PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

दक्षिण एसियाली जुडो : पहिलो दिन भारतलाई ४ स्वर्ण, नेपाललाई १



गोविन्दराज नेपाल

दक्षिण एसियाली जुडो : पहिलो दिन भारतलाई ४ स्वर्ण, नेपाललाई १

काठमाडौं : साग गेम्सको गोल्ड मेडलिस्ट नेपाली जुडो खेलाडी फुपूल्हामु खत्री आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जित्न असफल भएकी छिन्।

शनिवारदेखि ललितपुरमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन भारतले सर्वाधिक ४ स्वर्ण जित्दा नेपालले भने एक स्वर्ण मात्र जित्न सक्यो। यस्तै पाकिस्तानले २ स्वर्ण हात पार्‍यो। फुपू फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन्।

पहिलो दिन १०० केजीमुनी रविन श्रेष्ठले नेपाललाई एक मात्र स्वर्ण दिलाए। भारतीय खेलाडी सहभागि नरहेको उक्त तौल समूहमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। राउण्ड रोविनमा रविनले बाँकी ३ खेलाडीलाई पराजित गरे। दुई खेलाडीलाई पराजित गरेका बंगलादेशका अजाद अबुल कलामले रजत तथा एक खेल जितेको नेपालका सूर्य मान लामाले कास्य जिते।

साग गेम्समा स्वर्ण जितेकी तथा रियो ओलम्पिक्समा पुरै ४ मिनेट विपक्षीसँग लडेकी फुपू घरेलु समर्थक अघि रजतमै चित्त बुझाउन बाध्य भइन्।

६३ केजी मुनीको फाइनलमा फुपूलाई भारतीय खेलाडी सुनिबालाल देवी हुइद्रोनले इप्पोनमा हराइन्।

यस्तै महिलाकै ५७ केजी मुनी नेपालकी लिला अधिकारी र पुरुष ९० केजी मुनी श्रीराम मकाजु फाइनलमा पराजित भए। लिला पनि भारतीय खेलाडी अङ्गोम अनिता चानुसँग इप्पोनमै हारिन्। यसै तौल समूह्यमा स्वर्णको आश गरिएकी मनिता प्रधान श्रेष्ठले कास्यमै चित्त बुझाइन्।

९० केजीमुनी श्रीराम पाकमिस्तानी खेलाडी क्वाइसर खानसँग इप्पोनमै पराजित भए।

यसैगरी महिला ४८ केजीमुनी र ५२ केजीमुनी भारतीय खेलाडीले स्वर्ण जिते भने १०० केजी मुनी पाकिस्तानी खेलाडी पहिलो भए।

४८ केजीमुनी भारतकी सशिलादेवी लिक्मावानले पाकिस्तानी हुमइरा आशिकलाई पराजित गर्दै स्वर्ण जितिन्। नेपालकी सुमित्रा राई र भुटानकी फुव देमले कास्य जितिन्।

यस्तै ५२ केजी तौल समूहमा भारतकै कल्पना देवी टाउदमले पाकिस्तानी मर्‍यामलाई हराएर स्वर्ण जितिन्। यस समूहमा नेपालकी देविका खड्का र अन्जु पाण्डेले कास्य पदक जितिन्।

१०० केजी माथि पाकिस्तानी खेलाडी हुसेन शाह शाहले श्रीलंकाली खेलाडी यासिथ रत्नायकेलाई पराजित गर्दै स्वर्ण जिते। यस तौल समूहमा नेपालका राजिव जोशी र भारतका उदयविर सिंहले कास्य जिते।

पहिलो दिन भारतले प्रतिस्पर्धा गरेको ६ मध्ये ४ तौल समूहको फाइनलमा पुग्दै स्वर्ण जित्न सफल भयो। बाँकी दुईमा भारतीय खेलाडीले कास्य जिते।

यस्तै पाकिस्तानले २ स्वर्णसहित २ रजत जित्यो। नेपालले १ स्वर्ण ३ रजत र ७ कास्य पदक हात पार्‍यो। यस्तै श्रीलंकाले १ रजत र २ कास्य, बंगलादेशले १ रजत र १ कास्य तथा भुटानले १ कास्य जितेको छ।

नेपाल जुडो संघको आयोजनामा ललितपुरस्थित नेपाल आर्मीको शारिरीक तालिम केन्द्रमा भइरहेको ३ दिने च्याम्पियनसिपमा दक्षिण एसियाका ६ देशका कूल १०६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell