-फिल्म समीक्षा-
फिल्म ‘शत्रु गते’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्यो। व्यापारिक रूपमा राम्रो प्रदर्शन गरिरहेको फिल्मले सामाजिक सञ्जालमा पनि प्रसंसा बटुली रहेको छ। 'मह' जोडी, दीपक- दीपा हुँदै पल र आँचलसम्म तीन पुस्ताका चर्चामा रहेका कलाकार भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनु स्वाभाविक हो। तर विषय र प्रस्तुतिसँग फिल्मले गरेको व्यापार र पाएको वाहवाहीको तालमेल निकै अस्वभाविक लाग्छ। शत्रु गते हेरेपछि दर्शकले प्रस्ट थाहा पाउँछन्- मनोरञ्जनात्मक भएकै कारण फिल्म चर्चामा रह्यो।हास्य कलाकारहरूको भिड रहेको फिल्ममा अभिनय र संवादहरूले दर्शकलाई अन्त्यसम्म बाँधिराख्छ। नाटकीयताले भरिपूर्ण फिल्ममा पात्रहरू एउटै होडमा छन्- जसरी हुन्छ दर्शक हाँस्नु पर्छ। चाहे त्यो मुख बंग्याएर होस् वा राइमिङ मिलाउँदै कवितात्मक डायलग बोलेर। पात्रहरू सफल पनि भएका छन्। किनकि शर्मा- खोरमा, पार्वती- दुर्गती, लाइफ- वाइफ, एसएलसी- मसल्सी जस्ता राइम मिलाइएका संवाद बोल्दा दर्शक खुब हाँस्छन्।
काठमाडौंको एउटै कोलोनीमा बस्ने सुरज (पल शाह) र सन्ध्या (आँचल शर्मा) प्रेम सम्बन्धमा हुन्छन्। एक-अर्काबिना बाच्न सक्दिन भन्ने उनीहरूको विवाहको तयारी पनि सुरु हुन्छ। तर सुरजका बुवा गोपाल (हरिवंश आचार्य) विवाह होस् भन्ने चाहँदैनन्। कारण हो सन्ध्याका बुवा राजनीतिज्ञ रघुवंश (रमेशरञ्जन झा)को घुसाहा प्रवृत्ति। उनीहरुबिचको सम्बन्ध राम्रो नभए पनि छोराछोरीको प्रेमलाई स्विकार्छन् र दुबै पक्ष विवाहको लागि तयार हुन्छन्। यहीबिच कोलोनीमा युट्युबर राहुल (दीपकराज गिरी) र इन्स्पेक्टर शीतल (प्रियंका कार्की) बस्न आउँछन्।
राहुको रूपमा राहुलको प्रवेशसँगै कोलोनीभित्र विभिन्न अप्रत्याशित घटना घट्छन् जसमध्ये एउटा हो सुरज र सन्ध्याको परिवारबिचको असमझदारी। असमझदारीसँगै घट्ने घटना र पात्रहरूलाई पुर्याउने अवस्था नै फिल्मको विषय हो।
दीपक दीपाले यसअघि फिल्म छक्कापञ्जाका दुई संस्करणमा सफलताको जुन स्वाद चाखे त्यही स्वाद शत्रु गतेबाट पनि अपेक्षित रह्यो। सायद, त्यसैले फिल्मको प्रस्तुति र संवादमा छक्का पञ्जा ह्याङ्ग प्रस्ट हुन्छ। जात्रा निर्देशक प्रदिप भट्टराईको निर्देशन रहेको भनिए पछि शत्रु गतेमा कलात्मक अनि सिर्जनशिलताको अपेक्षा धेरैले राखे। तर फिल्मको निर्देशकीय पाटोमा संवाद र कलाकारको शैली हाबी भएको जस्तो लाग्छ।
फिल्मलाई निर्देशकले कम मसालेदार बनाउने सोचले ज्यादा निर्देशन गरेको छ। योपनि देखाउनु पर्छ त्यो पनि छुटाउनु हुन्न। आए जतिको संवाद यो पनि घुसाउनु पर्छ त्यो पनि राख्नै पर्छ भने जसरी संवाद र दृश्यहरू थोपरिएका छन्। जसका कारण फिल्म फुलअन कमेडी त बन्यो तर राम्रो बनेन। घुस्याहा राजनीतिज्ञलाई व्यंग्य, पत्रकारिताको नाममा भइरहेको युट्युबको दुरुपयोग, प्रेम, दाइजो प्रथाको विरोध सबै विषय हाँसो मिसाएर प्रस्तुत गरिएको छ। त्यसैले कथा ताजा नभएपनि रमाइलो लाग्छ। तर मध्यान्तरपछि नाटकीय पाटो यसरी हाबी हुन्छ की न हास्य पाटो उही गतिमा चल्छ न त ट्विस्ट न टर्न।
पुरानो टेलिफिल्म १५ गतेको प्रभाव, अनावश्यक भिलेन पात्रहरूको इन्ट्री, भावनात्मक सम्बन्धको सतही प्रस्तुति, ट्र्याक्टर र हेलिकोप्टर प्रयोग गरेर देखाइएको अविश्वसनिय सेटिङ यस्तै अनावश्यक कुराहरूबिच पात्रहरू रुमलिन्छन्। र जबरजस्ती ‘ह्याप्पी इन्डिङ’ हुन्छ।
शत्रु गतेमार्फत मह जोडीले आफ्नो टेलिशृङ्खलाहरुमा दिँदै आएको सामाजिक सन्देश दिन खोजेजस्तो पनि लाग्छ साथै दीपक दीपाले आफ्नो टेलिफिल्ममार्फत गर्दै आएको चोटिलो प्रहार गरेजस्तो पनि लाग्छ। समग्रमा फिल्म दर्शकले यी दुई जोडीसँगै शिवहरी पौडेल, किरण केसीलगायतले देखाउँदै आएको हास्य टेलिफिल्महरुको संग्रह जस्तो भान हुन्छ। किनकि शत्रु गतेका पात्रहरूमा केन्द्रीय द्वन्द्व प्रस्ट छैन। फिल्मको कथा उत्कर्षमा नपुगी बग्छ मात्र। पात्रहरूको कथा र मनोविज्ञान कम अनुहार र बोली केन्द्रमा छ। अभिनयको हकमा हरिवंश आचार्य र दीपाश्री निरौलाको जोडीले दर्शकको ध्यान तान्छ। दीपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, किरण केसीले आफ्नो चरित्र कुशलतापूर्वक निभाएका छन् तर उस्तो धेरै आकर्षक र फरक लाग्दैनन्।
युवामाझ चर्चित पल शाह र आँचल शर्माका लागि फिल्म अभिनय सिक्न र अनुभव बटुल्न राम्रो अवसर बन्यो होला। उनीहरू एकसाथ देखिएका पछिल्ला फिल्मको तुलनामा केही सुधार देखिएको छ तर अझै मिहेनत गर्नु आवश्यक लाग्छ।
पात्रहरू कुदेको कुद्यै गर्नुले सेटिङ स्थापनामा निर्देशक स्वयंम अलमल भएजस्तो लाग्छ। प्राविधिक पाटोमा भने सबल छ शत्रु गते। प्रचार प्रसारको लागि उत्कृष्ट भूमिका खेलेका दुई गीत असान्दर्भिक रूपमा राखिएपनि सांगीतिक पाटोमा धेरै प्रश्न गर्नु पर्ने ठाउँ दिएका छैनन् सुजिल कर्मचार्यले। हास्य कलाकारहरूको जिम्मेवारी दर्शक हँसाउनु मात्र हो भने सफल भएका छन् हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपाश्री निरौला र दीपकराज गिरी। फिल्म व्यवसायका लागि मात्र हो भने झनै सफल भएका छन्। समग्रमा कलात्मक र सिर्जनात्मक रूपमा चुकेकोको शत्रु गते मनोरञ्जनात्मक लाग्न सक्छ।