PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कसरी गर्छन् नेपाली फिल्मको 'न्वारन'?



स्वेच्छा राउत

कसरी गर्छन् नेपाली फिल्मको 'न्वारन'?

निर्माता अर्जुन कुमार पोखराबाट काठमाडौं आउँदै थिए। जाममा परेको बेला उनले बाटोमा फालिएको फाटेको जुत्ता देखे। त्यो उनलाई निकै विम्बात्मक लाग्यो। तत्काल उनले 'फाटेको जुत्ता' नाममा फिल्म बनाउने निर्णय गरे। र, चलचित्र विकास बोर्डमा नाम दर्ता गरे। दर्ता लगत्तै फिल्म घोषणा पनि भयो। निर्मातासँग नाम थियो, कथा थिएन। टाइटल सुहाउँदो कथाका लागि उनले एक लाख नगद पुरस्कार दिने भन्दै प्रतियोगिता नै गरे। तर, चित्तबुझ्दो भेटेनन्। उनको प्रोजेक्ट चार वर्ष ढिलागरी पूरा भयो, निरज महर्जनको लेखनमा। र, ‘फाटेको जुत्ता’ घोषणा भएको चार वर्षपछि मात्र प्रदर्शन भयो।

फिल्मको नाम कति महत्वपूर्ण छ त? अर्जुनलाई लाग्छ दर्शक आकर्षित गर्न नाम निकै आवश्यक छ। नाम 'क्याची' हुनुपर्छ साथै कथासँग मेल खाने पनि। त्यसैले त 'फाटेको जुत्ता' उनको 'ड्रिम प्रोजेक्ट' बन्यो।

धेरै निर्माता निर्देशक फिल्मको नामले दर्शक हलसम्म तान्न भूमिका खेल्ने विश्वास गर्छन्। निर्माता छविराज ओझा भन्छन्, 'नाम फिल्म प्रचारको पहिलो आधार हो। फिल्मको 'टाइटल' घोषणासँगै दर्शक आकर्षित हुन सुरु हुन्छ।' 

उनका लागि पनि टाइटल चयन सबैभन्दा गाह्रो काम हो। त्यसैले फिल्मको न्वारन गर्न उनी ज्योतिषको सहायता लिन्छन्। उपयुक्त दिन, बार, अक्षर, अङ्क, कलाकारको राशी र शब्दबारे बुझ्छन्। छविराज भन्छन्, 'विश्वासको कुरा हो। त्यसैले कुण्डली नक्षेत्र देखाएर फिल्मको नाम चयन गर्नुले सन्तुष्टि मिल्छ।'

ज्योतिषलाई देखाएर तयार पारिएको फिल्मले आफूलाई निराश नबनाएको उनको दाबी छ। ज्योतिषको सुझावअनुसार नामकरण गरिएका 'लज्जा', 'किस्मत', 'मंगलम्', 'हिफाजत', 'हवल्दार सुन्तली' लगायत फिल्मले कथालाई त न्याय गर्‍यो नै साथै व्यवसायिक पाटोमा पनि उनलाई निराश बनाएन। 

पुराना फिल्म निर्देशक एवं निर्माता शम्भु प्रधानले प्राय फिल्मको नाम 'स'बाट राखे। उनले गुरु मानेका ज्योतिषको सुझाव थियो – 'स'बाट सिनेमाको नाम जुराउनु, चल्छ। 'हुन पनि 'स'बाट नाम राखेको ८० प्रतिशत फिल्म मजाले चल्यो,' ज्योतिषको सुझावले पारेको सकारात्मक प्रभावबारे भन्छन्, 'तर, अक्षर जुरे पनि कथा अनुसार नाम खोज्न साह्रै कठिन। कति पटक त स्क्रिप्टलाई जति समय र दिमाग लगानी गर्नुपर्छ त्यति नै नामलाई दिन पर्‍यो।' 

सम्झना, सम्पत्ति, सपना, स्वर्ग, सक्कली नक्कली, सन्यास, सरस्वती, सोह्र वर्षे जवानीलगायतका फिल्म बनाएका शम्भु प्रधानको पछिल्लो फिल्म 'रङ्ग बैजनी' हो। यो फिल्म असफल ठहरियो। त्यसैले अहिले नामको कारण हो भन्ने विश्वास शम्भुलाई छैन। भन्छन्, 'एक समय थियो अक्षरको विश्वास गरियो। ज्योतिषको विश्वास गरियो। तर, अब काम नै राम्रो हुनुपर्छ भन्ने पक्षमा छु।' 

ज्योतिष विज्ञानमा उस्तै विश्वास गर्ने अर्का निर्देशक विकास आचार्यले परामर्श अनुसार नाम जुराउँछन्। सबैभन्दा धेरै सिक्वेल बनेको नेपाली फिल्म 'नाईं नभन्नु ल'को स्क्रिप्टभन्दा पहिले नाम जुरेको हो। नक्षत्र र कुण्डलीमा विश्वास गरेर बनाइएको फिल्मको नाम 'ब्राण्ड' बन्यो। दर्शकले विश्वास गरे। विश्वासकै कारण २०७५ मा त फिल्मको पाँचौं संस्करण तयार हुँदैछ। 

नाम जुराउन 'एस्ट्रोलोजिकल' पक्षबाट 'सेफ साइड' खोज्नेमा पुराना फिल्मकर्मी मात्र छैनन्। युवा निर्माता निर्देशकमा पनि यो 'ट्रेन्ड' हावी छ। फिल्म 'डायरी'को अङ्ग्रेजी नाममा एउटा होइन दुईवटा 'आर' लेखिएको थियो। झट्ट देख्दा गल्ती जस्तो लागे पनि त्यो गल्ती थिएन। निर्देशक अनिल योन्जनले भने, 'हामीले ज्योतिषलाई देखाउँदा दुईवटा 'आर' लेखे फाप्छ भन्नु भयो।' रोचक त के रह्यो भने, फिल्म फ्लप भयो। 

प्रदर्शनको तयारीमा रहेको फिल्म 'लिलिबिली'का निर्माता एवं वितरक गोविन्द शाही पनि ज्योतिषलाई विश्वास गर्छन्। भन्छन्, 'आस्था न हो। ग्रहदशा देखाएपछि मनलाई खुब शान्ति मिल्छ।' 

वर्किङ टाइटल भनिएको लिलिबिली नै फिल्मका लागि उपयुक्त नाम हुने सुझाव ज्योतिषबाट पाएपछि गोविन्दले फिल्म युनिटलाई सोही नाम राख्न 'कन्भिन्स' गरे। पहिलोपटक 'कहाँ छौ कहाँ?'को नाम राख्न गाह्रो भएपछि उनले 'गुरु'को सहयोग लिएका थिए। त्यो फिल्म हिट भयो। त्यसपछि गोविन्दले सबै  प्रोजेक्टमा ज्योतिषको सहयोग लिने गरेका छन्। सुनाउँछन्, 'ज्योतिष विज्ञान सेकेन्डरी कुरा होला तर फिल्मको नाम प्राइमरी हो। त्यसैले जसरी हुन्छ राम्रो नाम राख्न मैले फरक तरिका खोजेको छु।' गोविन्द डिस्ट्रिब्युसनका लागि भने आफूले सबैभन्दा पहिले निर्देशक, त्यसपछि कलाकार अनिमात्र नाममा ध्यान दिने गरेको बताए।

डिस्ट्रिब्युटर गोपाल कायस्थले नाम हेरेरमात्र वितरणको जिम्मेवारी लिने बताउँछन्। भन्छन्, 'नाम त दर्शक तान्ने माध्यम हो। त्यसैले नाम आकर्षक र सजिलो हुन अति आवश्यक छ।' 

प्राय: फिल्मकर्मी चाहन्छन् नामले कथा र विषयबारे जानकारी देओस्। त्यसैले गाँजाको खोजीमा भौतारिने दुई युवाको कथामा बनेको फिल्मीको नाम राखियो 'गाँजा बाजा'। तर, चलचित्र विकास बोर्डले दर्ता प्रक्रिया रोक्यो। लागू औषधको नाम फिल्मको शीर्षक हुन नसक्ने भन्दै दर्ता गरिसकेको फिल्मको प्रमाणपत्र दिन अस्वीकार गर्‍यो। यस्तोमा निर्माण युनिट विकास बोर्डविरुद्ध कानुनीरुपमा उत्रियो। तर, सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको १ वर्षसम्म पनि अन्तिम फैसला सुनाइएन। 'हामी कुनै पनि हालतमा नयाँ टाइटल जुराउने पक्षमा थिएनौं। कथासँग मेल खाने भएकै कारण राखिएको नाम परिवर्तन भएपछि अरु पनि धेरै कुरामा परिवर्तन आवश्यक हुन्थ्यो?', निर्देशक गणेशदेव पाण्डेले सुनाए। 

व्यवसायिक रुपमा फिल्म बनाइरहेका पाण्डेका लागि एउटा प्रोजेक्टमा दुई वर्षभन्दा बढी समय खर्चनु आर्थिक रुपमा घाटाको काम हो। तर, उनले फाइदाको बाटो रोजेनन्। पाण्डे भन्छन्, 'लोकतन्त्र र संविधानले दिएको अधिकारमा चलचित्र विकास बोर्डले अंकुश लगायो। तर, बोर्डविरुद्ध लडेर गाँजाबाजा नाममै फिल्म प्रदर्शन गर्यौं । अब अरु फिल्मकर्मीलाई यस्तो शोषण नहोला।' 

निर्माता एवं निर्देशक सुदर्शन थापाले 'डि फर डान्स' नाम चलचित्र विकास बोर्डमा दर्ता गराए। उनी तत्काल फिल्म बनाउने तयारीमा भने छैनन्। पहिलोपोस्टसँगको कुराकानीमा थापाले भने, 'हाल स्क्रिप्टमा काम भइरहेको छ। अरुले प्रयोग गर्ला भनेर त्यो नाम दर्ता गरेको हुँ। फिल्मको काम त १ वर्षपछि मात्र सुरु गर्छु।' उनी पनि विषय उठान र कथावस्तुसँग नाम मेल खानुपर्ने विश्वास राख्छन्। आफ्नो नयाँ स्क्रिप्टको लागि 'डि फर डान्स' उपयुक्त महसुस गरेकाले उनले फिल्म दर्ता गरेका हुन्। 

निर्देशक दिनेश राउत भने फिल्म घोषणाको दुई दिन अघिसम्म पनि उपयुक्त नामको खोजीमा छन्। 'फिल्म सोमबार घोषणा हुँदैछ तर नाम के राख्ने भन्ने बारे सल्लाह जारी छ। वर्किङ टाइटल निधो भयो तर फिल्म बनिसक्दा कथालाई सपोर्ट गर्ने अर्को नाम जुरे चेन्ज हुनसक्छ,' पात्र र कथासँग मिल्ने नामले नै दर्शक आकर्षित गर्ने उनको तर्क छ। उनी दिन र बार हेरेरभन्दा कथा हेरेर नाम राख्ने बताउँछन्। भन्छन्, 'नाम त दर्शकले मन पराएपछि न स्थापित हुने हो।'

आकाश अधिकारीको हकमा भने अक्षरले महत्व पाउने गरेको छ। उनले नेपालीमा 'क' र अङ्ग्रेजीमा 'ए'लाई नामको सुरुवाती अक्षरको रुपमा प्रयोग गर्न थालेका छन्। 'यी दुई अक्षर म आफैलाई लक्की फिल भयो,' उनले कारण खुलाए, 'धार्मिक रुपमा भन्दा पनि आफूले व्यक्तिगत रुपमा 'क' वा 'ए'लाई महत्व दिएको हुँ।' पन्छी, दाग, उकाली ओराली लगायत फिल्मबाट चिनिएका उनले क्रोध, को आफ्नो को बिरानोबाट व्यवसायिक सफलता हात पार्न थाले। र काठमाडौं, कोहिनुर, के म तिम्रो होइन र? हुँदै फिल्म कान्छीसम्मको यात्रा पूरा भयो। 'म आफैलाई के फाप्छ आफै निधो गर्छु तर काम नै राम्रो भएन भने चाहिं नाममा मात्र ध्यान दिएर हुँदैन। त्यसैले मेरो लागि कथाले बढी महत्व राख्छ।' 

टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, धनपति लगायत फिल्मका मुख्य पात्रको रुपमा देखिएका खगेन्द्र लामिछाने फिल्म लेखनमा पनि टलकजंग भर्सेस टुल्केदेखि नै सक्रिय छन्। हाल उनको 'डमरुको डण्डिबियो' प्रदर्शनको तयारीमा छ। उनको संलग्नता रहेका सबै फिल्मको नाम पात्र केन्द्रित छन्। 'कथाबस्तु पात्र केन्द्रित भएपछि नामले पनि विषयलाई साथ दिनुपर्छ जस्तो लाग्छ', नामले कथा र पात्रको भावसँग मेल खानुपर्छ भन्ने खगेन्द्रको तर्क छ। 

'म कर्ममा विश्वास गर्छु', निर्माता माधव वाग्ले सुनाउँछन्, 'नाम त काम राम्रो भएपछि चल्ने हो। चाहे त्यो मान्छेको होस् कि फिल्मको।' उनका फस्ट लभ, छड्के, लुट, लुट २, लभ सासा प्रदर्शन भएका फिल्म हुन्। 'छड्के बाहेक मेरा प्राय फिल्मले लगानी उठाए। ती फिल्महरुमा ल अक्षर आएको छ। छड्केमा मात्र छैन। तर, मैले जानेर ल भएको नाम राखेको भने होइन,' उनले सुनाए। 

युवा ज्योतिष हरिहर अधिकारी धेरै फिल्मकर्मीलाई उपयुक्त नामको लागि सल्लाह सुझाव दिन्छन्। तर, जब आफै फिल्म निर्माणमा होमिए तब उनलाई पनि नाम चयन निकै गाह्रो भयो। फिल्म 'ए मेरो हजुर २'को कथा अधिकारीले लेखेका हुन्। १६ वर्ष अघि बनिसकेको फिल्म 'ए मेरो हजुर'को कथासँग मेल नखाए पनि फिल्मको सिक्वेल घोषणा गरियो। फिल्मलाई निर्देशन गर्ने भइन् अभिनेत्री झरना थापाले। तर, टिमसँग प्रोजेक्टको लागि नाम थिएन। 'हामीले ८/९ वटा नाम तयार पारेका थियौं। अन्त्यमा एस्ट्रोलोजिकल्ली र ब्रान्डको हिसाबमा पनि ए मेरो हजुर २ जुरायौं', फिल्म ए मेरो हजुरको नाम सापटी लिनुको कारण उनले खुलाए। झरनाले भने 'ए मेरो हजुर' प्रेम कथाको राम्रो प्रतीक बनेका कारण उक्त नाम सापटी लिएको तर्क राखिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell