको अपवित्रताले उनको अजम्वरी सपनालाई विटुल्याउनु हुँदैन। शक्ति लम्साल जनताका अशल छोरा थिए। जीवन पर्यान्त देशको सपना बोकेर उभिने युग द्रष्टा थिए। उनको सपना पूरा गर्ने कसम खानु नै यस बेला शक्ति लम्साललाई असली श्रद्धाञ्जलि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell