PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपाली लेडी गल्फर प्रतिमालाई जब अमेरिकन पूर्व नम्बर वान गल्फर उड्सले 'हाइ' भने

नेपाली लेडी गल्फर प्रतिमालाई जब अमेरिकन पूर्व नम्बर वान गल्फर उड्सले 'हाइ' भने

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : नेपाली महिला गल्फकी नम्बर वान खेलाडी प्रतिमा शेर्पाको बारेमा 'अ माउन्टेन टू क्लाइम्ब' नामक डकुमेन्ट्रीको अमेरिकामा आयोजना भएको ट्रिवेका फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको छ। उक्त डकुमेन्ट्रीको प्रिमियरमा सहभागी हुन पुगेकी प्रतिमा नेपाल फर्किसकेकी छिन्।  उनले अमेरिकामा डकुमेन्ट्रीको प्रिमियर मात्र गरिनन्, आफ्नो फेभरेट गल्फर टाइगर उड्सलाई समेत भेटिन्। टाइगर उड्स प्रतिमाको बच्चैदेखिको 'फेभरेट प्लेयर' हुन्। उड्सलाई भेट्ने प्रतिमाको बच्चैदेखिको सपना उनले यस पटक यथार्थमा बदलिन्।

'बच्चैदेखि मन पराएको खेलाडी भेट्न पाएँ,' प्रतिमाले सुनाइन्, 'सपना पूरा भयो।' विश्वचर्चित टेलिभिजन इएसपीएनले प्रतिमाको गल्फ जोडेर डकुमेन्ट्री बनाएको थियो। त्यही डकुमेन्ट्री 'अ माउन्टेन टू क्लाइम्ब' प्रतिमाको सपना पूरा गर्ने माध्यम बन्यो।

पहिलो पटक अमेरिका पुग्दा ५ गल्फ प्रतियोगितामा सहभागिता जनाउँदै एउटामा च्याम्पियन बनेकी प्रतिमाले दोस्रो पटक जाँदा गल्फका लिजेण्डलाई भेट्ने अवसर पाइन्।

उड्सलाई भेटेपछि प्रतिमाले आफ्नो सपना मात्र पूरा गरिनन् आफूमा कन्फिडेन्ससमेत बढेको बताइन्। थेम्स इन्टरनेशनल कलेजमा स्नातक पहिलो वर्षमा अध्ययन गरिरहेकी प्रतिमाले गल्फ र पढाईलाई समेत सँगै अगाडि बढाउने बताइन्।

प्रिमियरमा सहभागी भएर फर्किएपछि गोविन्दराज नेपालले प्रतिमासँग गरेको कुराकानी

 

यसपटकको अमेरिका भ्रमण कस्तो रह्यो?

एकदमै राम्रो भयो। छोटो समय भएपनि यो पटकको भ्रमण सम्झनलायक बन्यो।

 

अनि आफ्नो फेभरेट गल्फ खेलाडी टाइगर उड्ससँगको भेट कसरी सम्भव भयो?

टाइगर फाउण्डेसनको मानिस पनि फेस्टिभलमा आएका थिए। अनि मेरो बेस्ट प्लेअर पनि टाइगर उड्स हो भन्ने थाहा थियो। त्यसपछि उसैले  सबै बन्दोबस्त मिलाइदिनुभयो।

टाइगरसँगको भेटलाई कसरी सम्झनुहुन्छ?

टाइगर उड्सलाई भेट्ने मेरो बच्चैदेखिको सपना थियो, जुन मैले अमेरिका पुगेर पूरा गरेँ। टाइगरसँग भेट्दा सपनै जस्तै लागेको थियो। तर, जब टाइगरले नै सुरुमै 'हाई प्रतिमा' भने, म त निकै खुशी भएको थिएँ। गत वर्ष टाइगरले मलाई लेटर पठाएका थिए। यो पटक स्वयं टाइगरलाई आफ्नै अगाडि भेटेँ। आफूलाई एकदमै भाग्यमानी ठानेको छु।

यो भेट मेरो लागि मात्र खुशीको कुरा नभएर सबै नेपाली गल्फ परिवारको लागि नै खुशीको कुरा हो। यसबाट टाइगरले नेपाली गल्फको बारेमा पनि जानकारी पाए। जसले भविष्यमा धेरै राम्रो गर्ने र सहयोग पुर्‍याउन सक्छ नेपालको लागि।

मैले टाइगर उड्सलाई नेपाल आउन निम्तो समेत दिएको छु। 

टाइगरसँग भेटेपछि के के भन्नुभयो?

सबै जनाले मलाई टाइगरसँग तिमीले जम्मा ५ मिनेट मात्र भेट्न पाउछौँ। त्यति समयमा उसलाई भेटेर के के मात्रै भन्छौ भनेको थिए भेटअघि। तर टाइगरसँग मेरो भेट मात्र भएन। टाइगरले मलाई बल हान्ने ठाउँसम्म लगेर उसको आफ्नै आइरनले बल हान्न दिँदा म मात्र नभई त्यहाँ भएका सबै जना छक्क परे। टाइगरले मेरो स्वीङ राम्रो छ भन्नुभयो। अलि फोकस गर। तिमीमा खेल्न सक्ने ट्यालेन्ट छ। त्यसैले अझै धेरै प्राक्टिस र मेहनत गर्नुपर्छ भन्नुभयो।

त्यसपछि मैले आफ्नो क्लबको क्याप दिएँ। त्यो दिन पाउँदा मलाई निकै खुशी लाग्यो।

 

टाइगरसँगको भेटपछि प्रतिमामा के त्यस्तो परिवर्तन आयो?

परिवर्तन आउनुभन्दा पनि एउटा गल्फरको रुपमा अझै मेहनत गर्छु भन्ने फिल भएको छ।

 

अबको गल्फ करियरलाई कसरी अगाडि बढाउनुहुन्छ?

अब पढाईसँगै गल्फलाई पनि सँगसँगै अगाडि बढाउँछु। बाहिरतिर टुर्नामेन्टमा खेल्ने सक्दो प्रयास गर्छु। जसले मलाई अझै बलियो बलाउन सहयोग गर्छ।

अबको टार्गेट के हो?

मलाई बाहिरतिर गएर राम्रो प्रदर्शन गरेको देखाउनु छ अबको मेरो पहिलो स्टेप नै त्यही हो।

अनि एलपिजिए टुर र २०२० ओलम्पिक्स नी?

त्यो सबै विस्तारै आउँछन् क्रमैसँग पहिलो बाहिर गएर खेल्ने लक्ष्य पुरा गर्नुछ। मलाई विश्वास छ मेरो सपना पुरा हुन्छ।

यसपटक अमेरिका पुगेपछि प्रतिमामा कन्फिडेन्स पनि बढेको हो?

पक्कै पनि बढेको छ। अझ राम्रो गर्‍यौ मेहनत गरम भन्ने छ। आजैबाट प्राक्टिस सुरु गर्दैछु। अब एकदमै कडा प्राक्टिस गर्छु।

 

नेपालमा गल्फ कमैले मात्र खेल्छन् अझ महिला गल्फर निकै कम छन्। यस्तोमा गल्फ खेलेरै जीवन चलाउन सकिन्छ?

३ वर्ष अगाडि र अहिलेको नेपाली गल्फमा धैरै विकास भइसकेको छ। यसैगरी गएमा केही वर्षपछि गल्फ पनि अन्य खेलजस्तै चर्चति हुने आशा छ। मैले गल्फसँगै पढाईलाई पनि निरन्तरता दिएको छु। पढाई पनि सँगै भएकोले मलाई अफ्ठ्यारो पर्दैन। दुवैलाई सँगै अगाडि बढाएमा जीवन राम्रोसँग चल्छ।

 

यो अवस्थासम्म आउन प्रतिमाको परिवारले धेरै संघर्ष गरेको छ। परिवारको लागि चाँही प्रतिमाको योजना के छ?

परिवार मेरो लागि सबैथोक हो। उहाँहरुको मायाले नै म यहाँसम्म पुगेको छ। उहाँहरुलाई सँधै खुशी राख्नेछु। प्राउड फिल गराउनेछु।

एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा पर्नुभएको छ कस्तो लागेको छ?

धेरै खुशी लागको छ। म पनि त्यसमा पर्न लायक भएछु। एकदमै गर्व लागिरहेको छ।

 

अमेरिका घुमेर टाइगरसँग भेटेर आउनुभयो कलेजका साथीहरुको प्रतिक्रिया के छ?

एकदमै खुशी छन् सबै जना। साथीहरुले पनि हौसला प्रदान गर्नुहुन्छ। उनीहरुको समर्थन छ। मलाई पनि त्यस्ता साथीहरु हुँदा एकदमै खुशी लागेको छ।


सम्बन्धित सामाग्री



ट्रेन्डिङ पोस्ट

Ncell