PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

युट्युब स्टार स्वप्न सुमन : जसले अरुको हैन, आफ्नै सपना पछ्याए र सफलताले उनलाई पछ्यायो



स्वेच्छा राउत

युट्युब स्टार स्वप्न सुमन : जसले अरुको हैन, आफ्नै सपना पछ्याए र सफलताले उनलाई पछ्यायो

‘तिम्रो गीत सुनेर म निदाएँ। यस्तो गीत बनाएर न तिमी कहीँ पुग्छौ, न हामीलाई कुनै फाइदा हुन्छ। सरी म यो गीत रेकर्ड गराउन सक्दिनँ।’ 
अहिलेका 'युट्युब सेन्सेसन' स्वप्न सुमनले एक फिल्म निर्मातालाई आफ्नो गीत सुनाउँदा आँखा खोलेपछि  राम्रो प्रयास गरेछौ भन्लान् भन्ने लागेको थियो। तर झस्किने गरी निर्माताले यसो पो भने। 

म्युजिक भिडियो प्रस्तुतकर्ताको नाम सुमन खुलाउन चाहँदैनन्। तर धन्य मान्छन् त्यो व्यक्तिप्रति जसको कारण उनको गीत रेकर्ड भएन। सँगै गाउनु, गीत लेख्नु वा संगीतकर्मीको रुपमा स्थापित हुनु बारे स्वप्न सुमनको पूरै सोच फेरिदियो। 

‘जस्तो गीत सुनेर ममा यस्तो गीत चाहिं कहिले पनि लेख्दिनँ जस्तो लाग्थ्यो, मैले लेख्ने हरेक गीत त्यस्तै शैलीको बन्ने रहेछ भन्ने कुरा मैले पहिलोपटक महसुस गरें’, उनले बुझेको कुरा राखे। साथै स्वप्नको मन प्रश्न उब्जिएको थियो- आखिर किन एकै किसिमको गीत बन्छन्? किन नेपाली गीत संगीतको बजार र स्रोता सीमित छन्? 

जवाफ खोज्नु स्वप्नको लक्ष्य बन्यो। ‘किनकी मलाई गायक मात्र होइन। केही योगदान पुर्‍याउन सक्ने संगीतकर्मी बन्नु छ’, उनी आफूले गर्न चाहेको काम बारे प्रष्ट छन्। भन्छन्, ’आफूले के गर्दा रमाउँछु भन्ने थाहा पाएरै गायन रोजेको हुँ। अब यसै क्षेत्रमा मेहनत गर्नुपर्‍यो नि।‘ 

सानो संगीत क्षेत्रमा धेरैमध्यको एक गीत चल्छ। जुन चल्छ त्यही शैली र भाव अरुले पछ्याउँछन्। बजारसँग जोडिएका कुराहरु, स्रोताको मागको कुरा। अनि महत्वपूर्ण विषय गीत रचना गर्ने, संगीत भर्ने र गाउनेको सोच, कलाको कुरा। 

‘सीमित घेराभित्र बसेर सीमित मान्छेको शैली र सफलता सुन्नु, सिक्नु र पछ्याउनुका कारण मैले पनि आफ्नो गीतमा केही नयाँपन दिन नसकेको बुझें’, त्यसपछि आफू गाउन मात्र छोडेर खोज्न, पढ्न र नयाँ प्रयास सुरु गरे। शब्दहरु सिक्न, वाक्य बनाउन, शैलीमा फरक प्रयोग गर्न गीत लेखन र संगीत बारे किताब र लेख खोजी खोजी पढेको सुनाउँछन्। त्यस्तै नेपाली उपन्यास, अङ्ग्रेजी गीत पनि उनको गुरु बने।

‘गायक एड सेरेनको जीवनी, गायकी र शैलीबाट  प्रेरणा पनि मिल्यो र उबाट प्रभावित पनि भएँ। त्यसैले आफ्नो एउटा गीति प्याटर्न बनाउन इन्करेज गर्‍यो।‘ 

स्वप्न सुमन प्रेमगीत लेख्छन् र गाउँछन्। फेसबुक र युट्युबमा पुराना गीतहरुको कभर गरेर गीति क्षेत्रमा उदाएका उनको पहिलो सोलो गीत ‘के साह्रो राम्री भाकी’ हो। यो गीतको चर्चासँगै स्वप्न सुमनलाई पनि धेरैले चिन्दै गए। उनको ‘कफी सङ्ग’, ‘ए हेलो’, ‘कसरी भनुँ’, ‘म तिम्रो’ लगायत १२ गीत रेकर्डेड छन्। करोड प्लस युट्युब हिट्स कमाएका गीतहरुको शैली उस्तै भयो भन्ने प्रतिक्रिया पाइरहँदा स्वप्न सुमन भन्छन्, ’मैले आइरहेको भन्दा फरक गरें र त स्वप्न सुमनको गीत सुनियो हैन र? त्यही मेरो गीतको प्याटर्न बन्यो। केही समय यता फरक प्रयासहरु पनि गरेको छु। तर बाटो छेउको पसलमा मेरो गीत बजिराख्दा संगीत र शैलीकै कारण मेरो चिनुन् भन्ने मैले चाहेको हुँ।' 

स्वप्न सुमन आफ्ना गीतहरुमा कथा भन्छन्, घटना वा कुनै अवस्थाको चित्रण गर्छन्। प्रेम र  सम्बन्धलाई आफ्नो गीतको विषय बनाउने उनको गीत युवापुस्ताले नै धेरै रुचाएको उनले देखेका छन्। ‘प्रायले आफ्नो भावनासँग गीत मेल खाएको बताउनु हुन्छ। मैले खोजेको पनि त्यही हो- गीत गाउन र सुन्न मात्र होइन महसुस गर्न लेखिनु पर्छ।’

*** 

सेकेन्ड लेफ्टिनेन्टको सपना

नेपाली सेनाबाट रिटायर्ड बुवाको सपना थियो छोरा सुमनलाई सेकेन्ड लेफ्टिनेन्ट बनाउने। बुवाको सपना पछ्याएको भए सायद उनी हाकिमलाई सलाम ठोकिरहेका हुन्थे। तर आफ्नो रहरको बाटो पछ्याए र बने स्वप्न सुमन। 

सैनिक आवासीय विद्यालय धरानमा पढ्दा हरेक बिहान हुने दौड र पिटी हाप्न अनेक बहाना खोज्दा नै स्वप्न सुमनले आर्मी बन्दिनँ भन्ने सोचिसकेका थिए। किनकि केही बेरको कुदाइ र व्यायामले उनी थाक्थे। गाह्रो हुन्थ्यो। 

'मम्मीले पनि भन्नु हुन्थ्यो तँ कमजोर छस्', उनी सम्झन्छन्। शारीरिक रुपमा कमजोर महसुस भएपनि सुमन स्कूलमा हुने सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा भने सक्रिय रहे। स्टेजमा हुने कार्यक्रममा गीत गाउँथे। किनकि स्कूलको कार्यक्रममा गाउँदा रोक्ने, गाली गर्ने कोही थिएनन्। 

कक्षा ७ पढ्दा देखिनै उनी लाइब्रेरीमा घण्टौं घोत्लिन्थे। पढ्नको लागि होइन गीत लेख्नका लागि। 'घरमा कम्प्लेन गयो। पढाई कम, गाउने बजाउने ज्यादा गर्न थाल्यो भनेर। गाली पनि खाएँ।'

 तर लागेको मन किन मान्थ्यो? स्वप्नले न त गीत गाउन छाडे न गितार बजाउन। कोर्सको किताब र कपीभित्र  लुकाएर गीत लेख्नु नै उनलाई रमाइलो लाग्थ्यो। 

स्वप्नले त गीत गाएको भिडियो बनाएर फेसबुकमा हाल्न र कमेन्टमा आउने तारिफहरु पढेर मख्ख पर्दासम्म पनि उनको आमा बुवाले सायदै सोचेका थिए छोराले जिन्दगीमा गीत गाउनुलाई नै लक्ष्य बनाउँछ। 

छोरा आर्मी स्कूल पढ्छ। कलेज पनि सैनिक आवसायीमै। त्यहाँको सिस्टम सिक्छ। डिसिप्लेनमा रहन्छ र आर्मी बन्न आवश्यक जानकारीहरु राख्छ भन्ने आमाबुवाको विश्वास छोराले एसएलसीपछि साइन्स नभएर होटल म्यानेजमेन्ट विषयमा भर्ना गरेपछि भताभुङ भयो। त्यो पनि आर्मी स्कूल बाहिर। 

'गाली खाएँ। तर मेरो मम्मीले गाली गरेपनि रोक कहिले लगाउनु भएन', आमाको भावनात्मक साथको योगदान निकै खुलेर सुनाउँछन् उनी। बुवा विदेशिनुका कारण आमाले सुमनसँगै दुई भाइबहिनीलाई सम्हालेकी थिइन्। यस्तोमा जेठो छोरो नै गीत सिक्ने, रेकर्ड गराउने, सम्पादन गर्ने होडमा धेरै रात घर बाहिर बस्थे। 

‘आमाको चित्त दुखेको थियो। तर मैले देखेको सपना पनि सहजै पुरा हुँदैन भन्ने निश्चित थियो। आमालाई बुझाउन धेरै गाह्रो थिएन तर आगोमा घिउ थप्ने काम ती छिमेकी र आफन्तको प्रश्नले गर्‍यो। उनीहरु भन्थे,'गितार बोकेर, ट्यापे जस्तै बनेर हिडेर कहाँ पुगिन्छ?' 

'तर समयले गरेको प्रश्नको जवाफ समयले नै दिने रहेछ', स्वप्न सुमन खुशीखुशी सुनाउँछन्,'मलाई ट्यापे बन्लास् भन्नेहरुलाई जवाफ दिनै पर्दैन उहाँहरु मेरो गीत सुन्नु हुन्छ।' 

*** 

युट्युबले ल्याएको परिवर्तन

'रोहित जोन क्षेत्री कमेन्टेड अन योर पोस्ट' सन्देशले स्वप्न सुमनको गायन जीवनमा धेरै कुरा फेरिदियो। उनले रोहित जोन क्षेत्रीको गीत 'बिस्तारै बिस्तारै' कभर गरेका थिए। गीतमा आइरहेको सकारात्मक प्रतिक्रियाले उनलाई उत्साहित बनाएको थियो नै। त्यसमाथि ओरिजिनल गायकको प्रशंसा। त्यसपछि धेरैले उनलाई युट्युब च्यानल बनाउन सुझाए।

युट्युबबाट उदाएका स्वप्न सुमनले सन् २०१२ मा युट्युब च्यानल बनाएर कभर गीतहरु हाल्न थालेका हुन्। सुरुवातमा पुराना गीतहरु आफ्नो शैलीमा गाएर राखे। कारण एउटै थियो नयाँ गीत लेखेर, संगीत दिएर, रेकर्ड गराएर रिलिज गर्ने बारे उनलाई उस्तो धेरै जानकारी थिएन। 'गायन क्षेत्रमा नयाँलाई युट्युब सिक्ने, प्रतिक्रिया पाउने, प्रक्रिया सिक्न र आफैलाई बुस्ट गर्ने गज्जब प्ल्याटफर्म रहेछ', उनले आफूले गरेको युट्युबको सकारात्मक प्रयोग बारे बताए,’देब्रे हात चल्ने मेरो लागि गीतार बजाउन सिक्न पनि युट्युबले धेरै साथ दियो।‘

स्वप्न सुमनले कभर गरेको गीतहरु रुचाइन थाल्यो। सुमनले आफ्नोतर्फबाट पनि राम्रो नम्बर दिन कम मेहनत गरेनन्। बिस्तारै कभरबाट स्टेज सोमा रुचाइएका यी २२ वर्षीय गायकले आर्बिटरी रेकर्डसमा आवद्ध भएर गीत रिलिज गर्दै आएका छन्। हाल उनको युट्युब च्यानल भने छैन।

‘कभर गरिएका गीतका कपिराइट होल्डरहरुले रिपोर्ट गरेपछि बन्द भयो। तर ठीक छ। किनकि एक्लै गरिरहेको भए म अझै पनि कभर मात्रै गर्दै हुन्थें होला। अहिले मलाई टिमवर्क गर्दा खुशी पनि लागेको छ र खर्च पनि पुगेको छ’, स्वप्न सुमनको बोलीमा पनि सन्तुष्टि झल्कन्छ। उनीसँग खुशी हुनको लागि धेरै कारण छन्- युट्युबबाट सुरु भएको संगीत यात्रा अहिले सोलो गीतदेखि, फिल्मको गीत निर्देशनसम्म पुगेको छ। स्वप्न सुमन सोमर्सबीको लागि 'फेस अफ द इयर'समेत छानिएका छन्। देश विदेशको कन्सर्टमा उनको प्रस्तुति र इन्टरनेटमा लाखौं फ्यान फलोअर्स। उनी युवा युट्युब स्टार बनेका छन्। 

सफलता सजिलै आएन

'सजिलो चाहिं भएन', उनी आफूले परिवार, समाज, कलेज र आफैसँग भएको द्वन्द्व भएको बताउँछन्। परिवारको इच्छा विपरीत काम गर्दा सहनु परेको गालीहरु, समाजले बिग्र्यो भनेर कुरा काट्दा प्रष्टिकरण दिन शब्द नहुनु। 

'पढाईमा ध्यान र समय दिन नपाउँदा मेरो पढाई बिग्रियो। एकपटक त अकाउन्टमा फेल नै भएँ। तर मेरो लागि संगीत महत्वपूर्ण थियो', कक्षा १२ को बोर्ड परीक्षाको अघिल्लो रात रेकर्डिङ स्टुडियोमा बिताएर १ घण्टा पढेर परिक्षा दिन गएको घटना हौसिएर सुनाएँछन् उनी। 

स्वप्न सुमनको लागि आफैभित्रको द्वन्द्व पो सबैभन्दा अप्ठ्यारो रह्यो। 'म के गर्दैछु आफैलाई थाहा थिएन। गायक बन्ने भन्ने थियो तर कहाँसम्म पुग्छु, कसरी र निरन्तरता दिन्छु दिँदिन भन्ने अन्यौल सधैं रह्यो', उनी भन्छन्,'व्यक्तिगत रुपमा पनि बाटोहरु बनाउन गाह्रो हुँदा यो सबै छोडेर आमाबुवाले भनेको मान्छु भन्नेसम्म सोचें।' 

तर संगीत छोडेर अरु केही गरेको भए आज स्वप्न र परिवार सायदै आजजस्तो खुशी हुन सक्थे। 

रेनेसा राईको त्यो प्रस्ताव

हिमालयन कलेजले नृत्य प्रतियोगिता आयोजना गरेको थियो। स्वप्न सुमन गायकको रुपमा उपस्थित र नृत्य निर्देशक रेनेसा राई प्रतियोगिताको निर्णायक थिइन्। स्वप्न सुमनको प्रस्तुतिपछि रेनेसाले भेटेर केही कुरा गर्न भनिन्। 

'भेट्दा उहाँले आफ्नो फिल्मको लागि गीत गाउने प्रस्ताव राख्नु भयो। मैले केही नसोची हुन्छ भने।' स्वप्नको लक्ष्य नै थियो नेपाली फिल्मको लागि रोमान्टिक गीत निर्देशन गर्ने। भेटमा रेनेसाले कथाको आवश्यक प्लट उनलाई सुनाएकी थिइन्। जुन सिनका लागि स्वप्नले तीन दिनमा तीनवटा गीत तयार गरे। रेनेसा बान्तवाको निर्देशकिय डेब्यु रहने फिल्म 'इन्टु मिन्टु लण्डनमा'को लागि 'थाहै भएन के भयो' बोलको गीत छानियो। जुन गीतको अडियो अहिले युटुयुबमा उपलब्ध छ। 

फिल्ममा स्थापित गायक तथा संगीतकारहरुको माग बढ्दो रहँदा युट्युबबाट उदाएका युवा गायकले शब्द, संगीत र स्वर दिन पाउनु उनको लागि चुनौतीसँगै अवसर पनि बन्यो। जुन अवसर छोटो समयमा निकै कम मान्छेले पाउँछन्। छोटो समयमा स्वप्न सुमन रुचाइनुको कारण भने आफ्नो गीतको प्याटर्नलाई मान्छन् उनी। जुन बनाउनको लागि उनले धेरै कोशिश गरे। उनी भन्छन्,'कोशिश गर्नुले नै निखार्ने रहेछ। सक्दिन, भएन वा आमा बुवाको मन राख्न आफ्नो रहर माया मारेको भए आज खुशी नहुन पनि सक्थें।‘ 

नयाँलाई सुझाव

स्वप्न आफूजस्तै गीत, संगीतमा लाग्न चाहने जो कोहीलाई पनि यो क्षेत्रमा करिअर बनाउन सकिंदै, पैसा कमाउन सकिंदैन भनेर निरुत्साहित बनाउन चाहँदैनन्। त्यसैले भन्छन्,’प्यासन र दृढता भएकोले आफूले चाहेको काममा एउटा लेभलको सफलता पक्कै हात पार्छन्। जोडिएका केही कुराहरुले असर गर्लान् तर महतुवपूर्ण चाहिं कामप्रतिको लगाव हो।‘ आमाबुवाले आफ्नो लागि देखिदिएको सपना त्यागेर आफ्नो बाटो बनाएका स्वप्न आमाबुवा प्रतिको सम्मान र आफ्नो इच्छाबीच इच्छाको बाटोलाई बुझेर पछ्याउन सुझाव दिन्छन्। 

भन्छन्,’हरेक सन्तानले सिङ्गो जीवन आफैले बाच्नुपर्छ त्यस्तोमा हब्बी र करिअर लाद्‍ने विषय हुन् जस्तो मलाई लाग्दैन।‘ 

उनी चाहन्छन् आमाबुवाले आफ्नो सन्तानलाई दुध र चियाको फरक गिलास राखेर चिया पिउनुको फाइदा बेफाइदा र दुध पिउनुको फाइदा बेफाइदा बुझाउन्। र के पिउने भन्ने निर्णय सन्तानलाई लिन दिउन्। 

‘जबरजस्ती खुवाएको त पच्दैन नि। असर गर्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell