पुष्कर शाह-विश्व साइकल यात्री। शाहले झण्डै १२ वर्ष साइकलमार्फत नै विश्व यात्रा गरे। उनी आफूलाई साइकलमा यात्रा गर्नकै लागि जन्मेको बताउँछन् ।
एक दशक भन्दा बढी समय साइकलबाट विश्वलाई नजिकबाट बुझेका शाहले विस २०६६ मा विश्वका सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे।
चार वर्षअघि शाह उपाध्यक्षको रुपमा नेपाल साइक्लिङ संघमा प्रवेश गरे। यही चैत २४ गते संघको चुनावका लागि शाहले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
नाङ्लो बेकरीका मालिक गोपाल कक्षपतिसँग प्रत्यासी बनेका उनै शाहसँग आगामी चुनाव, नेपालमा साइक्लिङको अवस्था, उनले गरेका कार्य र आगामी दिनमा गर्ने कामहरुको बारेमा पहिलोपोस्टले गरेको कुराकानी:
नेपाल साइक्लिङ संघको अध्यक्षमा उम्मेदवारी किन?
नेपाली साइकल सत्ता विगत २४ वर्षदेखि एकाधिकारको रुपमा चलिरहेको छ। त्यही नेपाली साइकल सत्ताको सिन्डिकेट तोड्न मेरो उम्मेदवारी हो।
साइकल सत्ताको भनेको कस्तो हो?
जसरी राजनीतिक सत्ता हुन्छ, व्यापारीको सत्ता हुन्छ, हामी साइकल कुदाउनेहरुको साइकल सत्ता हुन्छ। त्यो एउटा टिमले मात्र २४ वर्षदेखि नेतृत्व गरिरहेको छ। अनी त्यो टिमलाई हामीले सिन्डिकेट भन्यौँ र त्यो टिमको विरुद्धमा, पुरानो नेतृत्वको विरुद्धमा नयाँ जोश, जाँगर, उत्साह र यो खेलप्रति लगाव भएको मानिसहरुको आगमन हुनुपर्छ भन्ने मान्यतासहित म लागयत मेरो टिमको उम्मेदवारी हो।
एउटै टिमले २४ वर्ष कसरी राज गर्न सफल भयो त?
२४ वर्ष अगाडी एउटा टिम बन्यो। त्यो टिमले जिल्लामा संघहरु विस्तार गरेन। जिल्ला विस्तार नगरेपछि त्यही टिम अर्को ४ वर्षको कार्यकालमा पनि अगाडी बढ्दै गए। उनीहरुलाई चुनौती दिने कोही भएनन्। जिल्लामा विस्तार भएको भए पो नयाँ मान्छे आउँथ्यो। मतहरु विभाजन हुनुथ्यो। तर त्यसो हुन नसक्दा एउटा सिन्डिकेट जस्तो भएर बस्यो।
त्यस्तो एकाधिकार रहेको ठाउँमा तपाइको प्रवेश कसरी भयो?
अघिल्लो कार्यकालमा यस्तै किसिमले निर्माण भएको थियो। अघिल्लो कार्यकालमा म अली जबर्जरस्ती पाराले नै प्रवेश गरेको हुँ।
चुनाव लड्नुर्यो कि परेन।
लड्नुपरेन।
तपाई अहिले संघको अध्यक्षमा चुनाव लड्दै हुनुहुन्छ। तपाई विश्व भ्रमण गरिसकेको व्यक्ति, अझ साइकल सेलेब्रेटी। समग्र नेपाली साइक्लिङको अवस्था चाहि कस्तो छ?
नेपाल माउन्टेन बाइकिङको लागि भूस्वर्ग नै हो। नेपालमा विश्वस्तरिय खेलाडीहरु उत्पादन गर्न सकिन्छ। तर साइकल यति महँगो खेल हो कि यो खेलहरुको नै महँगो खेल हो। जस्तो कि एउटा साइकलकै २ लाख ३/४ सम्म पर्छ। एउटा १५ सयको भकुन्डो २२ जनाले खेल्न पुग्छ। अब २२ जना खेलाडीलाई २२ वटा साइकल चाहिन्छ। यसकारण हाम्रो आर्थिक अवस्थाका कारण यहाँको साइक्लिङ महँगो हो। यहाँका खेलाडीहरुलाई यहाँको युवाहरुलाई प्रशिक्षण गर्ने हो भने विश्व स्तरिय खेलाडीहरु बनाउन सकिन्छ। त्यसप्रति हामीले अहिलेसम्म त्यति धेरै चासो ध्यान केन्द्रित गर्न सकेनौँ।
अब त्यसका लागि के गर्नुपर्छ?
अब आउने नयाँ नेतृत्वले युवा खेलाडीहरु प्रत्येक जिल्लाबाट उत्पादन गर्ने। ती खेलाडीहरुलाई नेपाल साइक्लिङ संघमार्फत प्रशिक्षण दिने र अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरु ल्याएर नेपालका अत्यन्त सुन्दर रमणीय स्थानहरुमा लगेर प्रशिक्षण दिएर नेपाली खेलाडीलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने सम्भावना प्रचुर छ।
साइकलबाटै विश्व यात्रा गरेको तपाईँ खेलाडीलाई पनि चर्चित बनाउन र विश्वमाझ अगाडी बढाउन तपाईँको नाम र कामले कसरी सहयोग गर्छ?
म र मेरी परिचय संसारभर छ। मेरो संजाल विश्वभर छ। त्यो संजाल र त्यो पहुँचलाई म प्रयोग गर्न सक्छु भन्ने मेरो आफ्नो धारणा हो। त्यही अनुरुप यहाँको खेलाडीहरुलाई प्रशिक्षण दिने। अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकहरु बोलाउने काम गर्न सकिन्छ। जसरी खेलकुदमा अरु खेलहरु कराते, फुटबल, क्रिकेट छ त्यो खेलहरुमा राखेप र सरकारले जति लगानी गरेको छ त्यति साइक्लिङमा लगानी भएको छैन। साइक्लिङमा पनि अरु खेल जत्तिकै लगानी गर्नको लागि पनि मेरो नाम र मेरो कामले पहुँच पुग्छ कि भन्ने विश्वास छ।
तपाईले भन्नुभयो साइक्लिङको लागि नेपाल भू स्वर्ग हो। तर यहाँको स्थानलाई सदुपयोग गर्दै खेलाडीलाई यसमा लाग्न प्रेरणा दिन नसकेको हो?
एउटा कुरा यसमा लाग्न प्रेरणा पनि भयो। अर्को कुरा प्रशिक्षण आवश्यक पर्छ। डाइटिङका कुरा भए। जस्तो फुटबल खेल एक घण्टा/दुई घण्टा ट्रेनिङ गरे पुग्छ। तर साइक्लिङ ८ घण्टा/९ घण्टा ट्रेनिङ गर्नुपर्छ। अर्को त्यो खेलाडीलाई चाहिने कुराहरु हुन्छन्। खेलाडीको डाइटिङ, न्युट्रिसन, प्रोटिनहरु लगायत कुराहरु प्रसस्त मात्रामा दिन सक्दैनौँ हामी। त्यो कुराहरुमा ध्यान दिनुपर्छ। हामीसँग भूमि छ। भूमिलाई प्रयोग गर्नलाई अझैपनि हामीले व्यक्तिगत रुपमा सकेका छैनौँ। खेलाडीले अझै सक्दैन। यसका लागि राज्यको तर्फबाट अत्यन्तै संवेदनशिल भएर राज्य नै जिम्मेवार भएर लाग्नुपर्छ।
हाम्रै देशको साइकल खेलाडी राजेश मगर नेसनल जिओग्राफीमा वर्ल्ड एड्भेन्चर अफ दि इअरमा नोमिनेसनमा परेका छन्। यस्ता प्रतिभालाई पहिचान गर्न के गर्नुपर्छ?
राजेश मगर जस्तै क्रस कन्ट्रीमा अरु खेलाडीहरु नारायण गोपाल महर्जन, अजय पण्डितजस्ता खेलाडीहरु छन्। धेरै खेलाडीहरु छन्। ती खेलाडीहरुको लागि हामीले अझै मेहनत गर्ने र प्रशिक्षण दिलाउने सके विश्वस्तरिय खेलाडी बन्न सक्छन्।
फेरी चुनावकै विषय, अघिल्लो कार्यकालमा उपाध्यक्ष रहँदा के के काम गर्नुभयो?
अहिलेसम्म मेरो कार्य प्रगति विवरण भन्नुपर्दा विगत चार वर्षदेखि नेपाल साइक्लिङ संघ एउटा कोठामा सीमित थियो। त्यसलाई हामीले जिल्ला जिल्लामा विस्तार गर्दै २४ जिल्लामा पुर्याइसक्यौं। जिल्लामा विस्तार गरेपछि हरेक जिल्लामा साइकलप्रतिको मान्छेको मोह चासो बढ्यो। ए.. साइकल पनि खेल हो र भन्ने चासो जगायौँ। हामीले आम मानिस र खेलाडीमा पुर्याययौँ। त्यो अझ विस्तार गर्ने सोच छ मेरो। नेपालक सबै जिल्लाहरुमा साइकल संघ पुगोस्। त्यहाँका मानिसहरुले साइकलमा पनि खेलाडी बन्न सकिन्छ भन्ने थाहा पाओस् भन्ने मेरो सोच हो। र उपाध्यक्षले हैसियतले गर्न सक्ने काम गर्दै संघलाई विस्तार गर्यौं।
अध्यक्ष बन्नका लागि एजेन्डाहरु चाहि के के छन्?
प्रत्येक जिल्लामा नेपाल साइक्लिङ संघको निर्माण गर्ने। प्रत्येक जिल्लामा हरेक वर्ष प्रतियोगिता गर्ने। ति प्रतियोगिताबाट छानिएर आएका खेलाडीहरुको राष्ट्रिय प्रतियोगिता गराउने। राष्ट्रिय प्रतियोगिताबाट उत्पादन भएका खेलाडीहरुलाई अन्तर्रष्ट्रिय स्तरका प्रशिक्षक ल्याएर अझ बढी प्रशिक्षण दिने। उनीहरुलाई एसिया र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सँगै ओलम्पिकसम्म पुर्याउने वातावारण बनाउने हो। अब अन्तर्राष्ट्रिय खेलाडीहरु बनाउन सक्ने गरी अगाडी बढ्नेछु।
वर्ल्ड साइक्लिङ संघसँग नेपालको सम्बन्ध सहकार्य कस्तो छ?
संसारका सबै देशका साइकल संघहरु छन्। अन्तर्राष्ट्रिय रुपमा त्यसको सबैभन्दा ठूलो संस्था युसिआई छ। जसमा हामी नेपाल पनि सदस्य छौँ। मेरो घुमाघम, मेरो नामको हिसावले म संसारका धेरै देशहरुसँग साइकल संघहरुसँग आबद्ध छु।
युसिआईबाट सहयोग पाउन, लगानी भित्र्याउन के गर्न सकिन्छ?
त्यो पहलको कुरा हो। हिजोका दिनहरुमा चाँही साइक्लिङ संघले वर्षको एउटा नेसनल च्याम्पियनसिपहरु मात्र गराएर टुङ्गायौँ र त्यसैमा सन्तुष्टी जनायौँ। त्यो कुराहरुले चाँही मलाई सन्तुष्टी दिदैँन। किनभने म आफै एउटा साइकलप्रतिको लगाव भएको मान्छे हुँ। बिहान उठेदेखि बेलुका नसुतेसम्म साइकलकै मनन चिन्तन गरेर हिँडिरहेरने मान्छे भएको हुनाले यो लगानी वृद्धि गर्न र खेलाडीहरुको मनोबल बढाउन र खेलाडीलाई अझै अन्तर्राष्ट्रिय स्तरको बनाउन मेरो पहल हुनेछ र यसमा म सँधै लागिरहनेछु।
पुष्कर साह साइकल लिएर घुम्ने मान्छे मात्र होइन अब साइक्लिङ संघलाई नेतृत्व दिएर अघि बढ्न चाहन्छ भन्दा यसले कस्तो सन्देश जान्छ?
मेरो सन्देश भनेको म संसार घुमिसकेको मान्छे। म साइक्लिङ एसोसिएसनमा गएर संसारका कनै देश घुम्न जाउला भनेर यहाँ आएको होइन। म मेरो सपना भनेकै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने। नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेलहरु आयोजना गर्ने र नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र प्रतिस्पर्धा गराउने।
तपाई अध्यक्ष बनेर आइसकेपछि नेपाली साइक्लिङमा के नयाँ हुन्छ र केकस्ता सम्भावनना छन्?
म सँग उत्साह छ, युवा जोश जाँगर छ। संसारभरी साइकलका सम्भावना भएको देशमा साइकलिस्टहरु कसरी अन्तर्राष्ट्रिय स्तरका खेलाडी बढ्छन्, चम्किन्छन् भन्ने कुराहरु मैले आफ्नै आँखाले देखेर भोगेर अनुभव गरेर आएको भएर त्यो सम्भावना यो देश यो माटोमा पनि छ भन्ने लागेको छ।