PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

गोविन्दराज नेपाल/पहिलोपोस्ट


जोमसोमः नेपाली सेनाले आयोजना गरेको प्रथम सिओएएस हाई-अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबको 'बी' टिमले जितेको छ। 

आर्मी 'बी' का दीपकसिंह भण्डारी र प्रताप थापाले निर्धारित २०.२ किलोमिटर दुरी १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बने। उनीहरूले आर्मीकै मानबहादुर थाम र वसन्त थापा सम्मिलित ए टिमलाई १ मिनेट ६ सेकेण्डले पछि पारे। क्लाइम्बिङ र रनिङमा पछि परे पनि दीपक र प्रतापले साइकलिङमा राम्रो प्रदर्शन गर्दै आर्मीको ए टिमलाई जिते।

मानबहादुर थामा र वसन्त थापाको ए टिमले निर्धारित दूरी १ घण्टा २० मिनेट ५० सेकेण्डमा पूरा गर्दै दोस्रो भए।

एपीएफका लक्ष्मण मल्ल र किरण मल्लको एपीएफ ए टिमले निर्धारित दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पारे। 
नेपालमा पहिलो पटक आयोजना भएको ट्राई एड्भेन्चरमा सय मिटरको रक क्लाइम्बिङ, ४.७५ किलोमिटरको रनिङ र १३.३५ किलोमिटरको साइकलिङ समावेश थियो।

आर्मीको ए टिमलाई पछि पार्दै च्याम्पियन बनेका आर्मी बी'का दीपक र प्रतापले पहिलोपटक फरक किसिमको प्रतियोगिता भएकोले केही कठिन भए पनि टिम वर्कका कारण सफलता हात पारेको बताए। 

'सुरुमा केही गाह्रो भएको थियो। तर एक अर्काले सहकार्य गर्दै खेलेकाले जित सम्भव भयो‘ दुबैले भने।

साइकिलङका यी दुई राष्ट्रिय खेलाडीले यसअघि रक क्लाइम्बिङको अनुभव नभए पनि प्रतियोगिता अगाडि यहाँको हावापानीमा आएर तयारी गरेकाले फाइदा पुगेको प्रतिक्रिया दिए।

‘हामीले यसअघि क्लाइम्बिङ गरेका थिएनौँ। एड्भेन्टर विधा भएका कारण रिभर क्रस पनि गरेका थिएनौँ। दुबै विधा पहिलोपटक गरेका हौँ। ‘सुरुमा क्लाइम्ब गर्दै जाँदा केही गाह्रो भएको थियो। रनिङमा हामीले रिकभर गर्‍यौँ। त्यसपछि साइकलिङमा हामीले सहकार्य गर्दै ए टिमलाई उछिन्न सफल भयौँ। टिम वर्कले गर्दा नै सफल भयौँ।’ उत्साहित देखिएका भण्डारीले भने। 

यस्तै प्रताप थापाले पनि पहिलोपटक भएकोले जित्छु भन्ने नसोचेको तर एक अर्कासँग सहकार्य गरेकाले जितेको बताए।

प्रतियोगितामा आर्मीका ३, एपीएफका २ तथा अन्य १० गरी कूल १५ टिमले प्रतिस्पर्धा गरेका थिए। यस्तै हिमालयन गर्ल्सको नाममा एकमात्र महिला टिमले पनि प्रतिस्पर्धा गरेको थियो।

प्रतियोगिताको विजेता आर्मी बी'ले नगद ५० हजार, शिल्ड र प्रमाणपत्र हात पार्योो। दोस्रो भएको आर्मी ए टिमले नगद ३० तथा तेस्रो भएको एपीएफ ए टिमले २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्‍यो ।

यस्तै सहभागी अन्य टिमलाई प्रोत्साहन स्वरूप नगद ५/५ हजार र प्रमाणपत्र प्रदान गरियो। प्रतियोगिताको लागि मुस्ताङमा दुई गाउँपालिकाले साढे ३ लाख नगद सहयोग गरेका थिए।

विजयी खेलाडीहरूलाई प्रधान सेनापति राजेन्द्र क्षेत्री लगायतले पुरस्कार प्रदान गरे।

पहिलो संस्करणको सफल आयोजनापछि आगामी वर्ष अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता गर्ने आयोजकले जनाएको छ।

च्याम्पियन आर्मी बी का दीपक र प्रताप


ट्रेन्डिङ पोस्ट

Ncell