PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

मेसी र रोनाल्डो चुम्न चाहन्छन् विश्वकप ट्रफी, त्यही पुस्ताका यी खेलाडी जसले सन्यास लिइसके



गोविन्दराज नेपाल

मेसी र रोनाल्डो चुम्न चाहन्छन् विश्वकप ट्रफी, त्यही पुस्ताका यी खेलाडी जसले सन्यास लिइसके

युरोपको पहिलो दर्जाको क्लब फुटबल टुर्नामेन्ट, विश्वकै चर्चित युरोपियन च्याम्पियन्स लिग भर्खरै सकिएको छ। फाइनलमा रियल मड्रिडले लिभरपुललाई हराउँदै १३औँ पटक उपाधि जित्यो।

अब सबैको ध्यान अर्को महिना रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकपतिर छ।

विश्व खेलकुदको राजा मानिने फुटबलको महाकुम्भ फिफा विश्वकप जुन १४ देखि जुलाई १५ सम्म रसियामा हुँदैछ र रसियाले यस्तो अवसर पाएको यो पहिलोपटक हो।

.............

कूल ३२ टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपका लागि प्रारम्भिक टोली घोषणा भइसकेका छन्। केहीले २३ सदस्यीय टोली नै घोषणा गरिसके। अब जुन ४ मा फिफाले नै आधिकारिक स्क्वाड घोषणा गरेपछि कसले विश्वकप खेल्छ कसले खेल्नेछैन थाहा हुनेछ।

तर अहिले नै विश्वकप जित्ने टोली, स्टार खेलाडी, नयाँ खेलाडी लगायत विभिन्न पाटोको चर्चा र विश्लेषण सुरु भइसकेको छ।

विश्वकपमा सहभागी ३२ देशले आफ्ना स्टार र उत्कृष्ट खेलाडीलाई नै टिममा सहभागी गरेका छन्।

त्यसमध्ये वर्तमान समयका दुई चर्चित खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आ-आफ्नो देशको नेतृत्व गर्दै रसिया पुग्नेछन्।

दुवैको लागि सम्भवत विश्वकप जित्ने यो नै अन्तिम मौका हुनेछ। रोनाल्डो अहिले ३३ वर्ष भए भने मेसी ३१। अर्को विश्वकपमा रोनाल्डो ३७ तथा मेसी ३५ पुग्नेछन्। रोनाल्डोको लागि त्यो उमेर सन्यास लिने उमेर हुनेछ। मेसीको लागि थोरै समय बाँकी रहला तर त्यो अहिलेको जस्तो भने हुनैछैन।

........

सन् २००६, रोनाल्डो र मेसीले विश्वकपमा डेब्यु गरेको वर्ष। त्यसयता यी दुईले फुटबलमा धेरै जिते। अवार्ड हात पारे। विश्वकै उत्कृष्ट खेलाडी चुनिए। क्लब फुटबलमा सम्भव सबै जिते। पछिल्लो एक दशक विश्वमा यी दुई खेलाडीकै राज रह्यो। चर्चा भयो।

दुबैले लगातार तीन पटक विश्वकप खेले। तर उपाधि जित्न सकेनन्। रोनाल्डोले पहिलोपटक खेलेको विश्वकपमा लुइस फिगोले नेतृत्व गरेको पोर्चुगल सेमिफाइनल पुगेको थियो। तर जिनेदिन जिदान, थियरी हेनरी, विलियम लागस, थुराम जस्ता खेलाडी भएको फ्रान्सँग सेमिफाइनलमा पराजित भयो।

त्यसबेला मेसी रहेको अर्जेन्टिना भने क्वाटरफाइनलमा जर्मनीसँग अग्रता लिएर पनि पेनाल्टी सुटआउटमा हार्‍यो।

त्यसको चारवर्षपछि अर्जेन्टिना पुन: जर्मनीसँगै पराजित भयो ४-० को फराकिलो अन्तरमा। यसपटक अजर्नेटिनाको प्रशिक्षक अर्जेन्टिनाका महान खेलाडी म्याराडोना थिए। तर जर्मनीसामु उनको पनि केही चलेन। मेसीलाई त्यो भन्दा अगाडिदेखि म्याराडोनाका उत्तराधिकारीको रूपमा हेरिएको थियो। पोर्चुगल पनि प्रिक्वाटरफाइनलबाटै अगाडी बढ्न सकेन। रोनाल्डोले कप्तानी गरेको पोर्चुगल स्पेनसँग पराजित भयो।

त्यस समय दुबै खेलाडी आफ्नो प्राइममा थिए। तर विश्वकप दिलाउने दुबैको प्रयास सफल हुन सकेन।

२०१४ मा भने दुबै खेलाडी (मेसी पनि) कप्तानको हैतिसयतमा विश्वकपमा सहभागी भए। मेसीले आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याए। तर विश्वकपको ट्रफी दिलाउन सकेनन्। अर्जेन्टिनाले जित्न सकेन। यस पटक पनि बाधक जर्मनी नै रह्यो। फाइनलको नतिजा थियो १-० र त्यो पनि अतिरिक्त समयमा।

रोनाल्डोको पोर्चुगल भने समूह चरणबाटै बाहिरियो। विश्वकप जित्न नसके पनि मेसी उत्कृष्ट खेलाडी बने। तर त्यसले उनलाई खासै खुसी दिन सकेन। चाहेका थिए विश्वकप ट्रफी चुम्न र उचाल्न। जुन हेरेर मात्र चित्त बुझाउनुपर्‍यो। त्यसलगत्तै मेसीले कोपा अमेरिकाको दुई फाइनल खेले। तर उपाधि जित्न सकेनन्। दुवै पटक चिलीसँग पराजित भयो। २०१६ को फाइनलमा चिलीसँग हारेपछि मेसीले सन्यासको घोषणा समेत गरे। तर विभिन्न ठाउँबाट सन्यास फिर्ता लिन दबाब परेपछि मेसी पुन: अन्तर्राष्ट्रिय ड्युटीमा फर्केका हुन्।

त्यसयता मेसीले अर्जेन्टिनालाई रसिया विश्वकपमा छनोट गराउन अन्तिम खेलमा इक्वेडर विरुद्ध ह्याट्रिक गर्दा जित दिलाए। उक्त खेलमा हारेको भए अर्जेनाटिना यो विश्वकपमा हुने समेत थिएन।

.........

२००६ मा मेसी र रोनाल्डोसँगै विश्वकपमा डेब्यु गर्ने पुस्तामा थिए जर्मनीका लुकास पोडोल्सकी र इंग्ल्याण्डका वायन रुनी। स्मरण रहोस् दुबै खेलाडीले अहिले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसके। पोडोल्सकी रहेको जर्मनीले २०१४ मा विश्वकप जित्यो तर रुनी भने त्यसको नजिक समेत पुग्न सकेनन्। १९६६ को विश्व विजेता इंग्ल्याण्ड त्यसयता उपाधि दाबेदार रहँदै आए पनि प्रदर्शनमा भने त्यो देखिएको छैन।

जर्मनीमा भएको २००६ को विश्वकपमा यी चार खेलाडी उत्कृष्ट युवा खेलाडीको अवार्डमा होडमा थिए। हेर्नलायक नयाँ खेलाडी। योङ जेनेरेसन। तर अवार्ड जर्मनीका लुकासले घरबाट बाहिर जान दिएनन्। उनको जर्मनी सेमिफाइनलसम्म पुगेको थियो र इटलीसँग हारेको थियो।

मेसीको अर्जेन्टिनालाई जर्मनीले हरायो भने पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग हार्‍यो। इंगल्याण्डलाई क्वाटरफाइनलमा पोर्चुगलले हरायो। अहिले रुनी र पोडोल्स्की अन्तर्राष्ट्रिय फुटबलबाट टाढिइसकेका छन् भने क्लब फुटबलमा पनि यी दुईको प्रदर्शन ओरालो लाग्न थालिकसको छ।

मेसी र रोनाल्डो भने अहिले पनि आफ्नो क्लबलाई उपाधि जिताउने, गोल गर्ने, अवार्ड जित्ने काममा पोख्त नै छन्।

हुन पनि वर्तमान विश्वका दुई चर्चित खेलाडी हुन् मेसी र रोनाल्डो। तथ्यले समेत त्यही भन्छ।

२००८ यता यी दुईले अन्य खेलाडीलाई पछि पार्दै विश्वकै उत्कृष्ट खेलाडी बनिरहेका छन्। क्लब फुटबलमा एकछत्र राज गरिरहेका छन्। पछिल्लो पटक विश्वकपा उत्कृंष्ट खेलाडी सन् २००७ मा ब्राजिलका काका भएका थिए।

मेसी र रोनाल्डोले समान ५ पटक विश्वको उत्कृष्ट खेलाडीको अवार्ड जितिसके।

युरोपियन च्याम्पियन्स लिगमा दुबैले सय गोल पुरा गरिसके। रोनाल्डोले १२० तथा मेसीले १०१।

यसैगरी रोनाल्डोले दुई फरक क्लबाट गरी ५ पटक तथा मेसीले बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिग जितिसके। रोनाल्डोले सन् २०१६ मा युरोकप जिते। युरोपको ठूलो प्रतियोगिता विश्वकप पछिको मिनी विश्वकप। तर मेसीले भने दुई पटक कोपा अमेरिकाको फाइनल पुगेर पनि उपाधि उचाल्न पाएनन्।

रोनाल्डो युरोकपको सर्वाधिक गोलकर्ता समेत हुन्। मेसीले सन् २००७ मा पनि कोपाको फाइनल खेलेका थिए तर उपाधि जित्न सकेनन्। निकै नजिक पुगेर पनि मेसीको अर्जेन्टिना चुक्दै आएको छ।

पोर्चुगलले भने दोस्रो प्रयासमा युरो उपाधि जित्यो। रोनाल्डोले ठूलो प्रतियोगितामा डेब्यु गरेको २००४ को युरो फाइनलमा पोर्चुगल घरमै ग्रीससँग अप्रत्यासित रूपमा हारेको थियो। तर १२ वर्षपछि रोनाल्डोले युरो जिते, आफ्नै कप्तानीमा।

२००५ मा मेसीले यु-१९ विश्वकप जितेका थिए। त्यसको ३ वर्षपछि २००८ मा मेसीले ओलम्पिकमा स्वर्ण जिते। यस बाहेक मेसीले राष्ट्रिय टिमका लागि केही जित्न सकेका छैनन्। जसले गर्दा उनको आलोचना समेत भइरहने गर्छ।

 

२००६ का पुस्ता

रसिया विश्वकपमा खेल्नेमध्ये सबैभन्दा अनुभवी खेलाडी मेक्सिकोका राफेल मार्क्वेज हुनेछन्। उनले २००२ मा पहिलो विश्वकप खेलेका थिए। त्यसबाहेक २००६ को विश्वकप खेलेका केही खेलाडी अहिले पनि विश्वकप टोलीमा छन्।

मेसी र रोनाल्डो बाहेक स्पेनका आन्द्रेज इनेष्टा र पेपे रैना, अर्जेन्टिनाकै ज्याभिएर मास्केरानो, अस्ट्रेलियाका टिम काहिल सन् २००६ देखि अहिलेसम्मको विश्वकप टिममा छन्। यसबाहेक केही अन्य खेलाडी पनि छन्। इनेष्टाले सन् २०१० को फाइनलमा नेदरल्याण्ड्सविरुद्ध निर्णायक गोल गर्दै स्पेनलाई उपाधि समेत जिताएका थिए।

यी खेलाडीहरूको लागि पनि यो विश्वकप सम्भवन अन्तिम हुन सक्छ। त्यसैले पनि सबै खेलाडी रसियामा आफ्नो छाप छोड्ने प्रयासमा छन्।
 

मेसीभन्दा रोनाल्डोको डेब्यु २ वर्षअघि

रोनाल्डो र मेसी समकालीन खेलाडी भए पनि रोनाल्डोले दुई वर्षअघि इन्टरनेशनल म्याचमा पोर्चुगलका लागि डेब्यु गरेका हुन्। दुबै खेलाडीको अन्तर्राष्ट्रिय डेब्यु भने १८ वर्षको उमेरमै थियो।

सन् २००३ मा रोनाल्डोले १८ वर्षको उमेरमा कजाकस्थानविरुद्ध डेब्यु गरेका थिए। त्यसयता डेढ दशक पोर्चुगलका लागि खेलिसकेका रोनाल्डोले १४९ खेलमा ८१ गोल गरिसकेका छन्। अर्को वर्ष नै रोनाल्डो घरेलु मैदान युरो खेल्न पोर्चुगलको टिममा परे। उनले समूह चरणमा ग्रीससँग २-१ ले पराजित भएको खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। पहिलो प्रतियोगितामै फाइनल पुगे पनि पोर्चुगल ग्रीससँगै पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो।

उता सन् २००५ मा हंगेरीविरुद्ध डेब्यु गरेका मेसीले अर्जेन्टिनाका लागि १३ वर्ष खेलिसके। मेसीको पहिलो खेल सम्झनलायक रहेन। उनले रातो कार्ड पाए। उनले सन् २००६ मा मार्चमा क्रोयसियाविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए। त्यसलगत्तै मेसी विश्वकप खेल्ने अर्जेन्टिनाको टोलीमा परेका थिए। मेसीले अहिलेसम्म १२३ खेल खेल्दै ६१ गोल गरिसकेका छन्।

मेसीभन्दा २६ खेल बढी खेलेका रोनाल्डोले २० गोल बढी गरेका छन्।
 

विश्वकप अन्तिम मौका

रसियामा हुने २१औँ संस्करणको विश्वकपमा मेसी र रोनाल्डोको लागि आफूलाई सिद्ध गर्ने अवसर पनि छ। आफ्नो नेतृत्वमा विश्वकप जिताउन सके यी दुई खेलाडी पेले र म्याराडोनाको हाराहारीमा पुग्न सक्छन्। हुनत विश्वकप बाहेक सबै जितेका यी दुई खेलाडी फुटबलका राजकुमार जस्तै हुन् जसरी पेलेलाई फुटबलको किङ भनिन्छ।

पेलेले ३ पटक विश्वकप जितेका थिए भने म्याराडोनाले १९८६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए। त्यो नै अर्जेन्टिनाले जितेको पछिल्लो विश्वकप उपाधि हो। त्यसयता अर्जेन्टिनाको उपाधि खोजीमा ३२ वर्ग गुज्रिसकेको छ।

उता रोनाल्डोको पोर्चुगलले अहिलेसम्म उपाधि जित्न सकेको छैन। सन् २००६ मा सेमिफाइनल पुग्नु नै उसको लागि ठूलो उपलब्धि हो।

गत संस्करणमा समूह चरणबाटै बाहिरिएको पोर्गुललाई यस पटक अगाडी बढाउन रोनाल्डोको भूमिका महत्त्वपूर्ण हुन्छ।

यस पटक अर्जेन्टिना सिधै उपाधि दाबेदारको लिस्ट छ भने पोर्चुगल, बेल्जियम जस्ता देश अन्डर डगको रूपमा रहनेछन्।

मेसीको अर्जेन्टिना समूह डी मा क्रोएसिया, आइसल्याण्ड र नाइजेरियासँगै छ। पोर्चुगल छिमेकी स्पेन तथा इरान र मोरोक्को रहेको समूह बी मा छ।

समूह चरण पार गर्न गाह्रो नदेखिए पनि नकआउट चरणमा अर्जेन्टिनाको भेट ठूला टिमसँग समेत हुन सक्छ। पोर्चुगलको लागि पनि त्यसै हुनेछ।

यस्तो अवस्थानमा दुबैले आ-आफ्नो टिमलाई अगाडि बढाउन नेतृत्वका साथै मैदानमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।

३२ टिमले विश्वकप खेल्ने भए पनि जित्ने एउटै हुनेछ र केही गरी यी दुई नै फाइनल पुगे पनि विजेता एक मात्र हुनेछ।

फाइनल पुग्न नसके वा उपाधि जित्न नसके दुबै खेलाडीका लागि विश्वकप अर्को एउटा सपना मात्र हुनेछ र विश्वकप जित्न नसकेको ट्याग सधैँ लागिरहनेछ।

त्यो भन्नुभन्दा अगाडी रसियामा हुने एक महिने फुटबल मेला पर्खनु पर्नेछ। जुनमा यी दुई स्टारसँगै कूल ७३६ खेलाडीले सहभागी हुनेछन्। र सबै खेल सकिएपछि मात्र विजेता घोषणा हुनेछ अनि त्यहाँ मेसी र रोनाल्डोको नाम हुने छ/छैन सबैको कौतुहलता त्यसैमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell