PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एन्फा अध्यक्ष निर्वाचित भएपछि कर्मा छिरिङ भन्छन्, सोमबारै कार्यसमिति बैठक बसेर लिगको मिति तोक्नेछौँ

एन्फा अध्यक्ष निर्वाचित भएपछि कर्मा छिरिङ भन्छन्, सोमबारै कार्यसमिति बैठक बसेर लिगको मिति तोक्नेछौँ

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : अखिल नेपाल फुटबल संघको इतिहासमा पहिलो पटक भएको पूर्ण निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिवार भएको एन्फाको १६औँ कंग्रेस (साधारण सभा)बाट शेर्पा नेतृत्व तहमा पुगेका हुन्।

यसअघि फुटबल शुद्धिकरणको अभियान चलाएका शेर्पाको प्यानल नै कार्यसमितिमा हावी भयो। ४ उपाध्यक्ष र ११ सदस्यमा शेर्पाको प्यानलको उम्मेदवार विजयी भए। यस्तै महिला सदस्यमा पनि शेर्पा प्यानलकै पेमा शेर्पा यसअघि नै निर्विरोध निर्वाचति भइसकेका छन्।

अध्यक्षका अर्का प्रत्यासी मणि कुँवरले एक दिन अघि मात्र निर्वाचनमा भाग नलिने बताएपछि कर्माको जित लगभग पक्का भएको थियो।

अध्यक्ष्य पदमा निर्वाचित भएपछि शेर्पाले अब नेपाली फुटबल विकासमा अगाडी बढ्ने र लिगको मति चाँडै घोषणा गर्ने बताए।

अध्यक्षको सपथ लिएपछि शेर्पाले सञ्चारकर्मीसामु दिएको प्रतिक्रिया:

हामीले नेपाली फुटबलमा जुन कुरा उठाएका थियौँ त्यसको पक्षमा १६औँ साधारण सभाबाट मतदाताहरुले मतदान गर्नुभएको छ। सबैलाई धन्यवाद। निवर्तमान अध्यक्ष, महासचिव लगायतले सबै कुरामा साथ दिएर निर्वाचन गर्दै निकास दिनुभएको छ। नेपाली फुटबल अब के हुन्छ भन्ने कौतुहलता थियो। निर्वाचन हुन्छ हुँदैन भन्ने थियो। यसलाई चिर्नको लागि एएफसी र फिफाले पनि धेरै सहयोग गरेको छ। यस्तै राखेप, युवा तथा खेलकुद मन्त्रालय लगायतले पनि सहयोग गरेको छ।

हामीले नेपाली फुटबल विकासका लागि धेरै कुरा उठाएका छौँ। हामीले धेरै काम गर्नुपर्छ। साथै हामीले निर्वाचनमा पराजित भएका साथीहरुलाई पनि समावेश गरेर अगाडी बढ्नेछौँ। हामीले प्रजातान्त्रिक रुपमा निर्वाचन लड्यौँ। यो फुटबल खेलको ९० मिनेटको गेम जस्तै हो। यसअघि तेरो मेरो भनेर निर्वाचन लडेपनि अब सबैलाई समेटेर फुटबल विकास गर्नुपर्छ।

हामी खेलाडीको शिर झुक्ने काम गर्नेछैनौँ। फुटबल विकासको लागि प्रतिवद्दता जाहेर गरेका छौँ। त्यसका लागि वाचा गरेर अगाडी बढ्नेछौँ।

अहिले निर्वाचित मेरो टिम सक्षम टिम छ। सबैको सहयोग र साथ छ। खुशी छु। मैले काम गर्नु धेरै छ। अब हामी चाँडै राष्ट्रिय लिगको मिति तोक्नेछौँ। यही सोमवारै हाम्रो कार्यसमितिको बैठक बसेर लिगको मिति घोषणा गर्नेछौँ। अब कार्यसमितिका साथीहरुलाई ३ महिना घरको काम छाडेर यतातिर लाग्न भनेको छ। हामीले आर्थिक नियमावली, कर्मचारी प्रसाशा नियमावली, खेलाडी दर्ता नियमावली बनाउनु छ। जुन अहिले छैन।

यस्तै लिग सञ्चालन गर्नुछ। खेलाडीको हितमा काम गर्नेछौँ। खेलाडीहरु घाइते भएका उपधार नपाइरहेको अवस्था छ। अब हामी खेलाडीको इन्सुरेन्सको व्यवस्था गर्ने काम गर्नेछौँ। प्रशिक्षकहरुलाई प्रशिक्षण गराएर फुटबल खेलेरै बाँच्न सक्ने स्थिति बनाउनेतर्फ लाग्नेछौँ। अहिले धेरै बोल्ने भन्दा पनि काम धेरै गर्नुछ।

भविष्यको फुटबल फुटबलाई राम्रो बनाउनेछौँ। अब पछाडी फर्केर हेर्दैद्दौँ, अगाडी बढ्नुपर्छ। यो टिम तुरुन्त काममा लाग्ने प्रतिवद्दता व्यक्त गर्न चाहन्छु।

फुटबलमा सुशासनको लागि हामी सुरुमा नियम कानुन बनाउनेछौँ। ३ मिहनामा यो काम गर्नुपर्नेछ। यस्तै ४५ वटै जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्नेछौँ।

हामीले जुन बोलेको कुरा छ त्यसलाई व्यवस्थित गर्दै लानेछौँ।

 



ट्रेन्डिङ पोस्ट

Ncell