PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

महिला भलिबल : न्यू डायमण्ड र पश्चिमाञ्चल सेमिफाइनलमा



गोविन्दराज नेपाल

महिला भलिबल : न्यू डायमण्ड र पश्चिमाञ्चल सेमिफाइनलमा

काठमाडौं : शिवम् न्यू डायमण्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल टिम राजधानीमा जारी चौथो केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।

स्पाइकर प्रतिभा मालीले पाँचौ तथा निर्णायक सेटमा ८ अंक जोडेपछि १५-१० ले उक्त सेट जित्दै न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३-२ सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ।

जितसँगै डायमण्डले समूह बी को उपविजेता बनेको हो। डायमण्ड पहिलो खेलमा पुलिसँग हारेको थियो। ३ टिम मात्र सहभागी समूहबाट दुवै खेल जितेको नेपाल पुलिस समूह विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ। अब न्यू डायमण्डले सेमिफाइनलमा समूह ए को विजेता एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा न्यू डायमण्डले २५-१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो। आर्मीले दोस्रो सेट २५-१९ ले नै जित्दै खेलमा १-१ को बराबरी गर्‍यो। तेस्रो सेट न्यू डायमण्डले २५-१८ ले सहजै जित्यो र २-१ को अग्रता बनायो। तर चौथो सेटमा आर्मीले पुन: २५-२२ ले जित्यो।

२-२ को बराबरी रहेको अवस्थामा अन्तिम सेटमा न्यू डायमण्डले सुरुदेखि नै अग्रता बनाउँदै १५-१० ले आफ्नो पक्षमा पार्‍यो। ४-०, १०-३, को अग्रता बनाएको न्यू डायमण्डलाई आर्मीले अन्त्यतिर टक्कर दिएपनि (१३-१० भएपनि) प्रतिभाले अन्तिम २ अंक जोडेपछि न्यू डायमण्ड समूह चरणबाटै बाहिरिन बाट जोगियो।

खेलपछि न्यू डायमण्डका कप्तान ललिथा नाथले सेटर कृपा अधिकारीको अभाव खड्किएको बताइन्। प्रतियोगिता सुरु हुनु केही दिन अघि मात्र न्यू डायमण्डी कृपा आर्मीमा जोइन भएपछि टिमको कमजोरी पहिलो खेलमा समेत प्रष्ट देखिएको थियो। पहिलो खेलमा डायमण्ड पुलिसँग ३-१ सेटमा पराजित भएको थियो।

स्कुलको विद्यार्थी जम्मा गरेर भलिबल टिम बनाएको डायमण्ड टिमका खेलाडी अहिले पनि कक्षा ११ र १२ को परिक्षामा व्यस्त छन्। 'त्यसले गर्दा हामीले नियमित प्रशिक्षण गर्न पनि पाएका छैनौँ। सिधै प्रतियोगिता खेल्नुपरेको छ। अब भोली एपीएफसँग सेमिफाइनल छ। आशा छ राम्रो खेल्नेछौँ।' ललिताले भनिन्।

यस्तै डायमण्डका प्रशिक्षक कुमार राईले भने आजको खेलमा टिमले राम्रो खेलेको र कृपाको अभाव अझै खड्किएको बताइन्। 'उनको स्थानमा अर्को खेलाडी ल्याउन हामीलाई अझै १ वर्ष लाग्छ।' राईले सुनाए।

यस्तै आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले आफ्नो टिमले कोर्ट भित्रको सिचुएसनमा अनुसार खेल्न नसक्दा पराजित भएको बताए। उनले महिला भलिबलमा आर्मीलाई नम्बर वान टिम बनाउने अभियान जारी रहेको बताउँदै फरक शैलीमा भलिबल खेल्ने टिम बनाउने प्रतिक्रिया दिए।

उता समूह ए को अन्तिम लिग खेलमा जावालखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सेटमा पराजित गर्दै पश्चिमाञ्चलले अन्तिम चारमा स्थान बनाएको हो। पश्चिमाञ्चलले समूह बी को विजेता पुलिससँग खेल्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell