PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

नेपालको पहिलो ओडिआई खेल नेदरल्याण्ड्सँग !



गोविन्दराज नेपाल

नेपालको पहिलो ओडिआई खेल नेदरल्याण्ड्सँग !
फाइल फोटो

काठमाडौँ: गत मार्चमा पहिलोपटक वानडे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाएको नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे सिरिज खेल्ने भएको छ।

क्रिकेट वेबसाइट क्रिकबजले बुधबार उक्त समाचार पोस्ट गर्दै आगामी अगष्ट १ र ३ मा नेदरल्याण्ड्समै उक्त खेल हुने उल्लेख गरेको छ।

तर खेल स्थल भने खुलाइएको छ। जुलाई २९ मा लर्डस्मा हुने टी-२० ट्राई सिरिजपछि नेपाल र नेदरल्याण्डबीच खेल हुन लागेको क्रिकबजले जनाएको छ।

लर्डसमा नेपालसँगै नेदरल्याण्ड्स र एमसीसीले खेल्नेछ।

तर नेपालका प्रशिक्षक जगत टमाटाले भने यसबारे आधिकारिक जानकारी आइनसकेको पहिलोपोस्टलाई बताए।

‘हामीलाई अफिसियल्ली केही जानकारी आएको छैन। अब आइसीसीमार्फत आउनुपर्ने हो।' टमाटाले भने। ‘हामीले अप्रोच चाहिँ गरेको हो ओडिआई खेल्न इच्छुक भनेर। लर्ड्सको टुरपछि खेल्छौँ भनेको हो। मे बी आज आउन पनि सक्छ।' टमाटाले भने।

उनले डचसँग सिरिज खेल्न पाए नेपालको लागि राम्रो अवसर हुने प्रतिक्रिया दिए। ‘दुई वटा ओडिआई म्याच खेल्न पायौँ भने त्यो हाम्रो लागि राम्रो कुरा हो। यसले अरु सिरिजहरुको लागि समेत बाटो खोल्नेछ।'

गत मार्चमा जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हासिल गर्दै नेपालले दुई दशक लामो क्रिकेट इतिहासमा पहिलोपटक ओडिआई स्ट्याटस पाएको हो। उक्त स्ट्याटस चार वर्षको लागि हुनेछ।

सोही क्वालिफायरमा नेपाल र नेदरल्याण्ड्स पछिल्लोपटक भिडेका थिए। सातौँ स्थानको लागि भएको प्लेअफमा भने नेपाल डच टोलीसँग ४५ रनले पराजित भएको थियो।

नेपालले सन् २०१६ मा आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको लागि नेदरल्याण्ड्स टुर गरेको थियो। जसमा दुबै टोलीले १-१ खेल जितेका थिए।

नेपाल र नेदरल्याण्ड्सबीच ओडिआई सिरिज भएमा त्यो डच टोलीको लागि ५ वर्षपछि पहिलो ओडिआई खेल हुनेछ। सन् २०१३ मा नेदरल्याण्ड्सले पछिल्लो पटक दक्षिण अफ्रिकासँग आम्स्टलभिनमा एक ओडिआई खेल खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell