PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कसरी सुध्रिन्छ नेपालको क्रिकेट?, कप्तानहरुको एउटै 'भ्वाइस'



गोविन्दराज नेपाल

कसरी सुध्रिन्छ नेपालको क्रिकेट?, कप्तानहरुको एउटै 'भ्वाइस'

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षमा नेपालले पहिलोपटक वान डे इन्टरनेसनल (ओडिआई) नेसनको स्ट्याटस पाएको छ। तै पनि नेपाली खेलाडी, समर्थक र क्रिकेटमा लागेकाहरु पूर्ण रुपमा खुशी हुन सकिरहेका छैनन्।

नेपाली क्रिकेट अभिभावकविहीन छ। क्रिकेट संघ आइसीसीको निलम्बनमा रहेको २ वर्ष हुन लागिसकेको छ।

यसै सन्दर्भमा क्रिकेट प्लेअर्स एसोसिएसन (सिप्यान)ले आइतवार आफ्नो तेस्रो साधारणसभाको अवसरमा राष्ट्रिय टिमका पूर्व कप्तानहरुलाई राखेर अन्तर्क्रिया गर्‍यो।

जहाँ नेपालका चार पूर्व कप्तान लेख क्षेत्री, राजु खड्का, पवन अग्रवाल, विनोद दास र वर्तमान कप्तान पारस खड्काले नेपाली क्रिकेट 'अब कसरी अगाडि बढाउने र बढ्नपर्ने हो' भनेर धारणा राखे।

उनीहरुको ओडिआई स्ट्याटस नेपालको लागि ठूलो अवसर रहेको बताउँदै क्यानको विवाद चाँडो समाधान गर्नुपर्ने र यसका लागि पहल गर्न सरकारलाई समेत आग्रह गरे।

'ओडिआई स्ट्याटस पायौँ, अब यसलाई राम्रोसँग बचाउन सकेनौँ भने टी-२० को जस्तै हालत हुन सक्छ,' पवन अग्रवालले भने, 'अब ढिलो नगरी क्रिकेट गभर्निङ बडी बनाऔं। सरकारले पनि यसका लागि एक्टिभ रोल खेल्नुपर्‍यो। अब सबै सिरियस हुनु जरुरी छ। यस्तो मौका हामीले फेरि पाउँदैनौँ, यसलाई गुमाउनु हुँदैन।'

अर्का पूर्व कप्तान लेख क्षेत्रीले खेलाडीको सफलताले नै राष्ट्रले सफलता हात पारेको बताउँदै कतै यो सफलता गुम्ने त होइन भन्ने धारणा राखे। 'अचम्म के छ भने खेलाडी खेल खेलेर सफलता पाइराखेको छ। तर क्यान छैन। अब यो ४ वर्ष रमाउँदैमा सकिन्छ। विगतमा पनि सफलता हात पार्दा यस्तै भयो,' क्षेत्रीले भने, 'अब रमाउनु भन्दा अझ संघर्ष गर्नुपर्छ। यो ४ वर्षमा नेपालमा क्रिकेटको स्कोप छ भन्ने देखाउनुपर्छ। सबैले पहल गर्नुपर्‍यो त्यसपछि ४ वर्ष होइन हामीले ८ वर्ष पनि ओडिआई स्ट्याटस पाउँछौँ।'

राजु खड्काले पनि चाँडो क्रिकेटको गभर्निङ बडी बन्नुपर्ने बताए। 'क्रिकेटमा सबै सफलता हात पार्न अभिभावक चाहिन्छ। तर, हामीसँग त्यही छैन,' उनले निलम्बित क्यानको समस्या समाधान हुनुपर्ने र जतिसक्दो चाँडो गभर्निङ बडी बन्नुपर्ने बताए।

'यसअघि टी-२० को स्ट्याटस समेत पाएका थियौँ। अब ५० ओभरको पनि स्ट्याटस पाउँछौं। खेलाडीहरु खेलिरहेका छन्। तर कसले हेर्ने उनीहरुलाई?, गाह्रो भइरहेको छ।'

'केही गर्न सकिएन भने यति सालमा ओडिआई स्ट्याटस पाएको भनेर इतिहासमात्र बन्ला।'

त्यसैमा थप्दै अर्का पूर्व कप्तान विनोद दासले भने, 'क्रिकेट भविष्यलाई लिएर इतिहास धेरै चिन्तित छ।'

'हामीले ओडिआई स्ट्याटस पायौँ। यो २२ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा हामीले धेरै गुमायौँ, कम पायौँ। हामीलाई यस मानेमा दु:ख पनि छ।'

यू-१९ टिमका कोच समेत रहेका दासले वास्तविकता व्यक्त गरे, 'युवा खेलाडीहरुले आफ्नो उर्जावान समय क्रिकेटमा लगाए। अब यस्तो बेला आयो हामीलाई जस भन्दा अपजस बढी आउला जस्तो भयो।'

दासले अहिलेको ज्वलन्त विषय भनेको नै बोर्ड कहिले बन्ने रहेको बताए। 'क्रिकेटको विकासलाई संस्थागत गर्नु नै हाम्रो साझा उद्देश्य हो,' उनले भने।

यस्तै अहिलेका कप्तान पारस खड्काले पुराना खेलाडीहरुको बलिदान र सबैको मेहनतका कारण नै ओडिआई स्ट्याटस हात पार्न सफल भएको बताए। उनले आगामी दिनमा क्रिकेटको जिम्मेवारी कसले उठाउने भन्ने प्रश्न व्यक्त गरे। 'अब क्रिकेट सबैको पहिलो प्राथमिकता हुनुपर्‍यो। आपसमा वादविवाद गर्ने भन्दा पनि कसले के गर्न सकिन्छ भनेर अगाडि बढ्नुपर्छ। अबको एक मात्र बाँकी लक्ष्य भनेको टेष्ट हो,' उनले भने।

त्यसका लागि अबको ४ वर्ष नेपालको लागि उत्कृष्ट अवसर रहेको पारसले बताए। '४ वर्ष सबैभन्दा राम्रो अवसर छ। यदि सबै मिलेर अगाडि बढ्यौँ भने आगामी ८-१० वर्षमा टेष्ट स्ट्याटस समेत पाउन सक्छौँ। त्यसो भयो भने त्यो नेपालको खेलकुदकै लागि सबैभन्दा ठूलो सफलता हुनेछ।'

उनले सबैले अहं र स्वार्थ त्याग्नुपर्ने बेला आएको बताए। 'क्यानलाई कसरी संस्थागत गर्ने र स्टेबल बनाउने भन्ने जिम्मेवार व्यक्ति अहिलको आवश्यकता हो। सबैले अहं र स्वार्थ त्याग्नुपर्छ। सबै मिलेर अगाडि बढ्ने हो भने सपना पूरा गर्न सक्छौँ,' उनले भने।

 

सि-प्यान आफै अगाडि बढ्ला?

सि-प्यान आफैँ क्यान टेकओभर गर्न चाहेको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा पवन अग्रवालले त्यस्तो गर्न नचाहेको तर कुरा उठेको बताए। सिप्यानको निवर्तमान अध्यक्ष समेत रहेका अग्रवालले भने, 'टेकओभर गर्ने चाहना भएको भए पहिले नै हुन्थ्यो होला। तर, यदि कोही भएन भने के गर्ने भन्ने कुराहरु उठिरहेको छ। खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि कसैले केही गर्ने भने गर्नैपर्छ कि भन्ने कुरा आको छ।' 

यस्तै विनोद दासले अहिलेसम्म सम्बन्धित निकायले आफूहरुसँग केही सल्लाह नगरेको बताए। उनले नेतृत्व गर्ने मानिसको कुनै कमी नभएको र पूर्व कप्तानहरु समेत त्यसका लागि सक्षम रहेको धारणा राखे। 'नेतृत्व गर्न सक्ने मान्छे हामीमाझ धेरै छन्। कुनै पनि कमी छैन। कमी अवसरको मात्र हो। नेपालमा अवसर पाउन गाह्रो छ र अहिले धेरै मानिस त्यो अवसर आफ्नो पक्षमा पार्ने दाउमा छन्।'

दासले व्यक्तिभन्दा पनि सिस्टम राम्रो हुनुपर्ने भन्दै त्यही अनुसार भएपनि सिस्टम परिवर्तन हुनुपर्ने बताए।

कप्तान पारस खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउन एउटा सिस्टम हुनुपर्ने बताए। 'राम्रो सिस्टम भएको भए नेपालमा यो भन्दा राम्रो टिम बन्न सक्थ्यो,' उनले भने, 'हामीसँग डोमेस्टिक स्ट्रक्चर भएको भए हामी अझै बेस्ट टिम बन्न सक्थ्यौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell